चितवन । चितवनमा रहेर आफूलाई कला क्षेत्रमा संलग्न गराउँदै आएका मोडल देव महतो खासगरी थारू गीतका भिडियोमा एकक्षत्र राज गर्दै आएका छन् । दुई दर्जनभन्दा बढी गीतमा अभिनय गरेर दर्शकको मन जित्न सफल हुँदै आएका देव बुधवार भने गायक भुवनप्यासी र मेलिना राईको एउटा गीतमा मिस पविसँग रोमान्टिक दृश्य दिन व्यस्त देखिन्थे ।
भरतपुरस्थित दियालो फुड ल्याण्डमा ‘इन्गेज्मेन्ट’ गीतको सुटिङ भएको छ । जुन भिडियोका लागि महतो र पविले रोमान्टिक दृश्य दिएका हुन् । उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका छन् भने रविन्द्र बरालले खिचेका हुन् ।
गायक मिलन लामाको थारू भाषाको गीत ‘हमार थारू गाउँमा हावा चलल’बाट यो क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरेका देवले यही गीतबाट अवार्डसमेत पाएका थिए । कोरियोग्राफीसमेत गर्दै आएका देव आफू अभिनयमै रम्ने बताउँछन् ।
मखमली, तोर मायाक सागर, दिल कहे हरबार, यहसास मायाको, मोर जान लेगयील जस्ता गीतको भिडियोमा अभिनय गरिसकेका उनी भन्छन्, ‘मेरो रुची अभिनय नै हो ।’ चितवनस्थित नाटेश्वर नृत्य संघमा बुद्धिराम चौधरीबाट नृत्यको प्रशिक्षण लिएका देवले ‘नेशनल थारू मोडल’को अवार्डसमेत पाइसकेका छन् ।