Logo
Logo
जम्काभेट

‘सानैदेखि मेरो जिस्किने स्वभाव हो’


1.3k
Shares

नेपाली कला क्षेत्रमा ‘स्टेन्डअप कमेडी’को क्रेज बढ्दो छ । हाँस्यव्यंग्यसँग सम्बन्धित विभिन्न ‘रियालिटी शो’ले त्यो क्रेजलाई थप बल पुर्याएको छ । ‘स्टेन्डअप कमेडियन’कै कुरा गर्दा चितवनकी सीता न्यौपानेको नाम लिनैपर्छ । जो, ‘स्टेण्डअप कमेडी’का रुपमा चर्चित छिन् । ‘नेप-ग्याजम’ नामक युट्युब च्यानलमा ‘नाटकै हो’ कमेडी शोबाट चर्चामा आएकी न्यौपाने ‘राष्ट्रिय दिदी’का उपनामले पनि चिनिन्छिन् ।

यसपालीको गाईजात्रामा उनी निकै चर्चामा आइन् । यो वर्षको गाईजात्रा सकिएको छ । ‘वर एन्ड वधु’लगायत केही फिल्मसमेत अभिनय गरिसकेकी ‘स्टेण्डअप कमेडियन’ सीता न्यौपानेसँग ‘गाईजात्रा महोत्सव’ चलिरहेको बेला रेजिना पाण्डेले जम्काभेट :

‘गाईजात्रा महोत्सव’मा दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
एकदमै राम्रो प्रतिक्रिया पाएँ । हाम्रो उद्देश्य भनेकै दर्शकलाई स्वच्छ मनोरञ्जन दिनु हो । यस वर्षको महोत्सव टिमकै कन्सेप्टमा थियो ।

गत वर्षको गाईजात्रा कार्यक्रमभन्दा यसपटक फरक के थियो ?
धेरै फरक थियो । कार्यक्रमको रूप र दर्शक त फरक भए नै । प्रस्तुति शैली फरक थियो ।

‘गाईजात्रा’ आएपछि हास्य कलाकारलाई दशैँ लाग्छ भन्छन् नि ?
हो, अरुलाई मात्र कति दशैँ लागोस् । दशैं त हामीलाई पनि आउनुपर्याे नि । पापी पेटको सवाल छ, बाँच्न परिहाल्यो । कोही रुवाएर कमाउँछन् । हामी हँसाएरै कमाउँछौँ ।

एउटा शोका लागि पारिश्रमिक कति लिनुहुन्छ ?
ठ्याक्कै यति भन्ने छैन । कम्तिमा पाँच हजार लिएको छु । अहिले पैँतिस हजारसम्म लिन्छु । योभन्दा बढी पनि हुन सक्छ । कस्तो प्रकारको कार्यक्रम हो, त्यसमा भरपर्छ । पैसा लिनादिना अर्गनाइजरमा भर पर्छ ।

एउटा शोका लागि कन्टेन तयार गर्न कति समय लाग्छ ?
कम्तीमा तीन दिन लाग्छ । सोच्नुप-यो, लेख्नुप¥यो । समय सान्दर्भिक र समाजलाई नियाल्नुपर्याे । दर्शकलाई हँसाउन त्यति सजिलो छैन । सबै कुरामा तयारी हुनुपर्छ ।

आर्थिक रुपमा हास्य कलाकारको अवस्था कस्तो छ ?
अवसर र भाग्यको कुरा पनि हो । यो क्षेत्रमा काम गर्ने कतिपयले कोठा भाडासमेत तिर्न सकेका छैनन् । तर, यही क्षेत्रमा काम गर्ने धेरै हाँस्यलाकार छन्, जसले नाम, दाम र मान कमाई राख्नु भएको छ । त्यसैले राम्रो छैन कसरी भनौँ ।

यो क्षेत्रमा महिलाको अवस्था कस्तो छ ?
मैले देखेँ अनुसार राम्रो छ । हास्य क्षेत्रमा महिलाहरू कमै छन् । तर, जति छन् उहाँहरूले राम्रो गरिरहनुभएको छ । यसैले होला, यो क्षेत्रमा नयाँ नयाँ महिलाहरूको आगमन भइरहेको छ ।

कमेडियनको तारोमा बढी किन नेताहरू पर्छन् ?
हामीभन्दा बढी गाईजात्रा नेताहरूले गर्नुभएको छ र गरिराख्नुभएको छ । नेताले दिनदिनै जात्रा देखाएर जनता हँसाइराखेका छन् । जात्राको बिचमा गाईजात्रा गर्दा रमाइलो हुन्छ । नेताहरू लक्षित कन्सेप्ट बनाउन पनि सजिलो छ । उहाँहरू जहिले गाईजात्रा गर्नुहुन्छ । हामी वर्ष दिनमा गछौँ ।

तपाईँलाई कमेडियन बन्न किन मन लाग्यो ?
केही कारण छैन । म बच्चामा केटा स्वभावकी थिएँ । धेरै बोल्न मन लाग्थ्यो । मेरो जिस्किरहने स्वभाव थियो । घरपरिवारमा रमाइलो गरिराख्थेँ । त्यही स्वभावले मलाई कमेडियन बनायो । घरपरिवारको साथ र सपोट पनि पाइरहेकी छु ।

फिल्मतिर कतिको रुचि छ ?
फिल्मी अभिनयमा पनि मेरो रुचि छ । यसअघि फिल्म ‘बर एन्ड बधु’मा काम गर्ने मौका पाएँ । यो फिल्म यही भदौमा रिलिज हुँदैछ । उक्त फिल्ममा मेरो राम्रो भूमिका रहेको छ । काम गर्दै जाँदा अवसर आएरै यो फिल्ममा काम गरेकी हुँ । कमेडी नै तपाईँको रोल छ भनेर कतिले सोध्नुहुन्छ । तर, त्यो थाहा पाउन त फिल्म नै हेर्नु प-यो नि ।

विज्ञान माइक्रोवायोलोजीको विद्यार्थी हुनुहुन्छ, त्यतातिर के सोच्नुभएको छ ?
हेरौँ, भाग्यले जता लान्छ, उतै जाने हो । अहिले कमेडीतिर मेहनत गरिरहेको छु । राम्रै भइरहेको छ । यो समयले निर्णय गर्छ । अहिलेचाहिँ यही गाईजात्रामै रमाइरहेकी छु ।

घरजमबारे के सोच्नुभएको छ ?
मेरो विवाह गरिदिन बाबाआमा र दाइहरू जोडतोडले लागिरहनुभएको छ । मलाई हेर्न धेरै जना घरसम्म आइपुगेका छन् रे । तर, मकहाँ कोही आएका छैनन् । आइपुगेको दिन सबैलाई शेयर गरौँला ।

प्रतिक्रिया दिनुहोस्