Logo
Logo

अदालतको आदेशलाई महानगरको निर्णय भन्दै भ्रम नफैलाउन मेयर बालेनको आग्रह


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जनतामाझ भ्रम नफैलाउन विभिन्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या गरिएको उल्लेख गर्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत जनतामाझ भ्रम नफैलाउन विभिन्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदी वरिपरि ४० मिटर निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको स्पष्ट पारेका छन् ।

टुकुचाखोलाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्रबारे पनि जानकारी गराइएको उनले बताएका छन् । ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि नलागेर आफ्नो कान छाम्नुपर्ने’मा उनले जोड दिएका छन् ।

‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई सूचित गर्दै वाग्मती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन,’ उनले भनेका छन् ।

अदालतको आदेशानुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकिएको पनि उनले स्पष्ट पारेका छन् । ‘नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्नेछ । तर, अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता–कार्यकर्ताहरूले जनतामाझ भ्रम नछर्नु होला,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्