Logo
Logo
फेसन

‘नेपाली पहिरनको बेग्लै महत्व छ’


567
Shares

नेपाली मौलिक पहिरन विदेशमा समेत माग बढ्दो छ । नेपाली पहिरन विदेश पठाउँदा ‘नेपाली कल्चर’ मिसाउन सके दोहोरो फाइदा लिन सकिने फेसन डिजाईनर सञ्जिता बराल बताउँछिन् । अमेरिका, क्यानडा, जापान, फिनल्याण्ड, अष्ट्रेलिया लगायतका मुलुकमा आफ्नो ‘पटुकी पोषाक’मा डिजाईन र उत्पादन भएका पहिरन सप्लाई गर्दै आएकी उनी भन्छिन्, ‘नेपाली पहिरनमा देश र माटोको सुगन्ध मिसिएको हुन्छ । जसबाट देश चिनाउन सकिन्छ ।’

सञ्जिता आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनबाट फेसन डिजाइनिङमा ग्राजुएट हुन् । सञ्जिताले ‘नेक्स्ट सुपर मोडल’, ‘मेगा मोडल सिजन-४’, ‘मिस वल्र्ड’, ‘मिस अर्थ’, ‘मिस इन्टरनेशनल’, ‘मिस नेपाल’जस्ता बिग इभेन्टहरुका लागि पहिरन डिजाइन गरिसकेकी छन् । हालै सम्पन्न ‘मिस नेपाल–२०२४’का लागि डे«स डिजाइन गर्ने डिजाइनरमध्ये एक हुन् उनी । उनले तयार पारेका फेसन डिजाइनहरू चलनचल्तीका भन्दा भिन्न हुने भएकाले फेसन इभेन्ट आयोजकहरूको रोजाइमा पर्ने गरेकी छन् । ‘पटुकी पोषाक बुटिक’की सञ्चालक एवं फेसन डिजाइनर सन्जिता बरालसँग जम्काभेट :

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
ठिकठिकै भन्नुप¥यो । नेपाली महिलाहरूको पर्व तीज नजिकिँदै छ । तीजका लागि अर्डरहरू आइरहेका छन् । त्यसका अलावा नियमित ग्राहकका अर्डरहरूमै व्यस्त छु ।

तीजका लागि कस्तो पहिरनको माग बढी हुन्छ ?
तीज भन्नेबित्तिकै रातोे, पहेँलो नै धेरै रुचाइन्छ । हामी नेपालीका लागि तीज भन्नु नै रातो र हरियो रंग हो । तीज गीतहरूका नृत्यमा धेरै चल्ने भनेको सारी नै हो । चोलीहरूमा भने डिजाइन फरक गर्छौँ । फेसन व्यक्तिपिच्छे फरक–फरक हुन्छ । मागअनुसार डिजाईन तयार पारिदिने गरेका छौँ ।

अहिलेका युवापुस्ताको फेसनप्रतिको चासो कस्तो पाउनुहुन्छ ?
अहिलेका युवापुस्ता फेसनमा चेन्ज गरिरहन रुचाउँछन् । पहिले वेस्टर्न फेसनमा सबैको रुची बढी देखिन्थ्यो । तर, अहिले सबै प्रकारको खोज्ने गरेको पाइन्छ । अहिले बजारमा सबै प्रकारका फेसन चलेकै हुन्छ । त्यो आकर्षक भने हुनुप-यो ।

कसरी यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
आफ्नो लागि आफैंले केही गर्नुपर्छ भन्ने चाहना सानैदेखि थियो । मेरो रुचीको विषय पनि हो फेसन डिजाईन । विस्तारै नेपालमा आयोजना हुने विभिन्न इभेन्ट, फेसन शो र सौन्दर्य प्रतियोगिताहरुमा डिजाईनरको जिम्मेवारी पाएसँगै फेसन शो र इभेन्टमा व्यस्त हुन थालियो । बिभिन्न सञ्चार माध्यमले पनि मेरो विषयमा चर्चा गर्न थाले । त्यससँगै यसै क्षेत्रमा केही गर्छु भन्ने आत्मविश्वास बढेपछि यो पेशाको रुपमा अँगालेको हुँ ।

तपाईँको बुटिकमा कस्तो खालको व्यक्तिहरू आउनुहुन्छ ?
हामी कहाँ फेसनको मामिलामा सर्वसाधारणभन्दा सेलिब्रेटी अलि बढी सचेत छन् । त्यसमा पनि फेसनको मामलामा पुरुषको तुलनमा महिला अगाडि छन् । सेलिब्रेटीले लगाउने पहिरन सर्वसाधारणका लागि आकर्षण बन्ने भएकाले फलाना नायक, नायिका वा मोेडलको जस्तो डिजाइन बनाइदिनु भन्नेहरू पनि आउनुहुन्छ ।

फेसनका ठूला शोहरूमा काम गरिसक्नुभएको छ । सेलिब्रेटीहरुलाई पहिरनबारे के सल्लाह दिनहुन्छ ?
सेलिब्रेटीलाई आफ्नो शरीर, काम र मौसमअनुसार डिजाईनरसँग सल्लाह गरेर पहिरन बनाउनु हुन सल्लाह दिन्छु । त्यसले सेलिब्रेटीको व्यक्तित्वमा चमक थपिन्छ । डिजाइनिङ पहिरन केही महँगा होलान् तर राम्रो फिनिसिङ र युनिक हुन्छ । साथै, सुहाउँदो र समयसापेक्ष हुन्छ ।

फेसनको बहनामा भग्गर भित्रियो भन्छन् नि ?
समयसापेक्ष चल्नुपर्छ । नेपालमा विभिन्न फेसनहरू भित्रिएका छन् । यसलाई भल्गर वा अश्लीलता भन्न मिल्दैन । हाम्रो समाजले स्विकार्न सक्ने गरि आफूलाई इच्छा लागेको कपडा लगाउन पाउनुपर्छ ।

फेसन रहर कि आवश्यकता ?
फेसन रहरमात्र नभएर अहिले आवश्यकता नै भइसकेको छ । फेसनप्रति रहर गर्ने एक समय थियो । तर, अहिले समाज फेसन कन्सस भएको छ । त्यसैले आवश्यकता जस्तै भइसक्यो । साथै, फेसन उद्योग पनि हो । यसै पेशाबाट कैयांैको रोजिरोटी चलिरहेको छ ।

युवापुस्ता विदेशी फेसनमा बढी चासो दिन्छन् जस्तो लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । पहिले पहिले विदेशी फेसनप्रति चासो र मोह राख्नेहरू पनि अहिले नेपाली फेसनमा रमाउन थालेका छन् । किनकि, पछिल्लो समय नेपाली कल्चरल फेसन पनि विश्वव्यापी हुने क्रममा छ । जसले नेपाली युवापुस्ता मात्र नभएर विदेशीहरूसमेत नेपाली पहिरन वा फेसनप्रति चासो दिन थालेका छन् ।

आयातित फेसनले नेपाली मौलिक पहिरन लोप हुँदैछ भन्छन् नि ?
हाम्रो नेपाली मौलिक फेसन कहिल्यै लोप हुँदैन । नेपालको मौलिक फेसन हराइसकेको छैन । किनभने, अझैपनि विभिन्न चाडपर्व र समारोहहरुमा जाति विशेष मौलिक फेसन नै लगाइन्छ । नेपाली मौलिक पहिरनको बेग्लै महत्व छ । गुन्यू–चोली, दौरा–सुरुवाल, शीरमा ढाकाटोपी भनेको हाम्रो पहिचान पनि हो ।

यो पेशामा नयाँ पुस्ताका लागि कत्तिको सम्भावना छ ?
आफूमा धैर्यता, लगनशिलता र कामप्रतिको इमान्दारिता रह्यो भने फेसन क्षेत्रमा सफलता हात पार्न गाह्रो छैन । केही गर्छु भनेर आयो भने पक्कै पनि सम्भावनाहरू धेरै छन् ।

तपाईँको आगामी योजना के छ ?
त्यति ठूलो महत्वकांक्षा योजना केही छैन । नेपाली फेसन उद्योगका सबै सरोकारवालालाई सशक्तीकरण गर्ने, विकास गर्ने र बेरोजगार दिदी–बहिनीहरूलाई फेसन डिजाइनसम्बन्धी प्रशिक्षण दिएर आत्मनिर्भर बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्