काठमाडौं । संवैधानिक निकायको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइका लागि पेशी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा असंवैधानिक रूपले गरिएको नियुक्ति बदर हुनुपर्ने माग गरिएको रिट सुनुवाइका लागि संवैधानिक इजलासमा पेशी तोकिएको हो ।
बुधबार प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित पाँच न्यायाधीशको इजलासमा पेशी तोकिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारसहितका संवैधानिक निकायमा दुई पटक गरि ५२ जनाको नियुक्ति गरेका थिए । चार वर्ष अघि ओलीले गरेका नियुक्तिविरुद्ध अहिले अन्तिम सुनुवाइ हुन लागेको हो ।
२०७७ साल मंसिर ३० गते तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदै सोही दिन संवैधानिक परिषद्को बैठकसमेत राखेका थिए । उक्त दिन बसेको बैठकले कुनै पनि निर्णय नगरेको भनिए पनि पुस ५ गते प्रतिनिधि सभा विघटनपछि विभिन्न संवैधानिक निकायमा नियुक्ति भएको खुलासा भएको थियो ।
यो विवाद सर्वोच्च अदालत पुग्यो । तर, लामो समयसम्म विविध कारणले मुद्दाको सुनुवाइ सर्दै आएको थियो । संयोगले यो विवाद घुम्दै फेरि ओली नै प्रधानमन्त्री भएको समयमा सुनुवाइ पेसी तोकिएको छ ।