काठमाडौं । पूजा शर्मा निर्मित तथा सुदर्शन थापा निर्देशित महत्वाकांक्षी चलचित्र ‘रावायण’ फ्लपको बाटोमा देखिएको छ । करोडौं लगानीको चलचित्रमा तेस्रो दिनबाटै दर्शक आउन छाडेका छन् ।
गत शुक्रबार रिलिज हुनुअघि चलचित्रले राम्रै हाइप बनाएको थियो । निर्मात्री पूजा शर्माले मेकिङदेखि पब्लिसिटीसम्ममा खुलेर मिहिनेत गरेकी थिइन् । खर्चमा कुनै कञ्जुस्याईं गरिएको थिएन ।
शुक्रबार र शनिबार नै चलचित्रले अपेक्षित दर्शक पाएन । केही हलहरुमा देखिएको दर्शकको सामान्य फ्लोलाई देखाएर दुई दिन हल्लाखल्ला गरिएको थियो । पूजा र पल शाहले हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार मात्र गरेनन्, हलबाहिर गाडीको हुटबाट टाउको निकालेर नक्कली स्टारडमको प्रहसन समेत गरे । तर, तेस्रो दिनबाट भने उनीहरु हल जान छोडेका छन् ।
आज दर्शकको उपस्थिति झन् निराशाजनक छ । ‘रावायण’ को विजनेस अभिनेता पल शाहका लागि पनि उत्तिकै महत्वपूर्ण थियो । यो उनी जेलबाट निस्केपछि एकल हिराेकाे रूपमा पहिलो फिल्म हो । तर, पल शाहका हार्डकोर फ्यानहरु समेत चलचित्रबाट निराश बनेका छन् ।