Logo
Logo
जम्काभेट

‘नाम कमाएपछि दाम आफैं पछि लाग्छ’


945
Shares

काठमाडौं । लोक दोहोरी क्षेत्रकी लोकप्रिय नाम हो, सञ्जु न्यौपाने । एक दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहेर दर्जनौं गीत गाइसकेकी सञ्जु भन्छिन्, ‘गीतसंगीतले सानैदेखि मलाई मोहित बनाएको थियो ।’ २०७२ मा ‘उमेर पुगेछ’ पन्चेबाजा गीत ल्याएपछि गायनमा होमिएकी सञ्जुका ‘लाहुर’, ‘चाँदी कहाँ होला’, ‘लामो कपाल’जस्ता गीतहरु लोकप्रिय छन् ।

गायनसँगै उनी मोडलिङ पनि गर्छिन् । उनले केही म्युजिक भिडियोहरुमा मोडलिङ गरेकी छन् । मोडल र गायिकाको परिचय बनाएकी सञ्जु ११औँ म्यूजिक खबर म्यूजिक अवार्ड, सातौं निम अवार्ड, तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड जस्ता कार्यक्रमबाट ‘उत्कृष्ट गायिका’को अवार्ड प्राप्त गरिसकेकी छन् । यिनै गायिका गायिका सन्जु न्यौपानेसँग जम्काभेट :

आजभोलि के गर्दै हुनुहुन्छ ?
गीतसंगीतकै क्षेत्रमा निरन्तर कार्य गरिरहेको छु । केही गीतहरु रेकर्ड भएर बसेका छन् । त्यसको म्यूजिक भिडियो निर्माणको तयारीमा गर्दैछु । साथै, हालै तीज पर्वलाई लक्षित गरेर एउटा गीत ल्याएकी थिएँ ।

गायनसँगै मोडलिङ पनि गर्नुहुन्छ । परिचय दिनुपर्दा के भन्नुहुन्छ ?
म पहिलो त गायिका भन्नुमा नै गर्व गर्छु । गायिका भएरै सबैसामु चिनिएकी हुँ । तर, आफ्ना गीतहरुमा आफैं मोडलिङ गरेर देखिँदा अझै उत्कृष्ट हुन्छ भन्ने सोचले मोडलिङ गरेकी थिएँ । त्यसलाई पनि दर्शकले मन पराइदिनुभयो । गायिकाकै परिचयले सांगीतिक क्षेत्रमा कर्म गरिरहेकी छु ।

मोडलिङ गर्दैगर्दा चलचित्रतर्फ अभिनय गर्ने सोच्नुभएन ?
म गाउनकै लागि जन्मिएकी हुँ जस्तो । सानो पर्दा होस् या ठूलो पर्दा होस्, अभिनय एउटै हो । चलचित्रमा अभिनय गर्नु र म्यूजिक भिडियोमा अभिनय गर्नु खाशै फरक होइन जस्तो लाग्छ । तैपनि मैले अभिनयको पाटो भन्दा गायनलाई नै प्राथमिकता दिएकी छु ।

कस्ता गीतसंगीतमा रुचि राख्नुहुन्छ ?

म प्रायः सेन्टिमेन्टल गीतहरु बढी रुचाउँछु । लोकदोहोरी गीतहरुमा वियोगान्त शैलीले मलाई छुने गर्छन् । मेरा धेरै गीतहरु वियोगान्त शैलीकै छन् । नाच्ने गीतहरुले भन्दा सेन्टिमेन्टल गीतहरुले कथावस्तुलाई प्रस्तुत गर्न सक्छ, यसभित्र धेरै मिठास पनि हुने गर्छ ।

देश विदेशका मेला महोत्सवबाट कतिको अफर आउँछ ?
आउँछ नि । आयोजकले बोलाएका मेला महोत्सवहरुमा प्रस्तुतिहरु दिने गरेको छु । कहिले विदेशको कार्यक्रम त, कहिले नेपालभित्रैका कार्यक्रममा अफर आउँछ । समयअनुसार आफ्ना गीतहरु स्रोता दर्शकहरुलाई मन परेमा प्रस्तुति दिने गरेकी छु । पछिल्लो समय भने सिर्जनातर्फ केन्द्रित भएकोले मेला महोत्सवलाई कम प्राथमिकतामा राखेको छु ।

गीतसंगीतबाट नाम र दामसँगै स्टारडम बनाउनुभएको छ, कस्तो लाग्छ ?
म नामको पछि मात्र लाग्ने गर्छु । आफ्नो क्षमताअनुसार सिर्जना बजारमा ल्याइराखेँ, निरन्तरता दिइराखेँ भने नामलाई उच्च बनाउन सकिन्छ । नाम कमाएपछि दाम आफैं पछि लाग्छ । स्टारडम भन्ने कुरा एउटा क्षणिक रहरमात्र हो ।

गीतसंगीतबाट खुसी हुनुहुन्छ ?
खुसी नै छु । अहिलेसम्म दर्शक तथा श्रोताको माया र हौसला पाइरहेको छु । कलाकारका लागि माया र हौसला सबैभन्दा ठूलो कुरा हो । त्यसैले खुसी नै छु ।

संगीत क्षेत्रबाट जीवन चल्ने अवस्था आएको हो ?
मज्जाले । अहिले त गर्न सकियो भने गीतसंगीतबाट कमाउने विभिन्न माध्यमहरु छन् । जसले गर्दा राम्रो गीतसंगीत पस्कन सक्यो भने कमाउन पनि सकिन्छ ।

राम्री हुनुहुन्छ, प्रेम प्रस्तावहरु कत्तिको आउँछ ?
है, हजुरको हेर्ने नजर राम्रो होला । अलि अलि प्रस्ताव नआउने को होला र ? त्यसलाई उहाँहरुको प्रेम हो भनेर धन्यवाद भनिदिन्छु । म मेरो कर्ममा लाग्ने हो, उहाँहरुले मन पराउनु उहाँहरुको हेराइ हो ।

तपाईंलाई कोसँग डेटिङ जान मन छ ?
आफ्नो कर्ममा पहिला ध्यान दिनुपर्छ । राम्रा सिर्जना बजारमा ल्याइराख्नु पर्छ । मलाई डेटिङ भन्ने कुरामा त्यति ध्यान दिनुपर्छ भन्ने लाग्दैन । सबै राम्रा हुनुहुन्छ ।

जीन्दगीमा के पाउनुभयो, के गुमाउनु भयो ?
जीन्दगीमा मैले राम्रा सिर्जनाको माध्यमले गायिका बन्ने अवसर पाएँ र सबैले चिन्नुभयो । गायनको माध्यमले पाएका सबै उपलब्धिहरु मेरा लागि अमर बनाउने यात्रा हो भन्ने लाग्छ । मेरो भौतिक शरीर धर्तीमा नरहेपनि मेरा सिर्जनाहरु भने सदैव रहनेछन् । त्यही भएर जीवनको कालखण्डमा केही रहरहरु गुमाइयो होला, तैपनि खुशी छु ।

प्रतिक्रिया दिनुहोस्