Logo
Logo

पूर्वमन्त्री गुप्तामाथि कांग्रेस कार्यकर्ताद्वारा हातपात


1.6k
Shares

रूपन्देही । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं जनमत पार्टीका संसदीय दलका नेता सिके गुप्तामाथि प्रहरी कार्यालय अगाडि कांग्रेस कार्यकर्ताले हातपात गरेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीको प्रांगणमा शनिबार पुगेका उनलाई कांग्रेस निकट युवाहरुको समूहले हातपात गरेका हुन् ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि दुई समूहको विवादमा पुगेका गुप्तामाथि युवाको समूहले हातपात गरेको हो । हातपातपछि आफूलाई असुरक्षित महशुस गर्दै प्रहरी कार्यालयभित्रै डेढ घण्टादेखि बस्दै आएका छन् ।

कांग्रेस नेता फकुरूद्दिन खानको भतिज एजान खान, वचन खानसहितको समूहले आक्रमण गरेको उनले बताए । इलाका प्रहरी कार्यालय लुम्बिनीका ईन्चार्ज प्रहरी निरीक्षक दिपक मगरातीका अनुसार दुई समुहबीच उत्पन्न विवादबीच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको हो ।

इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरुको समूहले हातपाको प्रयास गरेपछि प्रहरीले उद्धार गरी आफ्नो कार्यालयभित्र पुर्याएको उनले बताए ।

सांसद गुप्ताले बताउँदै भने, ‘प्रहरी कार्यालयको गेट अगाडि नै ममाथि हातपातको प्रयास भयो, मसँगै रहेका २ जना साथीमध्ये एक जनालाई उनीहरुले बाहिर निकालेरै कुटपिट गरे । सायद म पनि गाडिबाट बाहिर निस्किएको भए उनीहरुले ज्यान नै लिने थिएहोला । मुस्किलले ज्यान बचाएँ ।’ मर्चवार क्षेत्रमा गुप्ता र खानको समूहबीच विवाद रहँदै आएको छ । अहिले दुवै समूहले इलाका प्रहरी कार्यालय परिसरमा छन् ।

प्रतिक्रिया दिनुहोस्