Logo
Logo

देश नभएको एउटा मान्छे…


693
Shares

चीनमा हुँदा सरोजका एकजना साथी थिए– किमो । उनको देश थियो होला कुनैबेला । तर, त्यति नै बेला भने आफूलाई देशै नभएको मान्छे भनेर आफ्नो परिचय दिएका थिए मलाई । उनी प्यालेस्टाइनी थिए । आज भन्दा ३५ वर्ष अगाडिको कुरा हो यो ।

विद्यार्थीका रूपमा हामी चीनमा थियौँ । उनी पनि सरोजकै युनिभर्सिटीमा मेडिसिनका विद्यार्थी थिए । हेर्दा सुन्दर, आकर्षक, अग्लो गोरो मान्छे थिए । उनको मन पनि उस्तै राम्रो थियो ।

आँखाहरू झनै सुन्दर थिए । उनी एक स्वप्नदर्शी मान्छे पनि थिए । हाम्रो ५÷६ वर्षको चीन बसाईको स्मरणमा उनलाई बिर्सनै सकिँदैन । त्यति नजिकका साथी थिए ती । पहिले पनि एकपल्ट लेखेको थिएँ– ‘किमोका स्वप्निल आँखाहरू’ भनेर । यतिखेर फेरि सम्झिरहेछु उनलाई ।

इजरायलले गाजा र लेबनानमा बम वर्षा गरिरहँदा उनी कहाँ होलान्, बाँचेकै पो छन् कि छैनन् भन्ने मनमा प्रश्न उठेको थियो । कुनै सम्पर्क छैन । यिनै पंक्तिहरू लेख्ने क्रममा उनका सहपाठी र सरोजका ‘भाइ’ डा. विनोद रायसँग वि–च्याटमा कुरा हुँदा किमो अहिले नर्वेमा एक रिसर्चरका रूपमा बसेको कुरा थाहा पायौँ । मन सञ्चो भयो ।

देश नभएको मान्छेको घर कहाँ होस् ! घर नहुनुको पीडा त घर नभएकै मान्छेलाई मात्र थाहा हुन्छ । हामी बुझ्न सक्थ्यौँ उनका पीडालाई । उहिल्यैदेखि नै प्यालेस्टाइनीमाथि भइरहेको इजरायलको मनपरीले गर्दा धेरैका परिवारहरू छ्याल्लब्याल्ल थिए ।
उनका आमाबाबु पनि प्यालेष्टाइनी भूमिबाट विस्थापित भएर लेबनानमा शरणार्थीको रुपमा बसेका थिए । उनी खुसी हुन चाहन्थे, तर मनमा शान्ति थिएन । अनि झट्ट हेर्दा उनी आफै पनि व्यवस्थित थिएनन् ।

होस्टेलकै जीवनशैलीमा पनि अराजकता जस्तो देखिन्थ्यो । तर, उनका सपनाहरू ज्यादै सुन्दर थिए । विश्वमा नै कतै लडाँई नहोस्, सबै मान्छेहरू सुखले बाँच्न पाउन् भन्ने कुरा गर्थे…।

सरोजको उनीसँगको मित्रता पनि यसै कारणले भएको हुनुपर्छ । उनी आफ्ना व्यक्तिगत कुराहरू पनि सुनाउने गर्थे । एकदिन उनी दौडेर आए, खुसी अनुहार लिएर “मैले त बिहा गर्ने भएँ नि !’’ कोसँग कसरी भन्ने प्रश्न गर्नु भन्दा अगाडि नै उनैले एकजना चिनियाँ केटीको नाम लिएर उनीहरू बिच प्रेम बढेको कुरा सुनाए । केही समयपछि धुमधामले साथीहरूलाई पार्टी दिएरै ‘इन्गेज्मेन्ट’को घोषणा गरे ।

हामी सहभागी हुने नै भयौँ । सरोजलाई नै एमसी बनिदिन आग्रह गरे । हामीलाई पनि खुसी लागेको थियो– यो मान्छेको अब अस्थायी भए पनि एउटा घर हुने भयो भनेर…।

एक डेढ महिनापछि नै उनी फेरि हाम्रो कोठामा पसे । रुखबाट खसेको बाँदर जस्तो, नून खाएको कुखुरा जस्तो अनुहार लिएर दुःखी भएर साथीलाई भेट्न आए । के भो ? भनेर सोध्नु भन्दा अगाडि नै उनले भने “डायनासँग ब्रेक भयो नि ! उसले छोडी मलाई… थुक्क जिन्दगी ! देश नभएको मान्छेलाई कसैले किन विश्वास गरोस् !’’ भन्दै आफ्नै भाग्यलाई दोष दिए ।
चीन अझै पूरा खुला नभइसकेको त्यो बेला धेरै चिनियाँ केटीहरू विदेशीसँग बिहे गरेर चीनबाहिरको संसारमा जान चाहन्थे । यसरी विदेशीसँग बिहे गर्ने लहरै चलिरहेको बेला थियो ।

किमोसँग ती केटीले बिहे गर्ने निर्णय त गरिन् । तर, किमोको फर्किने देशै थिएन । समस्याग्रस्त प्यालेष्टइनप्रति वफादार थिए । र, उनी आफैँ चीनको शरणमा थिए ।

प्रेममाभन्दा स्वार्थमा बाँधिएकी केटीसँग कसरी सोझो किमोको विवाह हुनसक्थ्यो र ! मैले त पहिले नै लख काटिसकेकी थिएँ – उनीहरुको सम्बन्ध लामो हुन सक्दैन भनेर । धन्न केहीबेर भएपनि रमझम सपना जस्तो, पुतलीको खेलजस्तो रमाइलो “इन्गेजमेन्ट’’को भ्रममा रमाउन त पाए !

चिनियाँ केटीसँग छुट्टिएपछि निकै समय नै उनी दुःखी भए । उनको मीठो सपमामाथि तुषारापात भयो । उनलाई कसरी पहिले झैँ खुसी देख्ने भन्ने कुरामा हामीसँग पनि कुनै उपाय थिएन । आफ्नो अवस्था जे हो त्यो स्विकार्नुबाहेक अरु के सकिन्थ्यो र !
उनी बरोबर हाम्रो कोठामा आउँथे । कहिले कहिले मैले बनाएको अचार चाख्थे, उनलाई धेरै मन पथ्र्यो त्यो नेपाली अचार । मागेरै पनि खान्थ्ये । नेपाली स्वादको शिशीमा पकाएको पुरानो गोलभेडाको अचार उनलाई साह्रै मनपथ्र्यो ।

एकपल्ट हामी नभएको बेला पनि झ्यालबाटै हात पसाएर अचार निकालेर खाएछन् । यो थाहा पाउँदा मलाई अझै उनको माया लाग्यो– उनी आफन्त खोज्दै थिए । सरोज र उनको कुरा म नजिक बसी सुनिरहन्थेँ । संसारका बारे, युद्ध र शान्तिका बारे, न्याय र अन्यायकाबारे उनीहरू बीच घण्टौँसम्म कुरा हुन्थ्यो ।

एकचोटी चाहिँ यस्ता गम्भीर कुरा केही नगरी सरोजलाई भने– “यहाँबाट आफ्नो देश नफर्क । तिम्रो देशमा पनि राजनैतिक स्थिरता छैन, जनता भन्दा नेता धेरै भएको देशले राम्रो गति लिन सक्दैन । तिमी जस्तो बुद्धि भएको मान्छेको कुनै प्रयोग हुँदैन देशमा, बरु हामी दुवै नर्वेमा जाऔं र एउटा व्यवस्था गरौँ । तिमी तिम्रो बुद्धि मलाई देऊ, काम सबै म गरुँला ।’’

हाम्रो देशमा कहिल्यै नपुगेको मान्छेले कसरी हाम्रो देशको अवस्था र भविष्यबारे सोच्न सकेको होला भनेर मलाई अचम्म लाग्थ्यो । तर, आफ्नो देशको भविष्यका बारे उनीभन्दा हामी बढी सकारात्मक र आशावादी हुनु स्वाभाविक थियो ।

उनको जस्तो देशै नभएको स्थिति हाम्रो थिएन । राजनीतिक परिवर्तन मात्र हुनसके त देश स्वर्ग जस्तो बनाउन सकिएला नि ! भन्ने लागिरहन्थ्यो । देशकै भूमिमा बसेर परिवर्तनका निम्ति प्रशस्त समय खर्चिसकेका थियौँ । उनको प्रस्ताव मान्ने कुरा आएन ।
उनी भने त्यहीबेलाको सोचअनुसार साँच्चै नर्वे गएछन् । नर्वेकै नागरिकता लिए कि प्रवासी प्यालेष्टाइनीकै रूपमा बसेका छन्, थाहा छैन । हमासको निहूँमा इजरायलले प्यालेष्टाइनी र वरपरका देशका जनतामाथि बर्बर आक्रमण गरिरहेको यो बेला म उनलाई बारम्बार सम्झिरहन्छु ।

उनका कति सपनाहरू उहिल्यै चकनाचूर भएका थिए । अझै पनि उनको प्यालेष्टाइनी मन दुखिरहेकै होला । तर पनि एउटा असल मनको मान्छे जुन देशमा बाँचे पनि खराब काम गर्दैन, मानव जातिलाई ध्वस्त गर्ने काममा लाग्दैन, केही न केही राम्रै काम गरिहेको हुन्छ । भर्खरै डा. विनोदबाट सुन्यौँ– उनी एक रिसर्चरको रूपमा राम्रो काम गर्दैछन् रे । उनको भलो होस् !

प्रतिक्रिया दिनुहोस्