Logo
Logo

नेपाली जनता फेरि एकजुट हुनुपर्ने भयो : प्रचण्ड


441
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले आफूहरुले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरुलाई सफल हुन दिन नहुने बताए।

उनले संविधानको मर्म र भावनाविपरीत संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरीतर्फ लैजाने प्रयासका विरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औंल्याए।

उनले विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए। देशलाई फेरि एकपटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा सतर्क हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले भने, ‘समाजमा अलि बढी अराजकतातिर, निरंकुशतातिर फर्काउने कसरतहरु कतै न कतै पछाडितिर फर्काउने कसरत देखिएका छन्। हाम्रो अगाडि मैले जहिले पनि आज भोलि भन्ने गरेको कुरा के छ भने हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामी भित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ। हामी कहीँ न कहीँ सजग हुनुपर्ने, शतर्क हुनुपर्ने आवश्यकता छ। फेरि कतै विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत कतै नहोस्। देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा सतर्क हुनुपर्ने आवश्यकता छ।’

अध्यक्ष दाहालले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरु गम्भीर हुन जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्