Logo
Logo

नेताका कुरा र भेडा गोठालाको कथा


756
Shares

नेपालीमा एउटा उखान छ, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नको चामल पनि बिक्दैन ।’ सो उखानबाट सबैभन्दा बढी प्रेरित नेताहरू भएको देखिन्छ । त्यसैले उनीहरू बढी बोल्छन्, काम कम हुन्छ ।

नेपालीमै अर्को उखान पनि छ, ‘धेरै खायो भने चीनी पनि तितो हुन्छ ।’ नेताका मिठा कुरा जनतालाई पनि तितो भएको छ । अब मिठो कुराले जनता झुक्क्याउने दिन गए ! जनता भावनामा बग्न छाडे, ती यथार्थ खोज्न थालेका छन् । त्यसैले नेताको बोली आफँैलाई भारी पर्न थालेको छ ।

पिठो बिकाउन अझै नेताहरू लागिपरेका छन्, भ्रम बेच्ने पुरानै पेसा अँगालिरहेका छन्, जुन आफैँमा बदनाम र कमजोर भइसकेको राजनीतिक संस्कृति हो । नेताका कुरामा जनता झुक्किनुसम्म झुक्किए । तर, अब जनता त्यस्ता चिप्ला कुरामा फस्ने छैनन् । नेताका कुराले जनता आजित भइसके । जनतालाई ढाँट्ने नेतालाई अधिकार छैन । जनता ढाँट्नु भएको सार्वभौम नागरिकको अपमान हो ।

नेताका कुरा पनि भेडा गोठालाको कथाजस्तै भइसक्यो । यो कथा सबैलाई थाहै छ । गाउँलेलाई झुक्क्याउन एकदिन गोठालो भेडा चराउन गएका बेला ‘बाघ आयो, बाघ आयो’ भनेर चिच्यायो । गाउँलेहरू उसलाई बचाउन दौडेर गए । जब गाउँलेले उसलाई सहयोग गर्न पुगे, त्यहाँ बाघ थिएन । गाउँले झुक्किएको देखेर गोठालो हाँस्यो ।

दोस्रो दिन पनि गोठालाले ‘बाघ आयो, बाघ आयो’ भनेर गाउँलेसँग गुहार माग्यो । गाउँलेहरू उसको उद्धार गर्न भनेर फेरि दौडिएर पुगे । तर त्यो दिन पनि बाघ आएकै थिएन । गाउँलेलाई फेरि झुक्क्याउन सफल भएकामा ऊ मक्ख प¥यो ।

भेडा चराउन जाँदा एकदिन साँच्चै बाघ आयो । उसले भेडालाई झम्टिन थाल्यो । आत्तिएर उसले गाउँलेसँग गुहार माग्यो । ‘बाघ आयो, बाघ आयो’ भनेर करायो, चिच्यायो । तर यसपटक गाउँले कोही आएनन् । बाघले उसका धेरै भेडा मारिदियो । ऊ बेलुका निरास भएर घर पुग्यो, गाउँलाई सुनायो । तर कसैले उसमाथि सहानुभूति देखाएनन्, खुच्चिङ भने ।

ती भेडा गोठालो र अहिलेका हाम्रा नेताबीच केही फरक देखिँदैन । यसको एक उदाहरण हुन्, नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा । पछिल्लो समय उनले कीर्तिपुरको चुनावीसभामा गरेको सम्बोधनले व्यापक चर्चा पायो । कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै महिनाको रु ३–४ लाख कमाउने कुरा ‘भाइरल’ बन्यो ।

सूचना प्रविधिसँग जोड्दै थापाले भनेका थिए, ‘कीर्तिपुरलाई यस्तो नमुनाको नगर बनाउन सकिन्छ, जसका घरबाट निस्केका बच्चाहरूले अबको पाँच÷सात वर्षपछि, यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन् । यहीँ कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको रु दुई÷चार लाख आम्दानी गर्ने तन्नेरीहरू बनाउन सकिन्छ, कीर्तिपुरले बनाउँछ ।’

सपना देखाउने तर पूरा नगर्ने नेताहरूका चिप्ला कुराले नागरिकस्तरमा नकारात्मक असर पारेको छ । नेताहरूले ‘यो गर्छु त्यो गर्छु’ भनेर जनतासँग प्रतिबद्धता गर्नु नराम्रो होइन । तर, प्रतिबद्धता गरिसक्नासाथ भुल्नुचाहिँ अति खराब हो ।

मासिक रु १८ हजारको न्यूनतम तलब नपाएका बेला महिनामै रु तीन÷चार लाख कमाउने कुरा नागरिकले कसरी पत्याउने ? देशको विद्यमान अवस्था हेर्ने हो भने अवस्था दिनप्रतिदिन खस्कँदो छ । देशमा बेरोजगारी व्याप्त छ, झुटको खेती दिन प्रतिदिन मौलाएको छ, सुशासन हराएको छ, भ्रष्टाचार मौलाएको छ ।’

युवा पुस्ता देशबाट बाहिरिएको छ । जमिन बाँझिएको छ । देश युवाविहीन हुँदै गएको छ । तन्नेरी पुस्ता बाहिरिने र नफर्कने अवस्था छ । यसले घरहरू वृद्धाश्रममा परिणत हुने निश्चितप्रायः छ । आन्तरिक तथा विदेशी ऋणको भार हरेक वर्ष थपिँदै छ । चालु खर्च धान्न आम्दानी तथा राजस्वले धौधौ पर्ने स्थिति छ ।

देशमा बन्ने आवधिक योजना, नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीति जस्ता नीति निरन्तर
आउँछन्, तर तिनको कार्यान्वयन हुँदैन । देशको आर्थिक अवस्था एकदम जर्जर भइसकेको छ । मूल्यवृद्धिले सीमा नाघेको छ, महँगीले ढाड सेकिएको छ, बेथितिले पिरोलेको छ ।

देश रेमिट्यान्सले धानिरहेको छ । विदेशमा पसिना बगाएर ल्याएको रकम खाएर उडाउने र आयातमा लगानी भइरहेको छ । धनी र गरिबबीचको खाडल गहिरिँदै छ । अस्थिर राजनीतिले विकासको गति समाउन सकिरहेको छैन । तर, नेताहरूले हावादारी गफ दिन छाडेका छैनन् । त्यसैले तिनलाई जनताले पत्याउन छाडे । र, ती ट्रोलको सिकार बनिरहेका छन् ।

यतिसम्म कि ‘एआई’बाट डाँडामा बसेर ल्यापटप चलाइरहेको चित्र बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने ट्रेन्ड नै चल्यो । उपनिर्वाचन सकिएको हप्तै हुँदा पनि गगन ट्रोल बन्न छाडेका छैनन् । कीर्तिपुरका डाँडामा सात–आठ वर्षपछि युवाले एउटा ल्यापटपको भरमा महिनाको रु दुई–चार लाखसम्म कमाउन असम्भव भने छैन । तर मुख चलाएर मात्रै कमाइँदैन, त्यसका लागि काम र योजना चाहिन्छ, भिजन हुनुपर्छ । काम गर्ने तपरता चाहिन्छ ।

गगन त पछिल्ला उदाहरण मात्रै हुन् । जनतालाई मिठो भ्रम छर्ने नेताहरू अरू थुप्रै छन् । तिमध्ये एक हुन्, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली । विसं २०७४ को निर्वाचनताका बोलेका कुराले अहिले उनी आफैँ अप्ठ्यारामा छन् । उनी पाँच वर्षभित्र घरघरमा ग्यास पाइप, हिन्द–प्रशान्त महासागरमा नेपालको ध्वजावाहक पानीजहाज, काठमाडौँ–केरुङ चिनियाँ रेल, प्रतिव्यक्ति आय रु पाँच हजार पु¥याउने सपना देखाउँथे । यस्ता दर्जनौँ भाषण ओलीले गरेका थिए, जो पूरा भएनन् । यस्ता कुराले उनी हावादारी नेतामा दर्जा भएका छन् ।

यता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘देश सिंगापुर बनाउने’ प्रसंगले वर्षौँसम्म लखेटिरहेको छ । त्यो कुरा कुनै प्रसङ्गमा आउँदा प्रचण्ड अहिले आफैँ लजाउँछन् ! त्यसैले त उनले केही वर्षअघि ‘अब देशलाई सिंगापुरजस्तो होइन, नेपाललाई नेपालजस्तै बनाउनु छ’ भने ।

सपना देखाउने तर पूरा नगर्ने नेताहरूका यस्ता चिप्ला कुराले नागरिकस्तरमा नकारात्मक असर पारेको छ । नेताहरूले ‘यो गर्छु त्यो गर्छु’ भनेर जनतासँग प्रतिबद्धता गर्नु नराम्रो होइन । तर, प्रतिबद्धता गरिसक्नासाथ भुल्नुचाहिँ अति खराब हो ।

कुनै पनि नेताका भाषण नराम्रा हैनन् । सैद्धान्तिक रूपमा ती असम्भव पनि छैनन् । तर देश अहिले कुन हालतबाट गुज्रिरहेको छ ? तर, नेताहरू हावादारी गफमै व्यस्त छन् । थापाले हालै गरेको अभिव्यक्तिले यस प्रवृत्तिलाई पुनः उजागर गरिदिएको छ । नेताहरूले बोल्दा तथ्य, योजना र सम्भावनाका आधारमा बोल्नुपर्ने आवश्यकता स्पष्ट छ ।

यदि यस्तै कुरा गरिरहने हो भने नेपाली राजनीतिमा आवश्यक सुधारको अपेक्षा पूरा हुन कठिन छ । यस कारण, नेता र राजनीतिक दलहरूले अबको यात्रा योजनाबद्ध, तथ्यमा आधारित र नागरिकको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने ढङ्गले अगाडि बढाउनु आवश्यक छ ।

अन्त्यमा, अझैँ पनि समय घर्किसकेको छैन । सच्चिने समय बाँकी नै छ । प्रवृत्तिगत सुधार, रूपान्तरणकारी साङ्गठनिक चेत, असल र सफल नेतृत्वको आजको खोजीको विषय हो । दलहरूले विगतको निर्मम समीक्षा गर्नुपर्छ ।

साथै तिनले आगतमा राम्रो गर्छौँ भन्ने विश्वस्त आधार पेस गरेर जनतालाई विश्वासमा लिन सक्नुपर्छ । अनि मात्रै लोकतन्त्र र संविधानको रक्षा हुन सक्छ, समृद्धि र समाजवादको यात्रा अघि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्