Logo
Logo

६ महिनापछि समाजवादी मोर्चा सक्रिय


1.6k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित चार पार्टी सम्मिलित समाजवादी मोर्चा फेरि सक्रिय हुने भएको छ । यही माघ २ गते बैठक राखेर मोर्चालाई सक्रिय बनाउने तयारी मोर्चामा आवद्ध दलहरूको छ । बैठकमा विगतको समीक्षासहित भावी रणनीतिक योजनाबारे छलफल हुने नेताहरूले जनाएका छन् ।

समसामयिक राजनीतिक परिस्थिति र समाजवादी कार्यक्रमबारे छलफल गरेर निष्कर्ष निकाल्ने माओवादी केन्द्रका महासचिव एवं मोर्चाका सचिवालय सदस्य देव गुरुङले बताए । उनका अनुसार मोर्चाको बैठकअघि आज मंगलबार कार्यदलको बैठक बस्ने छ । कार्यदलले मोर्चाको दस्तावेजलाई अन्तिम रुप दिएपछि शीर्ष नेताको बैठकमा पेश हुने छ । पार्टी एकताको लक्ष्यसहित दस्तावेजको मस्यौदालाई अन्तिम रुप दिने तयारी रहेको कार्यदलका अर्का सदस्यले बताए ।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्यसहित २०८० असार ४ गते समाजवादी मोर्चा घोषणा भएको थियो । गत साउन १ गते बैठक बसेदेखि विगत ६ महिनायता बैठक बस्न सकेको छैन । मोर्चाले आफैँले घोषणा गरेका कार्यक्रमसमेत अलपत्र छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मोर्चाको भेउ नै पाउन सकेका छैनन् । यादव मोर्चाको एउटा बैठकमा मात्रै सहभागी भएका छन् । मोर्चालाई सक्रिय बनाउन यादवले नेपाल र विप्लवलाई भेटेर ध्यानाकर्षणसमेत गराएका थिए ।

मोर्चा गठनताका सदस्य रहेका जसपा अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनपछि औचित्य समाप्त भएको भन्दै मोर्चाबाट अलग भएका छन् । मोर्चाका सदस्यसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपा नेपाल विभाजित गराइदिएको यादवको आरोप छ ।

विगतमा एमाले–माओवादी–एकीकृत समाजवादी–जसपा सत्तागठबन्धन भएपछि मोर्चा संकटमा परेको थियो । त्यही वेला जसपा नेपाल विभाजन भएको थियो । त्यसपछि मोर्चा पुरानो लयमा फर्किन सकेको छैन ।

कांग्रेस–एमाले सत्तागठबन्धन बनेपछि गत १ साउनमा मोर्चाको बैठक बसेको थियो । बैठकमा महिन्द्र राय यादव सहभागी थिए । मोर्चाका घटकबिचमा पार्टी एकतासम्मको कुरा भए पनि त्यसपछि बैठक नै बस्न सकेन ।

साउनमा बसेको बैठकले राजनीतिक घटनाक्रमको समीक्षा र भावी योजनासहित राजनीतिक दस्ताबेज तयार पार्न १५ दिनको समय दिएर कार्यदल गठन गरेको थियो । तर, कार्यदलले कुनै निचोड दिन सकेको छैन । मंगलबारको बैठकले दस्तावेजलाई अन्तिम रुप दिने कार्यदल सदस्यहरूको दाबी छ ।

मोर्चामा ‘प्रचण्ड कार्ड’को असर
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सत्ता जोगाउन समाजवादी मोर्चा रणनीतिक रुपमा प्रयोग भएको थियो । मोर्चाको एउटा उद्देश्यमा सरकारले गरेका राम्रो काम जनतामाझ लैजाने पनि थियो ।

तर, एमाले–माओवादी सत्ता समीकरण बनेपछि मोर्चालाई सक्रिय गराउन मोर्चाका संयोजक एवं नेकपामा महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले अनेक प्रयास गर्दा पनि प्रचण्ड सहमत भएका थिएनन् । मोर्चामा आवद्ध एकीकृत समाजवादीसँग बढी हिमचिम हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली रिसाउलान र सत्ता गुम्ला भन्ने प्रचण्डलाई डर थियो । त्यहीकारण त्यतिबेला मोर्चा औचित्यहिन बन्यो ।

माओवादी सत्ताबाट बाहिरिएपछि प्रचण्डको जोडबलमा गत साउन १ गते फेरि मोर्चाको बैठक बस्यो । प्रचण्ड सत्ताबाट बाहिरिएको ६ महिनापछि मोर्चालाई फेरि सक्रिय बनाउने तयारी भइरहेको छ । मोर्चालाई सक्रिय बनाएर सरकारमाथि दबाब बढाउने रणनीति प्रचण्डको छ ।

नागरिकलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अधिकारको प्रत्याभूति गराउन मोर्चाले १५बुँदे प्रतिबद्धता जनाएको थियो । तीन तहका सरकारलाई क्रियाशील बनाउने, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने, सुशासनको प्रत्याभूति गराउने दाबी मोर्चाको थियो ।

प्रतिक्रिया दिनुहोस्