काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।
यसअघि सोमबार न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको तर्फबाट बहस सकिएको थियो ।
समय अभाव भएकाले प्रतिवादी लामिछानेको तर्फबाट भने बहस सुरु नै भएन । हिजो (मंगलबार) सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो ।
प्रतिवादी लामिछाने तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि उनलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ । लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । जसमा पक्राउ परेका दुई जना धरौटी रकम बुझाएर रिहा भइसकेका छन् ।