काठमाडौं । संघीय संसद अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने कानुन समितिको बैठकमा सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र सङ्घीय संसद्ले बनाएका ऐन कानुन कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुने छ ।
त्यस्तै सङ्घीय संसद्ले बनाएको ऐन कानुन कार्यान्वयन चुनौतीका विषयमा कैलाली जिल्लाको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन २०८१, सोही विषयमा धनुषा र दाङमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन २०८१ का सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरी, साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले छ ।