अमेरिकी आक्रमणमा १५० सोमालियाली विद्रोही मारिए

एजेन्सी, २५ फागुन । अफ्रिकी मुलुक सोमालियामा अमेरिकाले गरेको हवाई आक्रमणमा एक सय ५० जना विद्रोही लडाकुको ज्यान गएको छ । हवाई आक्रमणको क्रममा विद्रोही संगठन अल शबाबका एक सय ५० भन्दा धेरै लडाकुको ज्यान गएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अल शबाबको तालिम केन्द्रमा लक्षित गरी आक्रमण भएको अमेरिकी सेनाका प्रवक्ता क्याप्नेट जेफ डेविसले बताएका छन् । अल शबाबको ठूलो आक्रमणको तयारीका लागि तालिम गरिरहेको स्थानमा हवाई आक्रमणको निशाना बनाइएको उनले बताए । अल शबाबका लडाकु तालिम केन्द्र छोडेर भाग्ने क्रममा रहेका बेला आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ । ती लडाकु तालिम केन्द्रबाट भाग्न सफल भएको भए अमेकिरी तथा अफ्रिकन युनियनका सेनाका लागि खतरा बन्ने क्याप्टेन डेविसको भनाइ छ । सोमालियाको राजधानी मोगादिशुबाट एक सय ९५ किलोमिटर उत्तरमा रहेको तालिम केन्द्रमा आक्रमण भएको हो । -

Related News