​बैशाख २ देखि ७७ वटै जिल्लाबाट मतदाता नामावली संकलन

काठमाडौं, ३० चैत । निर्वाचन आयोगले २०७५  वैशाख २ गतेदेखि मतदाता नामावलीमा नयाँ नाम दर्ता अभियान सुरु गर्ने भएको छ । आयोगको पदाधिकारी बैठकले २ वैशाखबाट सबै क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गर्न दर्ता खुला गरेको हो ।
आयोगका प्रवक्ता नवराज ढकालले २ वैशाखबाट ७७ वटै जिल्ला तथा पाँच क्षेत्रीय कार्यालयबाट मतदाता नामावली संकलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) आवश्यक भए सोका लागि अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन हुने बताए ।
‘२ वैशाखबाट ७७ वटै जिल्ला तथा ५ क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने तथा नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गर्ने कार्य सञ्चालन गर्ने आयोगको निर्णय हो,’ प्रवक्ता ढकालले भने ।
उनले यसअघि दर्ता नभएका र नागरिकता प्राप्त गरेका सबैले नाम दर्ता गराउन सक्ने समेत जानकारी दिए । १६ वर्ष उमेर पुगेका व्यक्तिले पनि नाम दर्ता गराउन सक्ने तर परिचयपत्र भने १८ वर्ष उमेर पूरा भएपछि मात्रै दिइने प्रवक्ता ढकालको भनाइ छ । अद्यावधिक गर्नुपर्ने आवश्यकता भएकाहरूले समेत सोही मितिबाट अद्यावधिक गर्न सक्नेछन् ।
आयोगले स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत निर्वाचनको मिति तय हुनु अघिसम्म नाम दर्ताका लागि समय दिएको थियो । पछिल्लोपटक आयोगले ३ भदौ २०७४ सम्म १८ वर्ष पूरा भएकाहरूलाई मतदाता नामावलीमा नाम दर्ताका लागि समय दिएको थियो ।

गत १० र २१ मंसिरमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता गराएका १ करोड ५४ लाख २७ हजार ९३५ मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।

Related News