खेलकुदमय बन्यो पूर्वी नेपाल

राष्ट्रपतिले सातौं राष्ट्रिय खेलकुद उद्घाटन गर्दै 


विराटनगर, ८ पुस । पूर्वाञ्चलमा आज सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य समारोहबीच औपचारिक रुपमा सुरु हुने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ३ बजे विराटनगरस्थित सहिद रंगशालामा विधिवत् रुपमा प्रतियोगिताको उद्घाटन गरेपछि पूर्वाञ्चलका १३ जिल्लामा प्रतियोगिताको शुभारम्भ हुनेछ । 

प्रतियोगिताको भव्य उद्घाटनका लागि सहिद मैदानलाई बेहुलीझैँ सिङ्गारिएको छ । उद्घाटनका अवसरमा पूर्वाञ्चलका सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने तयारी गरिएको आयोजक समितिले जनाएको छ । मुलुकको पूर्वी नेपाल यतिखेर खेलकुदमय बनेको छ । 

सो अवसरमा खेलाडीको स्वागतका लागि पूर्वाञ्चलका झापा, मोरङ र सुनसरीका मुख्य चौकमा स्वागतद्वार निर्माण गरिएको छ । खेलाडीका साथै प्रशिक्षक लगायतको बस्ने र खाने व्यवस्थासमेत सम्बन्धित जिल्लाका होटेलमा मिलाइएको छ । 

जम्मा ३० वटा खेलमा हुने प्रतिस्पर्धामध्ये सबैभन्दा बढी सुनसरीमा १२, मोरङमा १०, झापामा पाँच तथा सप्तरी, सिरहा र धनकुटामा एक–एकवटा खेलमा प्रतिस्पर्धा हुनेछ । साथै पूर्वाञ्चलमा पूर्वाधार नभएको कारणले ललितपुरको सातदोबाटोमा महिला÷पुरुषको स्क्वास, काठमाडौँमा फेन्सिङ र कास्कीको पोखरामा महिला÷पुरुष लनटेनिसको प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए । 

३० वटा खेलको प्रतियोगितामा तीन हजार नौसय ७२ जना खेलाडीको सहभागिता रहनेछ भने ती खेलाडीले दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । 

Related News