​खराब कम्पनीहरु भटाभट शेयर जारी गर्दै

दृष्टि न्यूज

काठमाडौं । ऋणधन जे जस्तो गरेर भएपनि गरेर शेयर खरिद गर्ने बानी परेका नेपालीहरुलाई झुक्याउने नियतसाथ केही कम्पनीहरुले यसै साताबाट शेयर जारी गर्दैछन् । आईपिओ खरिद गर्नका लागि मरिहत्ते गर्ने नेपाली लगानीकर्ताले आउँदो बिहिवारदेखि एउटा नयाँ शेयर खरिद गर्ने अवसर पाउँदैछन् । आँखुखोला जलविद्युत कम्पनीले निकाल्न लागेको शेयर पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको सात लाख ५० हजार कित्ता शेयर बिक्री शुरु हुँदैछ । प्रतिकित्ता एक सय अंकित मूल्यमा सात करोड ५० लाख मूल्य बराबरको शेयर बिक्री गरिनेछ । 
वित्तीय रुपमा कमजोर रहेको सो कम्पनीको शेयरमा लगानी गर्नेले प्रतिफलका लागि आठ वर्ष प्रतिक्षा गर्नुपर्ने देखिएको छ । कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्ने संस्था इक्रा नेपालको मूल्याङ्कनमा खराव वित्तिय अवस्था भएको  प्रतिवेदन दिइसकेको छ । इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड–५’ दिएको छ । आगामी साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । 
कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत् आयोजनाको स्थानीयवासीका लागि छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । पहिलो चरणमा सकिएपछि दोस्रो चरणमा आम सर्वसधारणलाई शेयर बिक्री गर्ने योजना सार्वजनिक गरिसकेको छ । कम्पनीको आर्थिक अवस्था असाध्यै कमजोर रहेका कारण प्रभावित क्षेत्रका सर्वसधारणले वित्तिय अवस्थाका बारेमा बुझेर मात्रै लगानी गर्ने पर्ने भएको छ । त्यसो त सोमबारदेखि नै साधारण शेयर बिक्री शुरु गरेको युनियन हाइड्रोपावर कम्पनीको अवस्था उस्तैछ । इक्रा नेपाल रेटिङमा ग्रेड–५ पाएको सो कम्पनीले आयोजना प्रभावित लमजुङका बासिन्दालाई साधारण शेयर बिक्री गर्न आह्वान गरेको छ । 
पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपिओ) समेत बिक्री हुन छोडेपछि शेयरबाट लाभ लिन पल्केकाहरु अत्तालिएका छन् । नेपाल सरकारको शतप्रतिशत लगानी रहेको नेपाल बैंक लिमिटेडको आइतबार मात्रै एफपिओ बिक्रीको अवधिभित्र पूरा बिक्री हुन नसकेपछि एफपिओप्रति सर्वसधारणको आकर्षण घटेको रुपमा समेत हेरिएको छ । 

Related News