​अब चाँडै काठमाडौं आउँछु– कविता सिवाकोटी, गायिका

दृष्टि न्यूज

‘यु–ट्युब’ले गर्दा एल्बमको बजार ध्वस्तै भएको छ । एल्बम किनेर सुन्ने जमाना छैन । तैपनि, एल्बम निकाल्ने लहर भने चलेकै छ । यस्तै, झापाकी गायिका कविता सिवाकोटीले यो साता एकसाथ ‘कविता’ र ‘किरण–कविता’ नाममा दुई एल्बम सार्वजनिक गरिन् । एल्बम ल्याएपछि कविताले ‘एउटा इच्छा’ पूरा भएको महशुस गरेकी छन् । दुई एल्बममा करिब ८ लाख खर्च भएको कविताको भनाई छ । त्यो लगानी कसरी उठाउँने, उनलाई थाहा छैन । झापामै बसेर गीतसंगीत क्षेत्रमा संर्घषरत उनै कवितासँग एमपी सुब्बाको जम्काभेट :
एकैसाथ दुई एल्बम किन नि ?  
एउटा मेरो सोलो एल्बम हो । ‘किरण–कविता’चाहिँ कलेक्शन हो । जसमा मेरो भाई किरण बिमलीसँग गाएकी छु  । ‘कविता’चाहिँ मेरो सोलो एल्बम हो ।
तपाइँले गाउन थाल्नु भएको कति भयो ?
साता÷आठ वर्ष भयो । तर, एल्बमचाहिँ अहिले भर्खर ल्याउँदैछु । यसअघि गाएका गीतहरु ‘किरण–कविता’ मा समावेश गरेकी छु । 
‘सिंगल ट्रयाक’को जमाना छ । तपाइँले ‘सिंगल ट्रयाक’ नै ल्याएको भए पनि हुन्थ्यो नि ?
हो, तर एल्बम निकाल्ने मेरो पहिलेदेखिको रुचि र इच्छा हो । एल्बम बिक्री हुदैन भन्ने मलाई थाहा छ । तर, एल्बम र ‘सिंगल ट्रयाक’मा धेरै अन्तर छ । एल्बम भनेको एउटा कृति हो । कलाकारलाई कृतिको आवश्यकता पर्छ । 
दुई एल्बम निकाल्दा खर्च कति भयो ?
खर्च त धेरै भयो नि । भिडियोसहित गर्दा ८ लाख रुपैयाँ भन्दा धेरै भएको छ । 
कति वटा म्युजिक भिडियो बनाउनु भएको छ र ?
मेरो सोलो एल्बम ‘कविता’मा समावेश दुई र ‘किरण–कविता’को एक गीतको भिडियो बनाएकी छु । तीमध्ये ‘दर्के पानी’ बोल गीतको भिडियो यु–ट्युबमा आइसकेको छ ।
एल्बममा लाखौ रुपैयाँ खर्चेर लगानीचाहिँ कसरी उठाउने हो ?
सोच्दैछु । सबैभन्दा पहिलो गीत हिट बनाउने अनि स्टेज प्रोगामबाट एल्बममा भएको लगानी उठाउने सोच छ । यु–ट्युबबाट पनि अलि–अलि आउला नि ।
गीत ‘हिट’ नै हुन्छ भन्ने पनि त छैन ?
त्यो पनि हो । तर, कोशिस गर्ने हो नि । मैले एल्बममा सबै प्रकारका गीत समावेश गरेकी छु । अहिलेका पुस्ताले रुचाउँने खालका गीतलाई प्राथमकिता दिएकी छु ।
सबै काठमाडौमै थुप्रिएका छन् । तपाइँचाहिँ किन झापामै ?
मैले पनि त्यो महशुस गर्दैछु । झापामै बसेर गीतसंगीतमा संर्घष गरेको सात÷आठ वर्ष भयो । काठमाडौंभन्दा बाहिर बसेर कलाकारिता गर्न सजिलो पनि छैन । मोफसलमा बस्ने जतिसकै राम्रो र प्रतिभाशाली कलाकार भएपनि लोकल भइँदोरहेछ ।’
काठमाडौं आएर संघर्ष गर्ने सोच छैन ?
छ । अब निकट भविष्यमै काठमाडौं बस्ने गरी आउँछु होला । यहाँ बसेर संघर्ष गर्दा अवसरहरु पनि पाइन्छ । तर, मोफसलमा केही अवसर पाइँदैन । 
यसपटक एल्बम रिलिजकै लागिमात्र काठमाडौं आउनुभएको हो ?
हो, म यहाँ आएको १५ दिन भयो । यो १५ दिनमै एल्बमको सबै काम सकेर सार्वजनिक गर्न पनि सफल भएँ । अब एक÷दुई दिनमै झापा फकिँदैछु । केही दिन एल्बम प्रमोशनका लागि बस्नै पर्ने भएको छ ।

Related News