​अब्बासीले देउवा नभेट्नुको अर्थ

दृष्टि न्यूज

रशेम घिमिरे । हालै सम्पन्न मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री खाकन अब्बासीको नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको शान्त कुटनीतिको सफलतम प्रयोगका रुपमा लिन सकिन्छ, यसको सराहना गर्नै पर्दछ । यसबाट के कुरा स्पष्ट हुन्छ भने आगामी दिनमा वाम गठबन्धन सरकारको परराष्ट्र नीतिमा राष्ट्रिय हित अभिप्रेरित हुनेछ ।
भौगोलिक रुपमा नेपाल पाकिस्तानसँग नजोडिएता पनि भावनात्मक रुपमा जोडिएको छ । नेपालमा २०३६ सालको जनआन्दोलनको सुरुवात पाकिस्तानका प्रधानमन्त्री जुल्फीकार अली भुट्टोलाई दिएको फाँसीको घोषणाको विरोधमा भएको थियो । अनेरास्ववियुको नेतृत्वमा पाकिस्तानी राजदूतावासमा विरोधपत्र बुझाउने क्रममा त्यतिबेलाको पञ्चायती सरकारले विद्यार्थीमाथि जुन दमन ग¥यो त्यसको परिणामस्वरुप नै जनमतसंग्रह घोषणा गर्न राजा वीरेन्द्र बाध्य भए । त्यसपछि बहुदल र निर्दल रोज्ने नेपाली जनताले अवसर पाएका हुन् । यो अर्कै कुरा हो कि त्यतिबेला धाँधली गरेर निर्दलीय व्यवस्थालाई नै जिताइयो ।
सन् १९४७ मा मोहम्मद अली जिन्नाको नेतृत्वमा भारत विभाजित भएर पाकिस्तानको निर्माण भयो । सन् १९६० मा गएर नेपालले पाकिस्तानसँग दौत्य सम्बन्ध कायम गरी १९६२ मा पाकिस्तानमा दूतावास खोल्ने काम भयो । पाकिस्तानबाट पछिल्लो उच्चस्तरीय भ्रमण सन् १९९४ मा प्रधानमन्त्री बेनजीर भुट्टोले गरेपश्चात लामो अन्तरालपछि अब्बासीको यो भ्रमण भएको हो ।
संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा एक अर्कालाई सहयोग पुग्ने नेपाल र पाकिस्तान अघि बढ्दै आएका छन् । त्यस्तै सन् १९७० को दशकमा नेपाल एयरलाइन्सलगायत हवाई उड्डयन क्षेत्रका प्राविधिकहरुलाई पाकिस्तानमा तालिमको अवसर प्रदान भएपश्चात् नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपले नेपालीले सञ्चालन गर्न सक्षम भएका हुन् ।
अब्बासीको यस भ्रमणले प्रधानमन्त्री ओलीलाई चुनौती र अवसर दुवै प्राप्त भएको छ । चुनौती यस अर्थमा कि सार्क अध्यक्षको नाताले उनले अवरुद्ध सार्क प्रक्रियालाई अगाडि बढाउनु पर्ने छ । ज्ञातव्य छ नेपालमा सन् २०१४ मा सार्क शिखर सम्मेलन भएपश्चात भारत पाकिस्तान द्वन्द्वका कारण २०१६ मा पाकिस्तानमा हुनुपर्ने शिखर सम्मेलन हालसम्म पनि हुन सकेको छैन ।
अवसर यस मानेमा कि आणविक शक्ति सम्पन्न सार्कका दुई सदस्य राष्ट्र भारत र पाकिस्तानबीच मध्यस्थता गरी सार्क प्रक्रियालाई अघि बढाउन सके भने प्रधानमन्त्री ओलीको ठूलो उपलब्धि हुनेछ । यसले यस क्षेत्रमै शान्ति र स्थिरता ल्याउन मद्दत पु¥याउने छ । पाक प्रधानमन्त्री अब्बासीले नेपाली मिडियामा दिएको एक अन्तर्वार्तामा नेपालले यस मामलामा मध्यस्थता गर्न सक्छ भनेर भनिसकेका छन् ।
अब्बासीले भनेका छन् पाकिस्तानले चीनको वान बेल्ट वान रोडअन्तर्गत China Pakistan Economic Corridor (DPEC) परियोजनाले पाकिस्तानी अर्थ व्यवस्थामा निकै सुधार आएको छ । नेपालले पनि चीनको उक्त परियोजनामा हस्ताक्षर गरिसकेको हुनाले यसबाट फाइदा लिन ढिलो गर्न नहुने कुरा बताएका छन् । हुनसक्छ पाकिस्तान चीनबीच रहेको घनिष्ठ सम्बन्धका कारणले नै उनले नेपालमा रहँदा विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेनन् । देउवासँग किन भेट गरेनन् भन्ने कुरा कौतुहलताको विषय बन्यो । किनभने उनले दुई वर्षअघि गोवामा भएको एक सम्मेलनमा तिब्बती निर्वासित प्रधानमन्त्री लोप्साङ साँगेसँग एउटै मञ्चमा बसेर भाषण गरेको समाचार बाहिर आएको थियो । नेपालले एक चीन नीति अँगाल्दै आएको परिप्रेक्ष्यमा यो घटनालाई सामान्यरुपमा लिइनु हुँदैन । त्यसैले पाकिस्तानी प्रधानमन्त्री अब्बासीले देउवालाई नभेटेका हुनसक्छन् ।
(स्वतन्त्र पत्रकार) rmshghimire@yahoo.com

Related News