अवरुद्ध भए ग्रामीण सडक, जोखिम बढाउँदै

वातावरणीय प्रभाव मूल्यांकन भएन

दृष्टि न्यूज

मुक्तिप्रसाद न्यौपाने, पाल्पा । संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार गर्न थाले । दुई दिनदेखी परेको अविरल वर्षाका कारण जिल्लाको ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । 
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोर यतिबेला अवरुद्ध छ । तानसेनदेखी रानीघाट जोड्ने सडक अवरुद्ध भएका कारण रानीमहल पुग्ने पर्यटकहरुले सास्ती खेप्नु परेको छ । निस्दी गाउँपालिका जोड्ने ग्रामिण सडकमा मोटरसाईकल समेत गुड्न सक्ने अवस्थामा छैन । पूर्वखोला गाउँपालिकाको गौरवको योजनाका रुपमा रहेको आर्यभञ्याङ्ग–रामपुरको जब्गादीदेखी गाउँपालिका जोड्ने मोटरबाटोको अवस्था उस्तै छ । सिलुवादेखी अर्चले जोड्ने बाटोमा नियमित गाडी सञ्चालन हुन छाडेको छ । रम्भा गाउँपालिका वडा नं. २, ४ र ५ देखी गाउँपालिका केन्द्र जोड्ने बाटोको अधिकांश भागमा पहिरो खसेको छ । तिनाउँ गाउँपालिका–२ मा ३० लाख खर्चर गरेर ५ किलोमिटर सडक ग्राबेल बाटो बनाईएको छ तर अहिलेसम्म नियमित गाडी गुड्न सकेको छैन । रैनादेवी छहराको अधिकांश वडादेखी गाउँपालिकाको केन्द्र जाने ग्रामीण सडक बन्द हुँदा सेवा प्रवाहमै समस्या भएको छ । 
जिल्ला सदरमुकाम तानसेनदेखी तानपा–१०, तेल्घा गुफाचौर जोड्ने सडक निर्माण सम्पन्न भएको छ । तानसेन नगरपालिकाले ७८ लाख खर्चेर तानसेन गुफाचौर सडक निर्माणकार्य सम्पन्न गरेको छ तर बर्खासँगै अधिकांश भागमा पहिरो खसेको छ । तानसेन नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ लाई सडक वर्षको रूपमा मनाएको छ । यस अवधिमा नगरपालिकाले ६५ किलोमिटर सडकको स्तरोन्नति, ३ किमि कालोपत्रे, १ किमि ग्राभेल र ६१ किमि ट्रयाक खोलेको छ । तर अधिकांश स्थानीय तहले कति सडक खन्ने, स्तरोन्नति गर्ने वा कालेपत्रे गर्ने भन्ने योजना बिना नै अगाडी बढेका छन् । 
  दुई नगरपालिका र आठ गाउँपालिकामा निर्माण भएका सडक सञ्जालका अधिकांश भागमा सवारी सञ्चालन हुन सकेको छैन । गाउँबस्तीमा पर्ने असरबारे ख्याल नगरी बनाइएका सडको धेरै मोड र साँधुरा सडकका कारण विकासभन्दा बढी जोखिम निम्तिएको स्थानीयबासी बताउँछन् । नयाँ परिवेशमा सबैले सडक खने विकास हुने देखे । हचुवाका भरमा सडक खनिए । अहिले वर्खाम जोखिममा छन् । 
प्राविधिकको स्टिमेटबिना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण जिल्लाको ग्रामीण क्षेत्र कुरुप र कष्टकरमात्र होईन जोखिमयुक्त बनेका हुन् ।  सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकन बिना नै प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ । वातावरणीय प्रभाव मूल्यांकनको समेत वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका सडकमा ट्र्याक्टरसमेत सञ्चालन गर्न समस्या हुने गरेको स्थानीय बताउँछन् । सिद्धबाबा सडकको वैकल्पिक ट्याक खुलेको छ । जसलाई जिल्लाकै महत्वपूर्ण ट्रयाक मानिन्छ । यति महत्वपूर्ण सडकमा वातावरणीय प्रभाव मूल्यांकनको समेत वास्ता गरिएको छैन । गत आर्थिक वर्ष २०७४÷०७५ मा एक करोड रुपैयाँ खर्चेर सडक खनिएको हो । जिल्ला समन्वय समितिको अगुवाई र तिनाउँ गाउँपालिकाको समन्वयमा नयाँ ट्रयाक खोलिएको हो । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले जिल्लाकै अत्यावश्यक र वैकल्पिक बाटो भएकोले सहमतिमै नयाँ सडक निर्माण गरिएको बताए । उनले वातावरणीय परीक्षण लामो हुने यता मानिसको ज्यान गैरहने भएका कारण कामलाई प्राथमिकता दिएको बताए । 
सडक बनाउँदा अपनाउनुपर्ने मापदण्ड नअपनाइँदा जोखिम बढी र विकास कम भएको बुझाइ जनतामा छ । केही दिन अघिमात्र सेवा निवृत्त प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले धेरै लामो समयसम्म पाल्पा र यस आसपासका मानिसहरुको दैनिकीसँग सिद्धबाबा सडक जोडिएकोले प्रदेश सरकारसँग समन्वय गरि वातावरणीय प्रभाव मूल्यांकन विनानै वैकल्पि झुम्सा–चरङ्गे सडक खनिएको बताए । उनी अहिले लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन् । उनले पाल्पा र रुपन्देहीका सरोकारवालाहरुसँग छलफल गरि प्रक्रिया मिचेरै भएपनि ट्रयाक खोल्ने महत्वपूर्ण काम भएको बताए । 
असार मसान्तको समयमा सम्पन्न गरिएका सडक योजनाका काम अहिले वर्षाको भेलसँगै बगेका छन्, रम्भा गाउँपालिका–१, का दिनेश भट्टराईले भने । ‘हिउँदभरि बाटाहरु खनिन्छ, अहिले वर्षाले आफैं हिँड्न पर्छ, पैसा सक्ने खेलमात्र अधिकांश स्थानीय तहमा भएका छन्,’ भट्टराईले भने, ‘देखाउनका लागि खनिएका सडकमा गाईवस्तु समेत हिड्न सक्ने अवस्था छैन ।’
सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सडक दुर्घटना बढ्दै जानुमा जथाभावी खनिएका सडक नै प्रमुख कारण भएको नेपाल नागरिक समाजका केन्द्रिय सदस्य चित्रवलीराम सुवाल बताउँछन् । ‘सबै जनप्रतिनिधिले बाटो निर्माणमै ध्यान दिए । जता मनलाग्यो उतै खने । ठाडो उकालो र ओरालो हुने भएकाले ग्रामीण सडकमा दुर्घटना पनि हुने गरेको हो, उनले भने, ‘ग्रामीण सडकमा सवारी सञ्चालनका लागि लाइसेन्स नै नलिएका व्यक्तिले यात्रु बोक्ने जीप तथा बस समेत चलाउने गरेका पनि छन् ।’
वर्षायामको बाढी र पहिरोका कारण हुने मानवीय क्षति बढाउने यस्ता सडक निर्माण गर्न नदिन सम्बन्धित निकायले तत्काल ध्यान नदिए ग्रामीण क्षेत्र दिनानुदिन कुरुप र जोखिमपूर्ण बन्दै जाने स्थानीयको बुझाइ छ । जताततै स्क्याभेटर लगाएर सडक बनाउँदा प्राकृतिक रूपमा पलाएका पानीका स्रोतसमेत सुक्दै गएको र गाउँमा खानेपानीको समस्या विकराल हुन थालेको उनीहरू बताउँछन् । 
आर्यभन्ज्याङदेखि रामपुरसम्मको सडक निर्माणसमेत असार लागेपछि भएको थियो । बाँसटारी झडेवा सडक ओटासिल गरे पनि भत्किइसकेको छ । स्थानीयका अनुसार घुम्तीहरूमा कतै पनि कालोपत्रे अडिएको छैन । हार्थोक छहरा तीनगिरे सडकमा पनि कालोपत्रे अडिएको छैन । वर्षा लागेपछि गरेको कालोपत्रे उप्किइसकेको स्थानीय केशव खत्रीले बताए ।
वातावरणीय प्रभाव मूल्यांकन नै नगरी डोजर प्रयोग गरेर ट्रयाक खोल्ने, अर्को साल बजेटले भ्याएसम्म मात्र कतै–कतै कुलेसो र कल्भर्ट बनाउने, अझ आउने सालहरूमा बाँकी काम गर्दै लाने परिपाटी कानुनी र प्राविधिक दुवै दृष्टिकोणले त्रुटिपूर्ण छन् । यस्तो प्रवृत्तिले धेरै ठाउँमा व्यापक पहिरो, भूस्खलन र बाढीको समस्या सिर्जना भएको स्थानीयहरु बताउँछन् । 

Related News