विज्ञापनमा रवीन्द्रका सपना–रवीन्द्र रिजाल ‘शशी’, अध्यक्ष, एड्भरटाइजिङ एशोसियसन अफ नेपाल(आन)

दृष्टि न्यूज

११ वर्षअघि नै एड्भरटाइजिङ एशोसियसन अफ नेपाल(आन) को अध्यक्षमा उनले दाबी थियो । तर, रविन्द्र रिजाल ‘शशी’ लाई  नेतृत्व दिन धेरै तयार भएनन् । 
त्यतीबेला नै उनीसँग आनको नेतृत्वमा बसेर विज्ञापन क्षेत्रलाई केही योगदान दिने सपना थियो । त्यसका लागि चार वर्षअघि पनि चुनावमा प्रतिस्पर्धा गरे । तर, पराजित भए । सधै सिधा बाट्ने हिड्ने र चुनावमा अनेक चलखेल गर्न नसक्ने भएकाले आफू पराजित भएको उनी बताउँछन् । 
तर, यसपटक उनलाई कसैले रोक्न सकेनन् । सर्वसम्मत रुपमा उनी आनको अध्यक्षमा चुनिएका छन् । अध्यक्षका रुपमा चुनिएलगत्तै उनले आफ्ना पुराना योजनाहरुलाई अघि बढाइसकेका छन् । 
उनका मुख्य दुई एजेन्डा छन् । एउटा यो क्षेत्रलाई व्यवस्थित गर्न अनुगमन गर्ने निकाय बनाउन पहल गर्ने । अर्काे मिडियाको रेटिङ गर्ने । मिडियाको रेटिङको काम मंसिरभित्र सकिने उनी बताउँछन् । ‘त्यसपछि मिडियाको कुनै विवाद हुनेछैन,’ उनी भन्छन्,‘विज्ञापन एजेन्सीहरुलाई पनि धेरै सजिलो हुन्छ ।’ 
विज्ञापन क्षेत्रको नियमन समेत हेर्ने गरी सरकारले नयाँ कानून बनाइरहेको र त्यसमा यो क्षेत्रलाई व्यवस्थित बनाउन पहल थालिएको उनी बताउँछन् । 
‘वर्षमा १० अर्बको कारोबार गर्ने आनले धेरै नै लाभ लिनुपर्ने देखिन्छ,’ उनी भन्छन्,‘विगतमा यो कुरामा हामी चुक्यौं, अब पूर्व अध्यक्षहरुसँग मिलेर हामी यो लक्ष्यमा अगाडि बढ्ने छौं ।’ २ अर्बको बिज्ञापन अझै बजारमा आउन नसकेको उनी बताउँछन् । 
आनले ए, बी, सी र डी गरेर चार थरी सदस्यता दिने गरेको थियो । तर, जुन किसिमको सदस्यता लिएपनि त्यसले एजेन्सीलाई कुनै सहयोग नहुने भएकाले यसमा सुधार गरिने उनको भनाई छ । विज्ञापन एजेन्सी क्षेत्रमा केही ‘कुण्ठित’ व्यक्ति भएकाले उनीहरुले केही विवाद गर्न खोज्नु गलत भएको रिजाल बताउँछन्  । 
धेरैले एजेन्सीमार्फत विज्ञापन गर्नुलाई माध्यमका रुपमा मात्र लिन्छन् । जून बुझाई गलत भएको रिजाल ठान्छन् । ‘एजेन्सीको काम भनेको त सिर्जनीशील र कलात्मक रुपमा कुनै पनि कुरालाई लक्षित बर्गसम्म पु¥याउनु हो,’ उनी भन्छन्,‘पब्लिकले सहजै बुझोस्, खरिद गरोस् भनेर हामीले त्यसमा धेरै दुःख गरेका हुन्छौं ।’ 
नेपालमा करिब ७० प्रतिशत बिज्ञापन कम्पनीहरु एजेन्सीका रुपमा मात्र स्थापना गरिएको उनी बताउँछन् । 
‘ट्राभल एजेन्सी खोल्न समेत त्यससम्बन्धि तालिम अनिवार्य हुन्छ, तर विज्ञापन एजेन्सी खोल्न केही अनिवार्य छैन, जसले पनि खोल्न सक्छ, यसमा पुनर्विचार हुनुपर्छ’ रिजालको माग छ । 
तर, आनमा आबद्धमध्ये ८० प्रतिशत एजेन्सीहरु बिज्ञापनलाई कलात्मक रुपमा प्रस्तुत गर्ने व्यक्तिहरु भएको उनको भनाई छ । नेपालमा कतिपय कलेजले बिज्ञापन विषय पढाउन थालेकोमा उनी खुशी छन् । आनले पनि राम्रो जनशक्ति उत्पादनमा पहल गरिरहेको छ । 
विज्ञापन क्षेत्रमा पनि अस्वस्थ प्रतिस्पर्धा रहेको उनी स्वीकार्छन् । ‘यो देशमा कुन क्षेत्रमा स्वस्थ प्रतिस्धर्पा छ र ?’ उनी प्रश्न गर्छन्, ‘स्वस्थ्य प्रतिस्पर्धा भएको भए देश समृद्ध बनिसक्थ्यो ।’ 
अस्वस्थ्य प्रतिस्पर्धा गर्नुभन्दा मेहनत गर्न उनको सुझाव छ । ‘म हरेक दिन बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म  व्यस्त हुन्छु, यसरी नै सबैले दुःख गरेमा अस्वस्थ प्रतिस्पर्धा नै गर्नुपर्दैन ।’ 
तीन दशकको अनुभव 
विज्ञापन क्षेत्रमा उनको अनुभव तीन दशक पुगिसकेको छ । २०४६ सालदेखि नै उनले यो क्षेत्रमा काम थालेका हुन् । सुरुमा एउटा काम गर्दा महिनामा १०÷१२ हजार बचत भएपछि साथीहरुसँग मिलेर विज्ञापनको काम सुरु गरेको उनी बताउँछन् । तीन साथी मिलेर वेलकम एडभरटाइजिङ स्थापना गरे । पछि कि एडरभरजाइजीङ सुरु गरेका हुन् । कि एड्भजरटाइजीङ अहिले विज्ञापन बजारमा ‘लिडर’ एजेन्सीमध्ये एक हो । 
यसका लागि धेरै दुःख गरेको र अझै दुःख जारी रहेको उनी बताउँछन् । 
संघर्षका पाना पल्टाउँदै उनले सुरुवाती दिन सम्झिए । बिहे गरेको भर्खर ४ दिन भएको थियो । एक कम्पनीको पोष्टरहरु माइतीघरदेखि ठिमीसम्म टाँस्नुपर्ने थियो । ‘भोलि लञ्च हुँदै थियो, आज बेलुका नै सबै पोस्टर टाँसिसक्नुपर्ने थियो,’ उनी भन्छन्,‘तर पोस्टर टाँस्न जिम्मा दिएको व्यक्ति बेपत्ता भयो, त्यसपछि म र साथी मिलेर रातभरी पोस्टर टास्यौं ।’ 
दिउँसो आफैले पोस्टर टाँस्दा लाज हुने भएकाले बेलुका टाँसेको उनी सुनाउँछन् । यस्ता धेरै दुःखले नै उनलाई सफल बनाएको हो । 
मेहनत र धैर्यता नै यो व्यवसायमा आफ्नो सलफलताको मुख्य कारण भएको रिजाल बताउँछन् । अन्य व्यवसाय जस्तो बिज्ञापन एजेन्सी कामदार राखेर मात्र नचल्ने  र मालिकले नै दुःख गर्नुपर्ने उनी सुनाउँछन् । 
आनको अध्यक्षका रुपमा आर्थिक पत्रकार तथा कर्मचारीहरुलाई समेत बिजनेश क्लब बनाउने योजना समेत उनले अघि सारेका छन् । साथै मिडियासँग सहकार्य गरेर बिज्ञापन बजारलाई अझै व्यवस्थित बनाउने उनको योजना छ । 
प्रस्तुति: पार्वती धरेल 
 

Related News