​सरकारको युद्धविराम तालीवानद्वारा अस्वीकार्य

दृष्टि न्यूज

काबुल, (एएफपी) । अफगानिस्तान सरकारले शनिबार तालिवानसँगको युद्धविरामको समय थपेका भए पनि तालिबानले युद्धविराम बढाउन नमानेको जनाइएको छ । उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेका थिए । युद्धविरामको समय आइतबार मध्यराति नै सकिएको छ । त्यसपछि उनीहरुले उक्त समय लम्ब्याउन नचाहेको जनाइएको छ । 
अफगानिस्तानका राष्ट्रपति असरफ गनिले टेलिभिजन सम्वोधनमार्फत् आइतबारदेखि तीन दिन युद्धविरामको समय बढाएका छन् । उनले समय बढाएर मंगलबारसम्म पु¥याएका हुन् । यसैमार्फत उनले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह गरेका थिए ।
तर तालिबानले भने सरकारको उक्त आह्वानको बेवास्ता गरेका छन् । उनीहरुको संगठनको आधिकारिक वेभसाइटमा राखिएको प्रेस विज्ञप्तिमा ‘युद्धविरामको समय नलम्ब्याइएको’ जनाइएको छ । 
मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इद मनाउन सरकारले युद्धविराम घोषणा गरेको थियो । त्यसपछि उनीहरुले पनि युद्धविराम गरेका थिए । अफगान अधिकारीहरुका अनुसार तालिबानले इदका लागि गरेको यो दुर्लभ युद्धविराम हो ।
अफगान सरकारले युद्धविरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गरेका छन् । उनले तालिबानलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका थिए । तर उनको आग्रह तालिबानहरुले नसुनेझैँ गरेका छन् ।

Related News