​आफ्नै माटोमा गरे के हुन्न ?

दृष्टि न्यूज

पाल्पा, १ जेठ । पाल्पा तानसेन पुग्ने पर्यटकहरुलाई एक पटक रानीमहल पुग्न पाए हुन्थ्यो जस्तो लाग्छ । पहिला पहिला पर्यटकहरु कैलाशनगरबाट हिंडेरै रानीमहल पुग्थे । अहिले तानसेनबाट रानीमहल पुग्ने कच्ची मोटरबाटो बनेको छ । तानसेनबाट ११ किलोमिटरको मोटरबाटो बनेपछि पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्छ । त्यसका लागि रानीमहल पुग्ने पर्यटकका लागि बस्ने, खाने र मनोरञ्जन गर्ने जस्ता आधारभूत आवश्यकताको व्यवस्था गरिनु पर्छ । त्यसमा कालीगण्डकीमा ¥याफ्टिङ, डुंगा चलाउने जस्ता कुरा व्यवस्था गरिन सकियो भने रानीमहलको यात्रा सबैको मस्तिष्कमा अविस्मरणीय हुनेछ ।
त्यसबाहेक रानीमहल दरबारभित्र स्वप्न बगैचा, संग्रहालय, तत्कालीन कमान्डर इनचिफ खड्गशमशेर सम्बन्धी ऐतिहासिक चित्र, उनीहरु बस्ने, खाने, सुत्ने ठाउँहरुलाई व्यवस्थित गर्न सकियो भने रानीमहलमा आउने पर्यटकहरुले यसको ऐतिहासिक महत्व बुझ्ने थिए । तर, दुर्भाग्य पुरातत्व विभागले रानीमहलको जिर्णोद्वार त गरेको छ तर, त्यो भूतबंगला जस्तो छ । रानीमहल वरपर बस्ने, खाने राम्रो होटल छैन । तै पनि दिनहुँ सयौं पर्यटक त्यहाँ पुग्ने गरेका छन् । ती पर्यटकहरुको सुविधाका लागि रानीमहल जाने बाटो औल भन्ने ठाउँमा टंकनाथ घिमिरे भन्ने एक जना स्थानीय युवाले सानो रिसोर्ट टाइपको होटल, रेष्टुरा खोलेका छन् । त्यहाँ आउने पाहनुलाई ताजा तरकारी, माछा, मासु खुवाउन उनी आफैँले माछा पोखरी बनाएका छन् । लोकल कुखुरा पालेका छन् । यसबाट उनले दैनिक कम्तिमा ५ हजार कमाउँछन् । यसैबाट उनको गुजारा चलेको छ । रानीमहल जाने बाटोमा उनले यो रेष्टुराँ खोलेकोले रानीमहल जाँदा आउँदा, खाना, नास्ता खाएर आराम गर्ने थलो बनेको छ उनको रेष्टुराँ । 
पहाडको चिसो पानीमा व्यावसायिक रुपमा माछा पालन र लोकल कुखुरा पाल्न सकियो भने दैनिक १० हजारभन्दा बढी उनले कमाउन सक्छन् । त्यसका लागि उनले कृषि विकास कार्यालय, मत्स्य पालन केन्द्र भैरहवाबाट तालिम पनि लिएका छन् । अमेरिकामा बस्दै आएका पाल्पा तानसेनका प्रो. पुकार मल्लको दायित्व अभियानले उनलाई प्रोत्साहित गर्न केही रकम आर्थिक सहयोग पनि गरेका छन् । तर, स्थानीय बैंकहरुले टंकनाथ घिमिरेजस्ता युवालाई प्रोत्साहित गर्न चुकेका छन् । यदि घिमिरे जस्ता युवालाई उनीहरुको सीपअनुसार स्थानीय निकाय र बैंकहरुले प्रोत्साहन गर्ने हो भने गाउँमा कृषिको लहर फर्कने थियो । बाझा खेतबारी अर्गानिक तरकारी, फलफूलले भरिने थिए । तर, सरकारले भाषणमा युवालाई स्वरोजगार बनाउने, कृषिमा सस्तो ऋण दिने प्रचार गरे पनि लक्षित वर्गले त्यो सुविधा उपभोग गर्न पाएका छैनन् ।
नौ वर्ष साउदी अरबमा काम गरेर फर्किएका घिमिरे भन्छन्– आफ्नै देश स्वर्ग हो । खानै नपाए पनि अब विदेश जान्न । आफ्नै पसिना चुहाएर यही केही गर्छु । साउदी अरबको ५० डिग्रीको गर्मीमा दिनरात घोटिएर काम गरे पनि मासिक २०÷२५ हजार बचत गर्थे । अहिले आफ्नै घरमा बसेर मासिक १ लाख ५० हजार कमाएको छु । सबै खर्च कटाएर मासिक ५० हजार जोगाएको छु । यसैमा मलाई सन्तोष छ । दुई साना बच्चाको हेरचाह, पढाई खर्च यसैबाट चलाएको छु ।
गरे के हुन्न ? दैनिक १२ घण्टा ५० डिग्रीको तापक्रममा अरुको देशमा पसिना चुहाउनु भन्दा हामैै्र घरखेतमा दैनिक ५÷६ घण्टा काम गर्दा बढी कमाउन सकिन्छ । पहिला विदेश भनेपछि पैसा नै फल्छ जस्तो लागेर विदेश गइयो । त्यो पनि एउटा अनुभव हो । म जस्ता लाखौं गाउँले युवा देशमा फर्किएर केही गरे भने देश पनि बन्छ, हामी पनि बन्छौं । 
उनको रिसोर्टमा एक रातको ५ सय सुतेको पर्छ भने एउटा सिंगो लोकल कुखुरा पकाएको १५ सय, २ हजारसम्म पर्छ । गर्मी र जाडोको मौसममा बुटवल भैरहवाबाट एक रात बिताउने, पिकनिक गरेर मनोरञ्जन गर्न आउनेको पनि ठूलो संख्या छ । रिसोर्टमा ४÷५ वटाभन्दा बढी बेड नभएकोले टेन्ड क्याम्पको व्यवस्था गर्न सकिए अझै धेरै पर्यटकले सुविधा पाउने थिए । तर, उनीसँग जाँगर, जोश भएर पनि लगानी गर्ने रकमको अभाव छ । तर, पनि उनको यो सानो रेष्टुराँले रानीमहल आउने जाने स्वदेशी, विदेशी पर्यटकलाई सक्दो सेवा प्रदान गरिरहेको छ ।

Related News