​ विमानस्थलका तीन कर्मचारी प्रहरी हिरासतमा

काठमाडौं, १ मंसिर 
  यात्रुको लगेज चोरी गर्दागर्दै   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तीन कर्मचारीहरु रंगेहात पक्राउ परेका छन् । महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले मंगलबार बेलुका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा बिमल केसी, बिक्रम लामा, बिर्खराज बिक छन् । उनीहरु विमानस्थलमा लोडरका रुपमा काम गर्ने कर्मचारी भएको एसपी गणेश चन्दले बताए । उनीहरुलाई चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । तीन वटा लगेज फुटाएर उनीहरुले चोरी गरेका थिए । 
चार महिनाअघि पनि दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । कर्मचारीहरुले नै चोरी गर्ने भएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ । विमानस्थलमा पटक पटक यात्रुको लगेज चोरी हुने गरेको छ । 
   

Related News