आजदेखि राजधानीमा अटो मेला

दृष्टि न्यूज

काठमाडौं । सवारी साधन सोख मात्र होइन, शहरिया जीवनका लागि आवश्यकता बनिसकेको छ । सोखका लागि आकर्षक र सुविधासम्पन्न सवारी साधन किन्नेहरुको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । सोख र आवश्यकता दुवै प्रयोजनका लागि सवारी रोज्नेहरुका लागि एकै थलोमा हरेक वर्ष अटो मेला हुँदै आएको छ । जुन मेला आजदेखि राजधानीमा शुरु हुँदै छ । 

विद्युतीय सवारी साधानमा जोड 
यो वर्षको मेलामा विद्युतीय सवारी साधनको प्रचार–प्रसारमा जोड दिइएको छ । ६ दिनसम्म चल्ने अटो शोको तयारी पूरा भएको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शम्भु दाहाल बताउँछन् । यस वर्षको  मेलामा विद्युतीय सवारी साधनको जानकारीलाई केन्द्रमा राखिएको उनी बताउँछन् । 
‘अटो शोको तयारी पूरा भएको छ, यसबर्ष हामीले विद्युतीय सवारी साधनको बारेमा नेपाली उपभोक्तालाई जानकारी दिने गरी तयारी गरेका छौं,’ दाहाल भन्छन्, ‘व्यवसायीहरुले पनि सोही अनुसारको प्रचारलाई बढी प्राथमिकता दिएका छन् ।’ 
व्यवसायीले विद्युतीय सवारी साधनको प्रचार प्रसार गर्न खोजे पनि आवश्यक पूर्वाधार भने अझै तयार भइनसकेको व्यवसायीहरुको गुनासो छ । यसको महत्व बुझ्न नसक्दा पनि बिद्युतीय सवारीको बिक्री अपेक्षाअनुसार बढ्न सकेको छैन । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनलगायतका पूर्वाधार विकासमा राज्यले अझै जोड दिनुपर्ने आवश्यकता रहेको अध्यक्ष दाहाल बताउँछन् ।
यस बर्षको नाडा अटो शोमा हुन्डाइ, टाटा, किया, महेन्द्रा जस्ता कम्पनीका चार पांग्रे विद्युतीय सवारी साधनको बारेमा नेपाली उपभोक्तालाई जानकारी दिने छन् । 
नाडा अटोमोबाइल्स एशोसिएसन र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेमेन्टको संयुक्त आयोजनामा नाडा अटो शो हुन लागेको हो । मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् । 
शोमा १९ वटा ब्राण्डका चार पाङग्रे सवारी र २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहने छन् । अटो शोमा नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजका स्टल रहनेछन् । 
यस बर्षको शोमा थप चार ब्राण्डका मोटर साईकल, तीन ब्राण्डको कार थपिएका छन् । मेलाका लागि थप स्पेश आवश्यक भएकोले नयाँ डोम पनि थपिएको आयोजकले जानकारी दिएको छ ।
चार पांग्रे गाडी किन्ने अधिकांशले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर किन्ने गरेका छन् । बैंकिङ क्षेत्रमा तरलताको कमी तथा सरकारले अटो फाइनान्समा गरेको कडाइका कारण अहिले अटोमावाईल क्षेत्रमा मन्दी छ । तर, पछिल्ला दिनहरुमा तरलता सहज हुदै गएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले ऋणको ब्याजदर घटाउन थालेका छन् । यसले पनि अटो व्यवसायमा सकारात्मक प्रभाव पर्ने देखिएको व्यवसायीहरु बताउँछन् । 

यस्ता छन् नयाँ सवारी साधन 
मेलामा विभिन्न नयाँ सवारी साधनहरु समेत सार्वजनिक हुने छन् । संसारकै पहिलो एसयूभी भनेर चिनिने जिप ब्रान्ड कम्पास मेलामा सार्वजनिक गरिने भएको छ ।
शक्तिशाली अफरोड एसयूभीको सबैभन्दा ठूलो लाइनअप भएको जिप गत वर्ष भारत प्रवेश गरेको थियो  ।  यसको मूल्य ६८ लाख ५० हजारदेखि ९६ लाख ५० हजार रुपैयाँ  छ । 
त्यस्तै स्कोडा एमएडब्लूले यस वर्षको नाडा अटो सोमा स्कोडाको पहिलो फुलसाइज्ड एसयूभी कोडियाक सोकेस सार्वजनिक गर्ने भएको छ ।  
आधुनिक युरोपियन डिजाइन रहेको कोडियाकमा स्कोडाको बटरफ्लाई ग्रिल रहेको छ । १८ इन्चको एलोई ह्विल रहेको कोडियाकमा थ्रीडी लुक दिने टेलल्याम्प छ ।  
हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नाडा अटो सोमा हिरो एक्स्ट्रिम २०० ‘आर’ सार्वजनिक गर्दैछ ।  यसले ३९।९ किलोमिटर प्रतिलिटर माइलेज दिने हिरोको स्पोर्ट सेग्मेन्टको मोटरसाइकलको मूल्य दुई लाख ८७ हजार रुपैयाँ छ ।  
टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो सोमा दुईवटा गाडी सार्वजनिक गर्ने भएको छ ।  कम्पनीले विद्युतीय गाडी टाटा टिगोर र नेक्सन क्रेज सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।   
त्यस्तै, बजाजले मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्विन डिस्कलाई नाडा अटो सोको प्रमुख आकर्षणको रूपमा प्रस्तुत  हुने छ  यसमा १५ लिटर पेट्रोल अट्ने ट्यांकी दिइएको छ । पाँच गियरमा उपलब्ध यो बाइकको मूल्य दुई लाख ५५ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो सोमा टोयोटा ‘रस’ बिक्री गर्ने छ ।  कम्पनीले गत साउन पहिलो हप्ता टोयोटा रस सफ्ट लन्च गरेको थियो । चारवटा भेरियन्टमा उपलब्ध कारको सुरुवाती मूल्य ६१ लाख ९० हजारदेखि ७५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । 
होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ होन्डा एक्स ब्लेड नेपाली बजारमा सार्वजनिक गरेको छ । भदौ १८ गते नेपाली बजारमा सार्वजनिक गरिएको मोटरसाइकल नाडा अटो सोको प्रमुख आर्कषक हुने कम्पनीको दाबी छ ।  
महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले भदौ ११ गते ‘सनरूफ’सहित प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले नाडा अटो शोलाई लक्ष्य गरी कार सार्वजनिक गरेको जनाएको छ । गाडीको सुरुवाती मूल्य ६१ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

Related News