​एजेन्डा सकिएपछि घृणाको राजनीति

विशाल छेत्री । हामी नेपाली संसारकै भयप्रद र अस्तव्यस्त घटनाका साक्षी बन्यौँ । अब सुखी, समृद्ध र सद्भावपूर्ण समाजका सदस्य बन्न चाहन्छौँ । तैपनि, कथित विकसित पश्चिमा जगत, जो दुनियाँलाई शासन व्यवस्था र अर्थनीतिका प्रतिमानी मोडलहरू सिफारिस गर्छ, ले हामीलाई अहिले पनि जातीय पहिचानमा आधारित राज्यको संरचना मात्रै होइन, एउटै मुलुकभित्र अनेक खालका राष्ट्रियताको सिफारिस गरिरहेछ । उसका सिफारिस हाम्रा केही दल र बौद्धिक तप्कामा भट्याइँदै छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प र भारतमा नरेन्द्र मोदीको उदयले नेपालका पुरातनपन्थी एवं दक्षिणपन्थीहरु हौसिएका छन् । पूर्वपञ्च, कुलीन, धर्मवादी, सम्प्रदायवादीहरु एक ठाउँमा उभिएका छन्, प्रगतिशील एकताका विरुद्ध । र, यिनले देशमा नश्लीय, सांस्कृतिक र जातीय असहिष्णुताको पैरवी गरिरहेछन् । साथै, समाजलाई विभक्त, विखण्डित र घृणामा आधारित राजनीतिमा जबरजस्त धकेल्दै छन् । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं घृणा, द्वेष र विषवमनको राजनीति गर्दै छन् । स्वस्थ प्रतिस्पर्धा र एजेन्डाको राजनीति उनीबाट अपेक्षा गर्नु व्यर्थ भएको छ ।
इमानदारीपूर्वक स्वीकार गरौँ, राजनीति गर्ने यो शैली एवं चेतना मानव समाज र सभ्यताको विकासक्रमलाई रोक्ने र उल्टो दिशामा धकेल्ने खालको छ । वर्तमानमा एउटा मानव आफ्नो जाति वा सम्प्रदायको सदस्य (एथ्नोज)को रुपमा होइन, जन (डेमोज)का रुपमा चिनिन चाहन्छ । जहाँ जन वा गण हुन्छ, त्यहाँ उसको वैयक्तिक र सार्वभौम गुण हुन्छ । स्वाभिमान, सार्वभौमसत्ता र स्वत्वको चेतना हुन्छ । तर, यहाँ गणतन्त्र नेपालको नागरिकले कविला राज्यको सदस्यका रुपमा विचार तथा आकांक्षाको निर्माण गर्नुपर्ने बाध्यता लादिँदै छ । प्रधानमन्त्री देउवा त्यसैका प्रवक्ता भइरहेका छन् । यो केवल भूल वा त्रुटिपूर्ण प्रयास मात्र छैन, भयानक षड्यन्त्रको कडी हो ।
आजको संवाद, अन्तक्र्रिया, समाचार, मिडिया र सूचना प्रविधिको युगमा केवल प्रधानमन्त्रीको वाणीमा आधारित धारणाको निर्माण गणतन्त्रका नागरिकले गरेका त हुँदैनन् । यो कुरा प्रधानमन्त्री स्वयंले हेक्का राख्नुपर्ने हो । प्रायः सबै समाजमा मानिस परिवर्तन चाहन्छन् । खुलापन चाहन्छन् । विकल्प चाहन्छन् । विकल्पमा छनोटको अधिकार चाहन्छन् । यसैलाई सार्वभौमिकताको प्रयोग भन्न सकिन्छ । तर, त्रास र भयको जालो फिँजाएर म जे भन्छु त्यही सही हो वा खाए खा नखाए घिच् भन्ने शैलीमा प्रधानमन्त्री चल्न खोज्नु भनेको सार्वभौम नागरिकको अपमान हो । आजको युगीन चेतनायुक्त समुदायको मानर्मदन हो । सार्वभौम नागरिकको स्वतन्त्र विवेकको प्रयोग र छनोटको अधिकारमाथिको प्रहार हो । यसले उन्नत लोकतन्त्रको विकासमा मद्धत पु¥याउँदैन । अझ राज्य मुख्तियारबाटै भय र असुरक्षाको भाव पैदा गरिन्छ भने या त त्यो लोकतान्त्रिक व्यवस्था होइन, या त व्यवस्थाका वाहक लोकतन्त्रप्रति समर्पित र जिम्मेवार छैनन् भन्ने स्पष्ट हुन्छ । अझ भन्दा यो राज्यको चेतनास्तर अझै कविलायुगको चेतनाबाट माथि उठ्न सकेको छैन भन्ने विडम्बनापूर्ण निष्कर्षमा पुग्नुपर्ने हुन्छ । किनभने, देउवालाई त्यो स्थानमा पु¥याउन नेपाली जनताको मत प्रयोग भएको छ । 
वास्तवमा अहिले नेपाली जनताले भय होइन, भरोसा खोजेका छन् । घृणा र द्वन्द्व होइन, सौहाद्र्र र स्वस्थ प्रतिस्पर्धा खोजेका छन् । पृथकता होइन, एकता खोजेका छन् । ०६२÷६३ को आन्दोलन, शान्ति प्रक्रिया, संविधानसभामार्फत् संविधान निर्माण र हालैका निर्वाचनहरुमा नेपाली जनताको उत्साहजनक सहभागितासँग जीविका र रोजगारीका सम्भावनामा सुधारको उत्कण्ठा पनि जोडिएको छ । तसर्थ, यो निर्वाचन केवल कर्मकाण्ड र नेताहरुको तुष्टि पूरा गर्नका निम्ति मात्रै होइन, जनभावना बुझ्न नसक्ने नेतृत्वलाई त्याग्ने वा सवक सिकाउने अवसर पनि हो । 
हो, हाल राजनीतिक नेतृत्वमा जुन पुस्ता हावी छ, त्यसले एजेन्डाको राजनीति गरेन । केवल संसदीय गणित र असंसदीय चलखेलमा विश्वास ग¥यो । धोकाधडी र झुटा आश्वासनमा पारंगत भयो । जनतामा भ्रमजाल फैलाउने र सत्ताको अँध्यारोमा विलास र ऐयासमा रमाउन उद्यत भयो । नेपाली जनताको राजनीतिक तथा आर्थिक अभिलाषा वा व्यग्रताहरूको समुच्चयलाई बुझ्नै सकेन, चाहेन । त्यसैले नयाँ सैद्धान्तिक विचार र अभ्यासका आवश्यकता र सम्भावनाबारे बहस गर्न सर्वथा असफल देखियो । विगतका त्रुटि र सीमालाई स्वीकार गर्ने, तीबाट सिकेर अगाडि बढ्ने र वर्तमान समाजका यथार्थ सुहाउँदा नयाँ विकल्प खोज्ने साहस र तप्परता पनि देखाएन । 
नयाँ संविधान घोषणासँगै नेपालको राजनीतिक इतिहासको एउटा प्रमुख अध्याय समाप्त भएको थियो । अब हामीले अघिल्ला युगका सकारात्मक पाठ समेटेर र नकारात्मक पाठ त्यागेर नयाँ युगमा प्रवेश गर्नुपर्छ भन्ने सन्देश हालको नेतृत्वले दिन सक्नुपर्ने हो । एउटा महत्वपूर्ण राजनीतिक सिलसिला सम्पन्न भइसकेपछि अब आर्थिक विकासमा केन्द्रित हुने बेला आएकोमा आशाका किरण छर्न सक्नुपर्ने हो । संविधानमा लेखिएका राजनीतिक प्रावधानहरूलाई कार्यान्वयन गर्न आवश्यक क्षमता र स्रोत–साधनका लागि आर्थिक विकास जरुरी छ । ३१ वटा मौलिक हक संविधानमा सुन्दर बान्कीका साथ सजाउँदैमा नागरिक सन्तुष्ट हुने छैनन् । तिनको कार्यान्वयन गर्न बेग्लाबेग्लै अर्थतन्त्रको निर्माण गर्नुपर्ने हुन्छ । त्यसकारण पनि अब सारभूत रुपमा संविधानको कार्यान्वयन गर्न हामी अग्रसर भयौँ है भन्ने सन्देशसहितको आह्वान आजका युवा सुन्न चाहन्छन्, ताकि अब खाडी र मलेसियमा भविष्य खोज्नु नपरोस् ।
तर, विडम्बनापूर्वक भन्नुपर्छ, यो भ्रष्ट र अदूरदर्र्शी नेतृत्वबाट नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारीको आधारभूत अधिकार प्रत्याभूत गर्न सक्दैन । तसर्थ, दूषित, भ्रष्ट राजनीतिक संस्कारबाट अलग हुने साहस कम्तीमा लोकतन्त्र पक्षधर तप्काले गर्नैपर्छ । कांग्रेस पार्र्टीप्रति प्रतिबद्ध समुदायले यस्ता भ्रष्ट र पाखण्डपूर्ण नेतृत्व रहेसम्म त्यसबाट अलग्गिने र सबक सिकाउने हिम्मत गर्नुपर्छ । र, नयाँ आर्थिक परिकल्पनासहितको एजेन्डायुक्त राजनीतिक कित्ता रोज्न तयार हुनुपर्छ, जसले राष्ट्रियता, राष्ट्रिय समृद्धि, सामाजिक सद्भाव र राष्ट्रिय स्वाभिमानयुक्त भावधारा जगाउन सकोस् ।
नयाँ संविधानको घोषणासँगै नेपाल संघीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष, समावेशी गणतन्त्र भएको छ । यी राजनीतिक उपलब्धि हुन् । यिनलाई नेपाली जनताको बृहत्तर हिस्सासम्म पु¥याउनु छ । तर पनि संविधान घोषणापछि यो मुलुकको अगुवा राजनीतिक शक्ति नेपाली कांग्रेसको नेतृत्व पुरानै शैलीमा फर्किनु अत्यन्त दुःखदायी र लज्जास्पद छ । हाम्रो लक्ष्य सार्वभौमसत्ता, आर्थिक समृद्धि, जवाफदेहिता, पारदर्शिता, दिगोपन र समावेशी सहभागितामूलक लोकतन्त्र हो । यी लक्ष्य हासिल गर्न नेपाली राजनीतिलाई इमानदार तथा आदर्श रणनीति, नीति, शैली र संस्कृतिले सुसज्जित गर्ने समय हो यो । एउटा स्वस्थ र सुग्घर संस्कार स्थापित गर्ने बेला हो यो । देश राजतन्त्रबाट गणतन्त्र, द्वन्द्वबाट शान्तिपूर्ण राजनीति र असमावेशी राज्य संयन्त्रबाट समावेशी लोकतन्त्रमा प्रवेश गरिरहँदा हाम्रो संस्कार, सोच र चेतनाचाहिँ पुरानै बोकिरहने ?
नयाँ संविधानको सफलता आउँदा दिनमा स्थिर र शान्त नेपालका लागि मार्ग प्रशस्त गर्न सकेमा मात्र हुनेछ । यस निम्ति नयाँ संविधानमा केही आशाजनक प्रावधान छन् । यिनको निष्ठापूर्वक व्यवहारमा प्रतिविम्बित गर्ने शक्तिको छनोट गर्ने जिम्मेवारी नेपाली जनताको काँधमा आएको छ । अबको राजनीतिक अभ्यास नैतिकताको उच्च धरातल र पूर्ण पारदर्शितामा आधारित हुनुपर्छ, धोकाधडी र धम्कीमा आधारित होइन भन्ने सन्देश यो निर्वाचनमा दिनुपर्छ । आजका दिनमा हेर्दा कांग्रेसको विचार र व्यवहार समावेशी लोकतन्त्र र राष्ट्रिय सार्वभौमसत्ताको विरोधी छ । आज धेरै नेपाली कमजोर भइरहेको सार्वभौमसत्ता र नेपालको भौगोलिक अखण्डतामाथिको सम्भावित खतराप्रति चिन्तित छन् । उनीहरु परिपक्व विदेश नीति र यसको आत्मसम्मानपूर्वक, इमानदारी र स्थिरतापूर्वक कार्यान्वयन भएको हेर्न चाहन्छन् । आन्तरिक राष्ट्रियताको सबलीकरणका निम्ति नेपालका सबै जातीय तथा भाषिक समुदायहरूको भावनात्मक एकीकरण आवश्यक छ नकि पृथकता र घृणा । आफ्नो एकाधिकार कायम राख्न, अदृश्य शक्तिप्रति बफादारी प्रमाणित गर्न कांग्रेस नेतृत्वबाट आज जुन काम भइरहेका छन्, त्यसले राज्यतन्त्रलाई अस्थिर त बनाउने नै छ, अवाञ्छित विदेशी हस्तक्षेपलाई थप आकर्षित गर्नेछ ।
त्यसकारण हाम्रो जीवनकालमा हामी नेपाली जनतालाई समृद्धि दिन सक्छौँ भन्ने स्पष्ट आधार दिने र आशाको सञ्चार गर्ने शक्तिलाई रोजौँ । विभाजन होइन, एकता । पृथकता होइन, सद्भाव । गरिबी होइन, समृद्धिको वितरण । कम्तीमा यति प्रतिज्ञा चाहिन्छ आजको दिनमा । यसले नै आज कठिन परिस्थितिमा बाँचिरहेको समुदायले पनि राष्ट्रिय भावधारामा समाहित भई समृद्ध भविष्य निर्माणका निम्ति उत्प्रेरित गर्नेछ ।

Related News