​एकताको विकल्प छैन

दृष्टि न्यूज

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया छलफलमा छ । यसका निम्ति पार्टी एकता संयोजन समिति र कार्यदलहरुले समानान्तर रुपले काम गरिरहेका छन् । दुवै दलका पार्टी प्रमुखहरु पनि घनिभूत छलफलमा छन् । गएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी दुवैले संयुक्त रुपमा घोषणापत्र जारी गरेका थिए । त्यही घोषणापत्रमा अपार जनसमर्थन प्रकट भएका कारण पनि पार्टी एकता अपरिहार्य बन्दै गएको छ । यति मात्र होइन, निर्वाचनताका ती दुवै दलका नेताले चुनावलगत्तै पार्टी एकता गर्ने र मुलुकलाई राजनीतिक स्थायित्व दिने वचनसमेत जनताले दिएका छन् । त्यो वचन जनताले पत्याएर नै यसपटक बाम गठबन्धनलाई अत्यधिक बहुमत दिएका हुन् ।
निर्वाचन आयोग र नेपाली कांग्रेसको सरकारको बेइमानीपूर्ण साँठगाँठका कारण मतपपरिणाम ढिलो सार्वजनिक भए पनि अब नयाँ सरकार बनाउन धेरै समय कुर्नुपर्ने छैन । निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरिसकेपछि तत्काल नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । पूर्व सहमतिअनुसार नयाँ सरकारको नेतृत्व बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने भएपछि पार्टीको नेतृत्व आफूले पाउनुपर्ने दाबी माओवादी अध्यक्ष प्रचण्डले गरेको बताइएको छ । तर, एमाले नेतृत्व तत्काल पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नेभन्दा पनि एकीकरण प्रक्रियालाई विधिसम्मत तरिकाले टुंगो लगाउने र त्यसनिम्ति नेतृत्व, व्यक्तित्व, पार्टीका संगठन र सैद्धान्तिक पक्षमा बहस चलाउँदै जानुपर्ने पक्षमा रहेको बुझिन्छ । यहीँनिर आएर पार्टी एकता र सरकार निर्माणको प्रक्रियामा केही दुविधा देखिन्छ । दुई दलबीच देखिएको यो अलमल र दुविधाले कतै निर्वाचनमा अभिव्यक्त जनमतप्रति घात पो हुने हो कि भन्नेसम्मका आशंका व्यक्त भएका छन् । 
अर्कोतिर एमालेभित्रै पनि जिम्मेवार नेताहरुका अभिव्यक्ति र अभीष्ट फरकफरक रुपमा अभिव्यक्त भएका छन् । त्यसले एकता प्रक्रियालाई सहज रुपमा निष्कर्षमा पु¥याउन सहयोग गर्नेभन्दा एमाले र माओवादीको नेतृत्व पंक्तिमा आशंका पैदा गर्न मद्दत गरेको छ । यसले गर्दा बाम एकता केवल गठबन्धनमै सीमित हुने त होइन भनेर प्रश्न गर्न थालिएको छ । बाम एकताले देशव्यापी आशा र उत्साहको सञ्चार गरेको थियो । राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको सपनामा नेपाली जनता एकाकार भइसकेका थिए । तर, चुनावी गठबन्धन केवल अहिले आएर सत्ता गठबनधन मात्र बन्ने हो भने त्यो नेताहरुको धोका र बेइमानी सावित हुनेछ । विगतमा संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर सुँगुरको मासु बेच्ने थलोका रुपमा परिभाषित गरिन्थ्यो । त्यही प्रवृत्ति पुनः चरितार्थ हुने अवस्था आउन दिनुहुँदैन । बाम एकताको नारामा जनतालाई भुलाएर चुनावमा शक्ति आर्जन गर्ने, अनि चुनावपछि आ—आफ्नै स्वार्थको डम्फू बजाउने दुश्चेष्टा गर्नुहुँदैन ।
हो, संविधानसभाको गठन, गणतन्त्रको घोषणा, संविधान जारी हुँदै आजको विन्दुसम्म राजनीतिलाई ल्याइपु¥याउन आजका नेतागणको ठूलो योगदान, त्याग, तपस्या र अडानले काम गरेको छ । तर, त्यसको प्रतिफल आजै पाउनुपर्छ र आफूले भनेकै स्वरुपमा पाउनुपर्छ भन्ने अडान राख्यो भने हिजोको त्यागको कुनै अर्थ रहँदैन । हिजोभन्दा झन् बढी उदात्त चित्तले सोचेर निर्णयमा पुग्नु उचित हुन्छ । राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि पनि वाम एकता हुनु आवश्यक छ । गठबन्धनको जगमा उभिएकोे सरकार कति बलियो हुन्छ भन्ने कुरा स्वयं केपी ओलीले भोग्दै आएको कुरा हो । त्यसैले गठबन्धनलाई जारी राख्दै ओलीको नेतृत्वमा सरकार गठन हुने कुराले सरकारको आयुमाथि जहिले पनि शंका गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले स्थिर सरकारका लागि पनि एकता हुनु जरुरी छ । एकता नेताको स्वार्थमा होइन, देश र जनताको स्वार्थमा गरिनुपर्छ ।

Related News