​अकूत सम्पत्ति कमाउने हाकिममाथि मुद्दा दायर

काठमाडौं, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, उत्पादन सञ्चालन तथा संभार विभागका पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जनमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठविरुद्ध सार्वजनिक सेवाको पदमा रहँदा मर्यादाविपरीतका कार्य गरी स्रोत पुष्टी हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेको हुँदा आवश्यक छानबिन गरी आज मुद्दा दायर गरेको छ । 
नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिष्टेन्ट ईन्जिनियर पदमा २०३६ चैत ५ मा नियुक्ति भई तह तह बढुवा सरुवा भएर प्राधिकरणको, उत्पादन तथा सञ्चालन तथा संभार विभागको महाप्रबन्धक र प्राधिकरणको का.मु. कार्यकारी निर्देशक भई २०७० साउन ९ देखि अनिवार्य अवकाश भएका हुन् । उनले जागिर अवधिमा आय व्ययको विवरण र आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्वन्धमा तथ्य प्रमाणहरुलाई छानबिन एवं विश्लेषण गरी हेर्दा उनले आय आर्जन गरेको वैध आयको तुलनामा रु.२ करोड ८८ लाख ८२ हजार ८ सय ९१ बराबरको सम्पत्ति आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरानूनीरुपबाट आर्जन गरेको देखिएको जनाएको छ ।  मानसिव कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको देखिन आएबाट उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टी हुन आएको उल्लेख छ । उनीविरुद्ध बिगो रु.२ करोड ८८ लाख ८२ हजार ८ सय ९१ बराबर कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजाय माग गरिएको छ ।
उनले भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्तिहरु उनी र उनकी श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्रलाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा बदनियत साथ राखेको तथा लुकाए छिपाएको पुष्टी हुन आएको हुँदा त्यस्ता सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदपा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत गर्ने मागदावी लिई सोही प्रयोजनका लागि उनका परिवारहरुलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

Related News