​अमेरिकामा भाइरल हुँदैछन् विनोद चौधरी

डा. प्रदीप भट्टराई । नेपालका एकमात्र फोब्र्स बिलिनियर विनोद चौधरी यतिबेला अमेरिका भ्रमणमा छन् । उनको भ्रमणलाई लिएर यतिबेला पाताल प्रवासतिरको सामाजिक सञ्जाल गर्माएको छ । उनको पक्षमा मात्र हैन, विपक्षमा पनि धारणाहरू सार्वजनिक भएका छन् । उनीसँग खिचिएका तस्वीरमा गौरव गर्नेहरूको संख्या मात्र छैन, नखिच्दा खुशी हुनेहरूको संख्या पनि कम छैन ।
आमसञ्चारको भाषामा वर्ड अफ माउथ मात्र हैन, सामाजिक सञ्जालमा भाइरल नै भएका छन् विनोद चौधरी । उनको नाम र गतिविधिले पक्ष वा विपक्षमा हिट मात्र सिर्जना गरिरहेको छैन, खासगरी पातालमा रहेको नेपाली डायस्पोराका न्यूज पोर्टलहरूको अलेक्सा उकास्ने र गुगल एडसेन्ट बढाउने काम पनि गरेको छ ।
म यतिबेला अमेरिकामा नभएर काठमाडौंमा छु । तर, समय र परिस्थितिले मलाई पनि अमेरिकाको नेपाली डायस्पोरालाई नजिकबाट थोरै भए पनि चिन्ने मौका दिएको छ । यो नेपाली डायस्पोरा अपवादलाई छोडेर या त धेरै महत्वाकांक्षीहरूको जमात हो या धेरै निराशहरूको समुदाय । यहाँ पुग्नेहरू या त नेपालमा केही नै हुदैन भनेर निराशाको पराकाष्टामा पुगेका छन् या अमेरिकामा सुनको फुल पार्ने कुखुरी भेट्ने महत्वाकांक्षा लिएर । भनाइ नै छ, अत्यन्त फ्रस्ट्रेट वा एम्विसियस मान्छेले आफ्नो विवेक गुमाएको हुन्छ, ऊ आफ्नो फ्रस्ट्रेसन देखाउन र महत्वाकांक्षा पूरा गर्न जे पनि गर्छ । मूलत: अमेरिकाको सक्रिय नेपाली डायस्पोरा यही मनोविज्ञानमा आधारित छ । अपवादलाई छोडेर अध्ययनका लागि गएका र अमेरिकामै आफ्नो प्रोफेसनमा जमेकाहरुलाई यतातिर भिड्न खासै फुर्सद हुँदैन । यसोभन्दा धेरैलाई मन नपर्ला तर यही नै धरातलीय यथार्थ हो 
सन्दर्भ विनोद चौधरीको हो, यो स्तम्भकार विनोद चौधरीलाई नजिकबाट चिन्नेहरूमा पर्छ । मैले उहाँ संस्थापक अध्यक्ष रहेको नेपाल उद्योग परिसंघको निर्देशकदेखि चौधरी ग्रुपमा मिडिया कन्सलट्यान्टका रूपमा काम गरेको छु । धेरै फोरमहरूमा उनीसँगै काम गर्ने मौका पाएको छु । र, उनीसँग सोच र कोण नमिल्दा म तपाईको जोजोम्यान हैन, तपाईंको जागीर तपाईं नै खानुहोस् भनेर बीचैमा छोडेर हिंडेको पनि छु । तर, जे भए पनि हामीबीच एक किसिमको प्रोक्सिमिटी छ । उहाँ मलाई माया गर्नुहुन्छ, म उहाँलाई सम्मान । हामी दुबैलाई थाहा छ, यो संसारमा कोही पनि कसैका लागि अपरिहार्य हैन ।
आमसञ्चारमा प्रोक्सिमिटी समाचारको एक अभिन्न अंग हो । र, यो आफैंमा अनइथिकल पनि हैन । तर, आमसञ्चार र पत्रकारिताका बारेमा सैद्धान्तिक ज्ञान नभएकाहरू यसलाई अन्यथा बुझ्ने गर्छन् । प्रोक्सिमिटीका बारेमा सकारात्मक अर्थमा बुझ्दा यही नै काफी हुन्छ, काठमाडौं डेटलाइनमा समाचार लेख्दा यहाँ पाँच कुकुर मारिए अनि भारतमा पाँच भारतीय मारिए भने समाचारको पिरामिडमा लोकल कुकुर मरेकै समाचार माथि चढ्छ । तर, त्यसलाई एडिटोरियल मिक्सले भने निर्देशित गरेको हुनुहुन्न । यसलाई बुझ्न अरू लम्ब्याउन सकिन्छ, तर यो अंकको स्तम्भ त्यो शिक्षा दिने उद्देश्यमा छैन ।
मैले चिनेको विनोद चौधरी कुनै देउता हैनन् । उनी एक भिजिनरी, कडा परिश्रम गर्ने, अनुशासित र महत्वाकांक्षी ट्रु बिजनेसम्यान हुन् । यसबाहेक उनीसँग संविधानसभाको सदस्य, लेखक, गीतकार, गायक, चलचित्र निर्माता, परोपकारी, समाजसेवी अरू थुप्रै ट्याग उपमा जोडेर प्रशंसाको पुल बाँध्न सकिएला, त्यो बेग्लै पाटो हो । यथार्थमा उनी एक सफल व्यवसायी हुन् । यसमा भाग्यभन्दा कर्मले नै अहम् भूमिका खेलेको छ । उनको स्वभावजन्य कमजोरीमा उनी छिट्टै रिसाउने स्वभावका छन् । तर, आफ्नो निर्णय गलत हुँदा महसुस गरेर स्वीकार्ने राम्रो बानी पनि छ ।
विनोद दाइ, समय र स्थानले सन्दर्भ बनाउँछ र त्यही अनुसार मानिसको उपयोगिता हुन्छ भन्ने पाराडाइममा विश्वास गर्छन् । उनले भने जस्तै, उनी दिउँसै सपना देख्छन् र त्यो प्राप्त गर्न रातभर सपनाको पछि लाग्छन् ।
तिनै सन्दर्भ बुझ्ने विनोद दाइ यतिबेला अमेरिकामा भाइरल भएका छन् । उनी, मूलत: अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले नेपालको विनाशकारी भूकम्पपश्चात सञ्चालित परोपकारी कार्यमा पुर्याएको योगदानका लागि ‘एशियन म्यान अफ द इयर’ अवार्ड  ग्रहण गर्न अमेरिका पुगेका हुन् । योसँगै गैरआवासीय नेपाली संघको यही अगष्ट २७ र २८ मा न्युजर्सीमा आयोजना हुन लागेको नवौ क्षेत्रीय सम्मेलनमा उनी कि स्पिकर छन् । यहीबीचको समय सदुपयोग गर्न उनी अमेरिकामा बाक्लो नेपाली डायस्पोरा रहेका ठूला सहरमा रहेका नेपालीलाई आफ्नो सफलताको कथा सुनाउँदैछन् । उनी अमेरिकामा सञ्चालन गर्ने आफ्ना तीनवटा योजनाका बारेमा मत संकलन गर्दैछन् । सारमा, उनी आफ्नो ब्रान्डिङ गर्दैछन् ।
बताइए अनुसार विनोद दाइ अमेरिकाको पश्चिमतटीय राज्यका केही सहरमा अन्तरक्रियामा सहभागी हुँदै पूर्वीतटिय राज्य मेरिल्याण्डको बाल्टिमोर पुग्नेछन् । र, गार्डेन स्टेट न्युजर्सीमा आयोजना हुने एनआरएनको नवौं क्षेत्रीय सम्मेलनलाई सम्वोधन गरेर सम्भवत: यसपटकको अमेरिका भ्रमणको बिट मार्नेछन् ।
भ्रमण अगाडि बढ्दै जाँदा उनी थप भाइरल हुने सम्भावना बढ्दो छ । सामाजकि सञ्जालहरुको प्रारम्भिक मुड हेर्दा यो यात्राका क्रममा उनले सँगै फोटो खिच्नहरूको ताली मात्र पाउने हैन, ती ताली लगाउनेसँग मन फाटेकाहरूको गाली पनि पाउनेछन् । विनोद दाइले के बुझ्न जरूरी छ भने अमेरिकामा आफ्ना कारणले भन्दा अर्काको कारणले गाली र ताली पाइन्छ । अहिले जसले ताली लगाइरहेका छन्, उनीहरूसँग नमिल्नेहरू स्वत: विनोद दाइलाई गाली गर्ने कित्तामा पुगिहाल्छन् । यसमा विनोद दाइले केही गर्नै पर्दैन ।
यो सबै अमेरिकामा रहेको नेपाली डायस्पोराको अति ध्रुवीकरणका कारण भएको हो । विनोद दाइ अमेरिकामा एनआरएनका च्याप्टरहरूलाई आफ्नो फोरम प्रयोग गरिरहेका छन् । यो फोरमको विरूद्धमा चुनावी मुद्दा नै टेनेसी कोर्टमा छ । त्यसैले टेनेसी कोर्टमा मुद्दा लिएर जानेहरूमध्ये अधिकांशलाई विनोद चौधरी मन पर्दैनन् । अरू पनि थुप्रै फ्रयाक्सनहरू छन् अमेरिकाको नेपाली डायस्पोरामा जसका कारण विनोद चौधरी धेरैका लागि मन नपर्ने नाम हुन सक्छ ।
मेरो विचारमा विनोद चौधरी दुधले धोएका बिराला हैनन् । जस्तो नेपाल छ, नेपाली छन् त्यही मुलुक र मुलुकबासीका डलर बिलियनर हुन् उनी । उनी एक सफल व्यवसायी हुन् त्यसैले व्यवसायमा सफल हुन चाहनेहरूले उनीबाट धेरै गुरूमन्त्र पाउन सक्छन् । उनी यतिबेला अमेरिकामा केही गर्ने सोच र कोणका साथ नेपालीहरूसँगै अन्तरक्रियामा छन् । यसलाई सकारात्मक रूपमा लिदा नै राम्रो होला । उनले धनी हुन् के गरे, के गरेनन् त्यो राज्यको नियमन निकायहरूलाई छोडिदिउँm । कानून हातमा लिएर कसैलाई सत्तोसराप गर्ने काम एक सभ्य नागरिकलाई सुहाउने कुरा पनि हैन ।
म त प्रोक्सिमिटीमा विश्वास गर्छु, अरू मुलुकका धेरै बिलियनर होलान् । तर, एउटा हरियो राहदानी बोक्ने नेपाली पनि त बिलिनियर छ । यसो भन्दा, हामीले हीनता बोक्नु भन्दा गर्व गर्दा नै राम्रो होला । 
विनोद दाइ एक सफल मान्छे हुन् । भनाइ नै छ, सफल त्यो हो जसका शत्रु धेरै हुन्छन् अनि असल त्यो हो जसका मित्र धेरै हुन्छन् । सबै नेपालीलाई जितेर फोब्र्स बिलिनियर बनेका सफलतम् विनोद दाइलाई मैले के बताइरहनु पर्ला र? तर, पनि एउटा कुरा, अरिस्टोटलले भनेका छन् सत्य छेउमा हुँदैन, कतै बीचमा हुन्छ । विनोद दाइका बारेमा पनि अति प्रशंसा र अति निन्दा दुबै हितकर हँुदैन । किनकि, अति गालीले मान्छे राक्षस र अति प्रशंसाले मान्छे भगवान हुँदैन । विनोद दाइलाई पनि मान्छे मात्र हुने इच्छा होस् । आगे, यहाँकै मर्जी .. आगे उनीहरू नैजानून् ।

Related News