पवन कार्कीलाई फर्काउन मिल्दैन : अमेरिका

दृष्टि न्यूज

क्यापिटल मर्चेन्ट ठगी प्रकरण
काठमाडौं, १२ भदौ । सर्वसाधारणको सवा अर्ब रुपैयाँ हिनामिना गरी अमेरिका पुगेका क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका तत्कालीन प्रबन्ध सञ्चालक पवनकुमार कार्कीलाई फर्काउन अमेरिकी सरकारले अस्वीकार गरेको छ । कारोबार दैनिकमा खबर छ । 
अमेरिकाले कार्कीविरुद्ध आफ्नै कानुनअनुसार मुद्दा चलाउन सकिने विकल्प रहेको भन्दै उनलाई फर्काउन अस्वीकार गरेको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । कार्की बैंकिङ कसुर अभियोगमा पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासबाट दोषी ठहर भइसकेका छन् भने नेपाल प्रहरीले पनि उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । 
अर्बौं रुपैयाँ घोटला गरी मुलुक छोडेका कार्कीलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अमेरिकी सरकारसमक्ष औपचारिक तथा अनौपचारिक रूपमा पहल गरेको थियो । विश्वका प्रहरीहरूको साझा संगठन इन्टरपोलले पनि अमेरिकी प्रहरीलाई पत्राचार गरी कार्कीलाई पक्राउ गर्न आग्रह गरेको थियो ।
क्यापिटल मर्चेन्टको ३ अर्ब ३८ करोड ५९ लाख ४८ हजार रुपैयाँ हिनामिना प्रकरण राष्ट्र बैंकमा पुगेपछि कार्की सन् २०११ जुन १९ मा नेपालबाट अमेरिका भागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ । 
राष्ट्र बैंकको पत्राचारपछि ब्युरोले ५ वर्षदेखि उनलाई नेपाल फिर्ताको पहल थालेको थियो । फर्जी फर्मका नाममा धितो प्रवाह गरेर बैंक डुबाएको अभियोगसहित उनीविरुद्ध नेपाल राष्ट्र बैंकको जाहेरीअनुरूप ४० थान मुद्दा दायर गरिएको थियो । 
स्रोतका अनुसार कार्कीलाई फिर्ता गर्न नेपाल प्रहरीले अमेरिकी इन्टरपोल र त्यहाँको ‘जस्टिस डिपार्टमेन्ट’का अधिकारीहरूसँग पटक–पटक द्विपक्षीय छलफल गरेको थियो ।
छलफलमा उनीहरूले कार्कीले अमेरिकाको नागरिकता लिइसकेकाले आफ्नो देशको नागरिक अन्य मुलुकलाई बुझाउन नसकिने जवाफ दिएका छन् । नेपालबाट प्राप्त तथ्य र प्रमाणका आधारमा अमेरिकी अदालतले कार्कीलाई दोषी ठहर गरे उनको स्वामित्वमा भएका चलअचल सम्पत्ति भने फिर्ता गर्न सकिने उनीहरूले स्पष्ट पारेका छन् ।

Related News