प्रेम भन्ने शब्दबाटै डर लाग्छ -अमृता लक्सम, गायिका तथा मोडल

दृष्टि न्यूज

सानैदेखि नृत्य र गायन भनेपछि हुरुक्कै हुन्थिन् अमृता लक्सम ‘इतुसा’ । स्कुल पढ्दै उनी स्टेजमा खुबै नाच्थिइन् । तर, उनको चाहन भने गायनप्रति थियो । उनी जति नाच्छिन्, त्योभन्दा राम्रो गाउँछिन् । मोडलिङ र अभियन समेत गर्दै आएकी अमृता ७ वर्षअघि गायिका बन्ने रहर बोकेर झापादेखि राजधानी भित्रिइन् । तर, उनका लागि राजधानी विरानो थियो । विरानो ठाउँमा केही नलागेपछि उनका इच्छा अधुरै बन्यो । ती अधुरा इच्छाहरुलाई दुवई पुगेर उनले पूरा गर्दैछिन् । ६ वर्षयता दुवई बस्दै आएकी अमृताले भनिन्, ‘मेरो इच्छाहरु यहाँ आएपछि पूरा भएको छ ।’ मोडल तथा गायिका अमृतासँग एमपी सुब्बाको जम्काभेट : 
दुवईमा दिनहरु कसरी बिताउँदै हुनुहुन्छ ?
रोजगारीका लागि आएको मान्छे काममै बढी समय बित्छ । पछिल्लो समय भने आफ्नो रहर पूरा गर्नलाई गायन र मोडलिङ पनि गर्दै आएकी छु । 
दुवईजस्तो ठाउँमा सम्भव छ ?
मनको इच्छा हो । इच्छा र चाहना भएपछि सम्भव हुँदोरहेछ । मलाईचाहिँ काठमाडौंमा भन्दा यहाँ आएपछि सम्भव भएको छ । दुवई आएपछि नेपालमा पूरा हुन नसकेका मेरा इच्छाहरु पूरा हुँदै गएका छन् ।
मोडलिङ र गायनप्रति इच्छा हुँदाहुँदै दुवई जानु भएको होइन त ?
हो, सुरुमा गायनप्रतिको इच्छा र सपना बोकेर काठमाडौं आएकी हुँ । तर, मेरो लागि काठमाडौं सहज भएन । देशको राजधानी मेरो लागि विरानो थियो । त्यसैले मनभरी गायन र मोडलिङका आकांक्षालाई तिलाञ्जली दिँदै दुवई आएँ । दुवई आउनु मेरो बाध्यता पनि हो ।
नेपालमा केही फिल्म र गीतहरु गर्दागर्दै बिचैमा छाडेर हिड्नु भयो नि त ?
घरायसी बाध्यता थियो । आर्थिक समस्या नै भनौ न । झापाबाट काठमाडौं आएपछि लिम्बू भाषाको फिल्म ‘हेल्लुक्कवा’ (बाडुली)मा अभिनय गरेँ । केही गीतहरु पनि गर्दैथिएँ । तर, त्यतिबेला मलाई उचित सल्लाह दिने कोही थिएन । त्यो बेला तयारी गरेका गीतहरु अहिले गर्दैछु ।
दुवई पुगेपछि इच्छा पूरा गरेँ भन्नुभयो । के–के गर्नुभयो नि ?
दुवई आएर मैले नसोचेको कुरा पुगेको छ । यहाँ आएपछि मैले नेपालका चर्चित कलाकारहरु राजेशपायल राई, दीपक लिम्बू, यसकुमार, तारा लक्सम र पछिल्लो समय ‘कन्दरा ब्याण्ड’जस्ता कलाकारसँग पर्फमेन्स गर्ने अवसर पाएकी छु । सायद नेपालमा भएको भए त्यो अवसर पाउने थिइनँ । यही साता ‘कन्दरा ब्याण्ड’सँग गरेको मेरो पर्फमेन्स सबैले रुचाए । यही आएर मैले गायिका सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’लागायतको कभर सङ गरेँ । जसबाट मैले एकदमै राम्रो रेश्पोन्स पाएँ । त्यो कभर सङ मेरो गायन करिअरको एउटा ‘टर्निङ प्वाइन्ट’ बनेको छ ।
आफ्नै गीतहरु पनि गर्नुभयो ?
केही गर्दैछु । एल्बमको गीतभन्दा यहाँ स्टेज कार्यक्रम बढी गर्दै आएकी छु । दुवईमा हरेक साताजस्तो नेपाली सांगीतिक कार्यक्रम तथा फेसन शोहरु हुन्छ । जहाँ म पार्टिसिपेन्ट गर्दै आएकी छु । दुवईमा हाम्रो सांगीतिक समूह ‘युथ ब्याण्ड’ छ । जसको म भोकलिस्ट हुँ ।
अभिनय र गायन दुवै विधामा हुनुहुन्छ । प्राथमिकता केलाई हो ?
मेरो प्राथमिकता गायनलाई हो । तैपनि अफर आएको खण्डका अभिनय र मोडलिङ पनि गर्छु । तर, नेपाल आएरचाहिँ मोडलिङ गर्दिनँ होला । गायनलाई नै अगाडि बढाउने सोच छ ।
दुवई बसेर कमाउने मात्र हो कि, घरजम पनि बसाल्ने सोच बनाउनु भएको छ ?
घरजम भन्ने कुरा सोचेर हुँदैन । भाग्यमा लेखेको हुनुपर्छ भन्छन् । त्यस्तै, मेरो भाग्यमा लेखेर आयो भने सोच्नुपर्ला ।
दुवईमा ६ वर्ष बस्दा आफ्नो लागि हेर्नु भएको होला नि ? 
अहिलेसम्म हेरेकी छैन । मलाई प्रेम भन्ने शब्दबाटै डर लाग्छ । साथीहरुको प्रेमजीवन देख्दा सोच्दै विरक्त लाग्छ । त्यसैले मलाई यो प्रेम भन्ने नहोस् भन्छु ।
यहाँसम्मको आफ्नो जीवनकालमा के ज्ञान लिनुभयो ?
मलाई जीवन भनेकै दुःख हो जस्तो लाग्छ । मैले अहिलेसम्म सुख भन्ने चिजको अनुभूति गर्नै पाएकी छैन । जन्मेदेखि मेरो जीवनमा दुःखैदुःख छ । अहिले पनि दुःखसँगै पैंठोजोडी खेल्दैछु । दुवई आउनुको कारण र बाध्यता पनि त्यही हो ।
आगामी दिनका के योजना बनाउनु भएको छ ?
जस्तोसुकै दुःख भएपनि रहर पूरा गर्ने इच्छा र उद्देश्य छ । त्यसैले नेपाल आएर गीतसंगीतमै लाग्छु । यहाँ आएपछि मैले धेरै कुरा सिक्ने अवसर पाएँ । त्यसैले अब काठमाडौं आउँदा पहिलेजस्तो विरानो बन्दिनँ होला किनकि, यही आएर मान्छे चिन्ने अवसर पाएकी छु । जीवनमा चर्चित गायिका त नभनौँ तर सम्झनाका लागि राम्रा गीतहरु पस्कने उद्देश्य लिएकी छु । 

Related News