मेरो भित्रि भावना र चाहना नै गीतसंगीतमा छ : अनिला राई, गायिका

दृष्टि न्यूज

दुई दशकअघि ‘यो मनको रहर’ बोलको गीत गाएर सांगीतिक यात्रा तय गरेकी गायिका तथा गीतकार अनिला राईको  रहर अझै अधुरै छ । त्यो बेला ‘यो मनको रहर’ श्रोताले अत्याधिक रुचाएको थियो । त्यही गीतले चिनिएकी अनिला भन्छिन्, ‘रहर अझै पुगेको छैन, संगीत भनेको नशा रहेछ ।’ उनी एक दशकयता बेलायत बस्दै आएकी छन् । तर, उनको लगाव गीतसंगीतमै छ । अनिलाका ‘जुनठूली’, ‘यो मनको रहर’, ‘कालीको लाली जोवन’जस्ता पुर्वेली तथा ‘द लाइफ’ र ‘स्वरांकन’ आधुनिक एल्बम बजारमा छन् । उनले ‘बिरविक्रम’लगायतका फिल्ममा समेत गाइसकेकी छन् । यिनै गीतसंगीतप्रति मोहित गायिका तथा गीतकार अनिलासँग एमपी सुब्बाले गरेको कुराकानी ।

***
नयाँ नौलो के हुँदैछ ?
– खाशै नयाँ छैन । समय भएको बेला गीतसंगीतलाई समय दिँदै आएकी छु । बेलायतमा हुने नेपाली सांगीतिक कार्यक्रमहरुमा पनि सहभागी जनाउँदै आएकी छु ।
सांगीतिक यात्रामै दौडिरहनु भएको छ है ?
– दौडिनुभन्दा पनि बामे सर्दैछु । अरुको देशमा बसेर काम नगरी हुन्न । कामबाट बचेको समयलाई नेपाली गीतसंगीतलाई दिएकी छु ।
बेलायतमा पनि गायनलाई निरन्तरता दिँदै आउनुभएको छ । यही ठूलो कुरा होइन र ?
– हो, गायन मेरो सानैदेखिको रुचि हो । रहर र इच्छालाई पूरा गर्नेक्रममा गीतसंगीतमा लागेँ । त्यसपछि छाड्नै नसक्ने गरी नशा लाग्यो । गीतसंगीत भनेको अनौठो नशा रहेछ । त्यही नशामा डुबेर संगीतलाई अँगाल्दै आएकी छु ।
नेपाली गीतसंगीत क्षेत्रका व्यक्तिहरु विदेसिएपछि हराएका छन् । तर, तपाइँको निरन्तरता कायमै छ है ?
– म हराउँदिनँ र हराउन पनि सक्दिनँ किनकि, मलाई संगीतको नशा लागेको छ । म बेलायतमा बस्छु । तर, फुर्सद हुनेवित्तिकै नेपाल आएर एल्बम गर्छु । पछिल्लो समय मैले ‘स्वरांकन’ ल्याएँ । मलाई हराउँछु भन्ने डर लागिरहन्छ । त्यसैले बेला-बेला दर्शक/श्रोतालाई गायिका अनिला राई पनि छिन् है भन्नका लागि गाइरहेकी छु ।
बेलायतजस्तो ठाउँमा गीतसंगीतको पछि लागिरहनु गाह्रो होला नि, कि कसो ?
– मन भएपछि गाह्रो हुँदैन । मेरो भित्रि भावना र चाहना नै गीतसंगीतमा छ । त्यसैले गाह्रो भएको छैन । अर्को कुरा बेलायतमा थुप्रै नेपाली छन् । जहाँ सातैपच्छिे नेपाली सांगीतिक कार्यक्रमहरु हुन्छ । त्यसैले आफ्नो कला प्रस्तुत गर्ने अवसर मिलिरहेको हुन्छ । 
गीतसंगीतमै समर्पित मान्छे । रियाजको पनि त आवश्यक होला नि ?
– रियाज गर्नुपर्छ नि । प्राय फुर्सद भएको बेला हरेक बिहान एक घण्टा रियाज गर्छु । अरुबेला पनि कार्यक्रमहरु गाइरहेकी हुन्छु । त्यो पनि रियाज नै हो ।
गीतसंगीतको दुई दशकको यात्रामा तपाइँले के पाउनुभयो र के गुमाउनु भयो ?
– पहिलो कुरा, रहर र इच्छा पूरा गरेकी छु । अर्को गायिका अनिला राई भनेर चिनिएकी छु । मैले गुमाएको भनेको समय हो । यहाँसम्म आईपुग्दा जति सफलता पाउनुपर्ने, त्यो पाएकी छैन ।
आधा दर्जनभन्दा बढी एल्बम ल्याउनुभएको छ, पैसा पनि गुमाउनु भएको होला ?
– अलि–अलि । रहर पूरा गर्नलाई सुरुमा पैसा खर्च गर्नैपर्छ । नेपाली गीतसंगीत क्षेत्रमा प्रतिभा भएरमात्र हुन्न । सुरुमा लगानी गर्नैपर्छ । मैले पनि लगानी गरेँ ।
फिल्म ‘बिरबिक्रम’को ‘टलटल टल्कियो’ गीत हिट भएपछि नेपालमा तपाइँको धेरै खोजी गरिएको थियो । विदेशमा बसेर ओझेलमा परेँजस्तो लाग्दैन ?
– लाग्छ नि । ‘बिरबिक्रम’ गीत चर्चामा आएपछि मलाई थुप्रै नेपाली फिल्ममा गाउनका लागि अफर आएको थियो । तर, बेलायत भएकै कारण भ्याइनँ । त्यो सम्झिँदा पछुतो पनि लाग्छ । 
नेपाली नारीहरुको पर्व तिज आउँदै छ । के छ कार्यक्रम ?
– म डिजे पनि गर्छु । ८ वर्षदेखि निरन्तर तिजमा डिजेइङ गरेर बेलायतमा रहेका नेपाली चेलीहरुलाई नचाउँदै आएकी छु । यसपटक पनि नचाउँदैछु । आफैँले तिज गीतचाहिँ गाएकी छैन ।
अब नयाँ गीत दर्शक/श्रोताले कहिले सुन्न पाउँछन् ?
– अहिले नै भन्ने निश्चित छैन । तर, चाँडै सुन्न पाउनुहुनेछ । समय मिल्नेवित्तिकै नेपाल आएर नयाँ एल्बम ल्याउँने छु । दर्शक तथा श्रोतालाई प्रतिक्षा गर्नुहोला भन्न चाहन्छु,, गायिका अनिला राई गीतसंगीतबाट हराउने छैनन् । चाँडै नयाँ गीत लिएर आउनेछिन् ।

Related News