​अब हराउँदिन- एञ्जिला, गायिका

दृष्टि न्यूज

‘अ स्टोरी’ एल्बम निकाल्दाताका गायिका एञ्जिला गौचनको वाहवाही थियो । यो २०६१ सालतिरको कुरा हो । ‘अ स्टोरी’को ‘थाहा पाएँ तिम्रो बानी’ गीत ‘हिट’ भएसँगै व्यस्त बनेकी एञ्जिला एक्कासी हराइन् । कहाँ छिन् एञ्जिला ? श्रोताले खोजिरहेकै बेला १३ वर्षपछि उनी झुल्किएकी छन्, ‘एञ्जिला’ लिएर । उनी थकाली समुदायको एकमात्र गायिका पनि हुन् । गायनलाई निरन्तरता दिने सोचले ‘कम्ब्याक’ भएकी तिनै गायिकासँगको कुराकानी :
सांगीतिक क्षेत्रमा फेरि देखिनुभयो नि ?
– हजुर, करिब १३ वर्षपछि म गायनमा कम्ब्याक भएकी हुँ । २०६१ सालमा ‘अ स्टोरी’ एल्बम ल्याएपछि ब्याक भएकी थिएँ । त्यतिखेर एल्बमको गीतहरु पनि हिट भएको थियो । तर, कारणवस निरन्तरता दिन सकिनँ । 
यतिको समय कहाँ के गर्दै हुनुहुन्थ्यो ?
– म यही थिएँ । तर, गायनमा चाहिँ थिइनँ । पारिवारिक तथा व्यवसायिक व्यस्तताका कारण गायनबाट हराएकी थिएँ ।
‘एञ्जिला’पछि फेरि हराउने पो होकि ?
– अब त हराउँदिन । मेरो सांगीतिक यात्रा ‘ग्याप’ भएकोमा अहिले पछुतो लागिरहेको छ । अबचाहिँ निरन्तर लागिरहनेछु ।
तपाइँको समकालीन  गायक÷गायिकाहरु को–को हुन् ?
– मेरो समकालीन भनेका प्राश्ना शाक्य, मौसमी गुरुङ, प्रिति कौर, कला राई, शिव परियार, उदेश श्रेष्ठ, बाबु बोगटी, निर्णय श्रेष्ठ, प्रमोद खरेल, रामचन्द्र काफ्लेहरु हुन् । 
एल्बमको चलन हराइसकेको अवस्थामा ‘एञ्जिला’ लिएर आउनु भयो नि ?
– एल्बम बिक्री हुन्छ भन्ने उद्देश्यले ‘एञ्जिला’ ल्याएको होइन । अहिले सिंगल ट्रयाकको जमाना छ । तर, एल्बम भनेको एउटा कलाकारका लागि प्रोफाइल हो । प्रोफाइलका लागि एल्बम ल्याएकी हुँ ।
यो क्षेत्रमा कसरी लाग्नु भयो त ?
– मेरो घर मुस्ताङको थासाङस्थित घासा हो । थकाली म समुदायकी हुँ । म सानैमा रेडियो सुन्थे । नारायण गोपाल, अरुणा लामा, अरुण थापाहरुको गीत सुन्थे । उनीहरुको प्रभावले गायनमा लागेकी हुँ । गायनमा लाग्नु मेरो प्रेरणाचाहिँ हजुरआमा नकुस्या हुन् ।
हजुरआमा गीत गाउनु हुन्थ्यो र ?
–  हो, एकदमै गाउनु हुन्थ्यो रे । मेरो हजुरआमाको समकालीन भनेको धर्मराज थापाहरु हुन् । तर, त्यतिखेर अहिलेको जस्तो मिडिया थिएन । त्यसैले चर्चामा आउनु भएन ।
तेह्र वर्षपछिको ‘कम्ब्याक’ कस्तो लागिरहेको छ ?
– एकदमै रमाइलो । अहिले मिडिया पनि प्रसस्त छन् । एल्बमको प्रमोशन पनि सोचेभन्दा राम्रो भइरहेको छ । त्यसमाथि आफै हिँडिरहेकी छु । ‘अ स्टोरी’ निकालेको समयमा त अनलाइनहरु थिएन । केही एफएम र केही टेलिभिजन मात्र थियो ।
त्यो समयमा एल्बम त बिक्री हुन्थ्यो होला नि ?
– हुन्थ्यो नि । त्यतिखेर सिडी पनि थिएन । रिल भएको अडियो क्यासेट मात्र थियो । मेरो ‘अ स्टोरी’ त्यो समयमा एक हजार प्रति बिक्री भएको थियो ।
तपाइँको प्रेम विवाह कि एरेञ्ज हो ?
– एरेञ्ज नै हो । थाकाली समुदायका मामा–चेला, फुपू–चेला विवाह चल्छ । मैले पनि फुपूको छोरासँग विवाह गरेकी हुँ ।
थकाली समुदायमा मामा–चेला फूपु–चेला अनिवार्य विवाह गर्नैपर्ने भन्ने हो ? 
– अनिवार्य भन्ने त छैन । तर, थकाली समुदायमा भरसक आफ्नो सन्तानलाई आफ्नै परिवारभित्रै दिनुपर्छ भन्ने मान्यता अझै कायम छ । 
यो चलन तपाइँलाई कस्तो लाग्छ ? 
– मलाई त राम्रो लाग्दैन । हुन त मैले आफैले पनि फूपुकै छोरासँग विवाह गरेकी छु । तर, मामा–चेला तथा फूपु चेला भनेको एउटै ब्लड हो । तर, पहिलेबाटै यस्तो चलन चल्दै आएको छ । चलन–चल्तीकै मान्दै आएको मात्र हो ।
प्रस्तुति : एमपी सुब्बा

Related News