​जागिर लम्ब्याउन एआईजीहरुको दौडधुप

काठमाडौं, ४ पुस । चुनाव सकिएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भावी आईजीपीका लागि दौडधुप सुरु भएको छ । चैतदेखि दुवै संगठनमा नेतृत्व फेरिने भएकाले भावी आईजीपीका दावेदारहरु एमाले र माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध विस्तारमा लागिसकेका छन् । 
अब एमाले र माओवादीको सरकार बन्ने लगभग पक्का भएकाले आईजीपीका भावी दाबेदारहरु एमाले र माओवादी नेताहरुसँग दोस्ती बढाउन लागेका हुन् । आईजीपीका भावी दाबेदारहरु बाम गठबन्धनका नेताहरुसँग सम्बन्ध विस्तारमा लागिरहेको बेला नेपाल प्रहरीका एआईजीहरु भने ३० वर्षे सेवाहद हटाएर जागिर लम्ब्याउन केन्द्रित छन् । 
कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै आर्थिक प्रभावमा पारी उनीहरु अध्यादेशमार्फत् संघीय प्रहरी ऐन ल्याएर जागिर लम्बाउने प्रयासमा लागेका हुन् । अझ केही एआईजीहरु तत्काल प्रदेशको आईजीपी हुने खेलमा समेत लागेका छन् । 
सातै वटा प्रदेशमा तत्काल प्रदेश प्रमुख पठाउनुपर्ने भएकाले त्यससँगै प्रहरीका एआईजीलाई पनि आईजीपी बनाउने खेल सुरु भएको हो । केही भ्रष्ट एआईजीहरुले त्यसका लागि व्यापारीहरुसँग पैसा समेत उठाइसकेको स्रोत बताउँछ । 
प्रधानमन्त्री देउवाले त्यसबारे तयारी गर्न निर्देशन दिएपछि गृहसचिव मोहनकृष्ण सापकोटाले गत बुधबार गृहका अधिकारीहरुसँग छलफल गरेका थिए । गृहका अधिकारीहरुले हतारको भरमा ल्याउन नहुने सुझाव दिएका थिए । त्यसपछि तत्कालका लागि संघीय प्रहरी ऐन रोकिए पनि एआईजीहरुले चलखेल जारी राखेका छन् । २ जना आवश्यक भएको संगठनमा अहिले १५ जना एआईजीहरु छन् । अवकाश हुने बेला उनीहरुलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । कानुनबिना नै उनीहरुले प्रदेश इन्चार्जका रुपमा काम गरिरहेका छन् । अवकाश हुने बेला भएकाले काममा भन्दा कमाउनमा उनीहरुको ध्यान छ । 
त्यस्तै सशस्त्र प्रहरीमा पनि भावी आईजीपीका लागि खेल सुरु भइसकेको छ । सिनियर एआईजीका रुपमा एआईजी शैलेन्द्र खनाल आईजीपी हुने पक्का छ । तर, पुष्पराम केसी लगायतले पनि चलखेल गरिरहेका छन् । 

Related News