​सशस्त्र प्रहरीको खरिदमा यसरी हुन्छ घोटाला

काठमाडौं, २५ साउन । सशस्त्र प्रहरी बलको खरिदमा अनियमितता गरेको आरोपमा त्यतिबेलाका बहालवाला संगठन प्रमुखसहित तीन जना भूतपूर्व आइजीपी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । खरिद प्रकरणमा भएको अनियमिततामा चार पूर्वआइजीपी मुद्दा खेपिरहेका छन् ।
चार पूर्वआइजीपीविरुद्ध मुद्दा परे पनि सशस्त्रमा खरिदमा अनियमितता रोकिन सकेको छैन । सशस्त्र प्रहरी बलमा गतबर्ष गुणस्तर फेल भएर फिर्ता लाने भनिएका दसौं करोड रुपैयाँ बराबरका सामान केही महिनाअघि खरिद गरी भुक्तानी दिइएको छ । गतबर्ष गुणस्तर फेल भएका सामान ठूलो रकम घुस दिएर यो बर्ष गुणस्तरीय बनाई भुक्तानी दिइएको छ । सशस्त्रमा पछिल्लो पटक निश्चित ठेकेदारलाई ठेक्का पार्नका लागि गुणस्तर परीक्षणमा तिनै ठेकेदारको कम्पनीका सामानको नमूना पठाइएको छ । प्रबन्ध शाखाका इन्स्पेक्टर प्रमोद थापाको सेटिङमा तीन वटा कम्पनीलाईमात्र ठेक्का दिनेगरी नमूना पठाएको खुलासा भएको छ । 
सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापाको आडमा प्रबन्ध शाखामा आएका इन्स्पेक्टर प्रमोद थापाले सामान खरिदमा अनियमितता गर्न स्पेसिफिकसन परिवर्तनमा निश्चित ठेकेदारको अनुकूल हुनेगरी गरेका छन् । सशस्त्रको महानगरीय प्रहरी प्रमुख रहेका एआइजी थापाको आडमा इन्स्पेक्टर थापाले प्रबन्धका डीएसपीलाई समेत माइनस गर्दै खरिदमा चलखेल गरेको आरोप छ । थापाले वेभ इक्युमेन्ट (तालिममा बालुवा बोक्ने) खरिदमा स्पेसिफिकेस नै परिवर्तन गरेका छन् । गुणस्तर विभागमा नै नपठाई वेभ इक्युपमेन्टको स्पेसिफिकेसन परिवर्तन गरेको सूचना बेबसाइटमा हालेका छन् । गुणस्तरमा पठाउने र गुणस्तरबाट चेक भएपछिमात्र बेबसाइटमा राख्नुपर्ने हुन्छ, सोमबारको साँघुमा समाचार छ । तर वेभ इक्युपमेन्ट गुणस्तरमै नपठाई निश्चित ठेकेदारको अनुकूल हुनेगरी स्पेसिफिकेसन परिवर्तन गरी बेबसाइटमा हालेको आरोप इन्स्पेक्टर प्रमोद थापामाथि लागेको छ ।
हिमाली ज्याकेट, हिमाली पन्जा, हिमाली जुत्ता र हिमाली स्लीपीङ ब्याग ठेकेदार श्रवण अग्रवालको नमूना हालेर गुणस्तर विभागमा परीक्षणका लागि पठाएका छन् । हिमाली अन्डरभेष्ट ट्राउजर रितेश अग्रवालको नमूना पठाएका छन् । रुकस्याक ब्याग राजु थापाको कम्पनीको नमूनासँग मिल्दोजुल्दो हुनेगरी पठाएका छन् । करिब ६ करोड ५० लाखको सामान यी तीन कम्पनीसँग खरिद गर्नेगरी गुणस्तरमा नमूना चेक गर्न पठाइएको छ । इन्स्पेक्टर थापाको विगतमा प्रबन्धमा हुँदा कनेक्सन भएका यी तीनै कम्पनीलाई मात्र टेण्डर पर्नेगरी क्वालिफिकेसन क्राइटेरिया बनाएर पठाएका छन् । सशस्त्रका एआइजी सिंहबहादुर श्रेष्ठका अति निकट एआइजी नारायणबाबुका भतिजा नाता पर्ने प्रमोद थापाले तीन वटा ठेकेदारलाई मात्र ठेक्का दिनेगरी नमूना पठाएको आरोप छ ।      
यसअघि प्रबन्धमा बस्दा राजु थापा, श्रवण अग्रवाल र रितेश अग्रवाललाई मात्र सामान खरिदको ठेक्का दिएपछि राजमान मिश्र र पिताम्बर मुन्का रुष्ट भएका थिए । मिश्र र मुन्काले तत्कालीन आइजीपी कोषराज वन्तसँग गुनासो गरेपछि उनलाई प्रबन्धबाट पश्चिमान्चल क्षेत्रीय कार्यालय पोखरामा सरुवा गरिएको थियो । दुर्जकुमार राई आइजीपी नारायणबहादुर थापाको जोडबलमा फेरि
प्रबन्धमा ल्याइएको थियो । 
विगतमा प्रशासन विभाग अन्तर्गत रहँदैआएको प्रबन्ध शाखालाई आइजीपी सिंहबहादुर श्रेष्ठले आफैं मातहत ल्याएका छन् । खरिदमा आउने कमिसन सोझै आफैंलाई प्राप्त हुनेगरी आइजीपी श्रेष्ठले प्रशासन विभाग मातहत रहेको प्रबन्धलाई आफूमातहत ल्याएको सशस्त्र स्रोतले बताएको छ ।

Related News