​आईसीसीले भन्यो– एपीएल अमान्य


काठमाडौं, ९ असार । वैधानिकताकालाई लिएर प्रतियोगिता सुरु हुनुअघि नै विवादमा तानिएर शंकास्पद रूपमा नेपाल भित्रिएको एसियन प्रिमियर लिग (एपीएल) ट्वान्टी–२० लाई विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) ले अमान्य घोषित गरेको छ । फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेको एपीएल सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भइरहेको छ । प्रतियोगितामा इन्डियन स्टार्स, नेपाल स्ट्रोम, बंगलादेश टाइगर्स, अफगानिस्तान बुल्स, श्रीलंकन लायन्स र दुबई वारियर्सले फ्रेन्चाइज टोलीका रूपमा प्रतिस्पर्धा गर्दै छन् । भारतको चन्डीगढस्थित अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताका सबै खेलको भारतीय टेलिभिजन च्यानल सोनी सिक्सले प्रत्यक्ष प्रसारण गरिरहेको छ । कान्तिपुरमा खबर  छ । 

जुलाई ११ मा नेपाली सञ्चार माध्यमलाई बोलाउँदै एकाएक एपीएलको लन्च गरिएको थियो । त्यसको भोलिपल्ट अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का सिनियर क्रिकेट अप्रेसन म्यानेजर क्लाइभ हिचककले आफ्ना सदस्य राष्ट्रलाई लेखेको (कान्तिपुरलाई समेत प्राप्त) पत्रमा भनिएको छ, ‘आईसीसी कार्यक्रम स्वीकृति नीतिअन्तर्गत यो एपीएल नपर्ने जानकारी गराउँछौं ।’ अप्रिल १० मा एसोसिएट सदस्य राष्ट्रहरूले आफ्ना खेलाडीलाई एपीएल आयोजकले खेल्न प्रस्ताव राखेपछि आईसीसीसँग यसबारे सोधखोज गरेका थिए । एपीएल लन्च भएको भोलिपल्टै जुन १२ मा आईसीसीले एपीएल अनधिकृत प्रतियोगिता भएको जनाएको हो । आईसीसीले आफ्ना सबै सदस्य राष्ट्रलाई खेलाडीलाई नो अब्जेक्सन सर्टि्फिकेट (एनओसी) नदिनु भनेको छ । त्यसको मतलब खेलाडीलाई आईसीसीको सदस्य राष्ट्रले स्वीकृति नदिनु हो । 

प्रतियोगिताको विजेताले ४० लाख नेपाली रुपैयाँ, उपविजेताले १६ लाख र तेस्रो हुनेले ८ लाख पाउने भनिएको छ । तर फ्रेन्चाइज टोलीका मालिकहरू को हुन् र कहाँका हुन् भनेर आयोजकले खुलाएको छैन । आयोजक प्रमुख आरएस डन्डीवालले नेपाल स्ट्रोमका मालिक न्युजिल्यान्डका म्याथ्यु लिम रहेको जनाएका थिए । लिमको इनकोर इन्फ्रास्टक्चर प्रालि कम्पनी छ । त्यसबाहेक उनी र अन्य मालिकबारे केही बताइएको छैन । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रतिस्पर्धा सुरु हुनुअगावै प्रतियोगिताको अस्तित्वबारे प्रश्न उठाएको थियो । नेपाली राष्ट्रिय टोलीका कप्तान एवं सिप्यानका महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘प्रतियोगिता हुनु राम्रो हो, तर हामीलाई यसबारे खासै जानकारी छैन ।’ ‘नेपाली खेलाडी र अफिसियल यसमा सहभागी हुनेछैनन् । यो प्रतियोगितालाई आईसीसी र एसियाली क्रिकेट परिषद्को स्वीकृति पनि छैन । प्रतियोगिता पारदर्शी रूपमा हुनुपर्छ तर हामीलाई फ्रेन्चाइज र अन्य आर्थिक पक्षबारे थाहा छैन,’ विज्ञप्तिमा भनिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एपीएल आफूले आफ्नो प्राविधिक टोलीसँग बुझेर आयोजना गर्न स्वीकृति दिएको बताएको थियो । त्यसबापत आयोजकले प्रतिदिन कीर्तिपुर मैदानको भाडा शुल्क २५ हजार रुपैयाँ बुझाउनुपर्ने राखेप सदस्यसचिव केशवकुमार विष्टले बताएका थिए । एपीएल नेपालमा आयोजना भएको बारे आईसीसीले पत्रमा भनेको छ, ‘आईसीसीले नेपालमा आफ्नो सम्पर्कमा रहेकासँग समन्वय गरिरहेको र यस विषयमा उनीहरूलाई पनि निकै कम जानकारी रहेको पाइएको छ । तर राष्ट्रिय खेलकुद परिषद् संलग्न रहेका कारण उसले नै एपीएल आयोजकलाई त्रिवि क्रिकेट मैदान प्रयोग गर्न अनुमति दिएको देखिन्छ ।’ एपीएल आयोजकले राखेपसँग सुरुमा स्वीकृति लिँदा एसियन क्रिकेट प्रिमियर लिग (एसीपीएल) का रूपमा लिए पनि नेपाल भित्रिँदा प्रतियोगिता एसियन प्रिमियर लिग बनेर आएको थियो । त्यसपछि राखेपले आयोजकलाई पुनस् एसीपीएल राख्न भने पनि अधिकांश स्थानको ब्रान्डिङमा एपीएल नै भनेर प्रतियोगिता सञ्चालन भइरहेको छ । 

Related News