कांग्रेसभित्र स्वेच्छाचारिताको आरोप लगाउनेले

विधान र चरित्रको पालन गर्नु पर्छ कि पर्दैन ?

​माथवरसिंह बस्नेत

माथवरसिंह बस्नेत ।
यो शीर्षकको प्रश्न नितान्त स्वभाविक किन हो भने कांग्रेसभित्र ठूलो झगडा छ भन्ने बाहिर जुन हो–हल्ला मच्चिएको छ, त्यसमा सत्यको सानो अंश पनि छैन । शेरबहादुर देउवा सभापति पदमा “शेर” बनेर बसेका छन्, बाख्राका पाठाहरु त्यो भिमकाय काया देखेर तर्सेर भागाभाग गर्दाको खलबलीलाई नै ठूलो झगडा मानेर तिलको पहाड बनाइरहेछन्, कुरा त्यत्ति हो । अर्को के पनि हो भने बाहिरको शत्रुसंग भिड्ने र लड्ने आँट विल्कुलै गुमाएका सत्तान्ध रोगी नेताहरु घरभित्रै कचिंगल खडा गरेर आपसमै झगडा गर्छन् र त्यसैमा बडो व्यस्त भएको भ्रम पाल्छन् । अरुलाई पनि त्यही भ्रम छर्छन् । त्यस्ता किलिङ इन्टिङ्ट नभएका सुविधाभोगीहरुबाट माखो मार्ने काम हुने होइन । तैपनि घुर्की, धम्की र चेतावनीका झुसिला डकार फालेर उनीहरु वातावरणलाई विषाक्त बनाउन छाड्दैनन् । 
अब माथिका भूमिकामा उल्लेखित विषयलाई विस्तृतीकरण गरेर त्यसको परीक्षण गरौं । कांग्रेस प्रजातान्त्रिक पार्टी हो भन्ने दोहो¥याउनै परेन । अनेक प्रकारका कमी–कमजोरीका बाबजूद उसले त्यो छवी र चरित्रलाई जोगाएको छ । त्यो पहिचान गुम्न दिएको छैन । त्यही पहिचानका कारण उसलाई प्रजातान्त्रिक विश्वले नेपालको एक मात्र प्रजातान्त्रिक शक्तिको मान्यता प्रदान गरेको छ । मध्ययुगीन सामन्ति राणा शासन हटाएर आधुनिक प्रजातान्त्रिक शासन व्यवस्था स्थापित गरेकाले उसलाई विश्वले त्यो सम्मान प्रदान गरेको हो । त्यसअघि नेपालको राजाकाजमा जनताको कुनै भूमिका थिएन, राणा प्रधानमन्त्रीको हुकुम नै कानून थियो । त्यसका विरुद्ध २००७ सालको क्रान्ति गरेकाले कांग्रेसलाई नेपाली जनता र विश्वका प्रजातन्त्रवादीहरुले परिवर्तनकारी शक्तिको मान्यता प्रदान गरेका हुन् । प्रजातन्त्रका सच्चा वारिस मानेका हुन् ।
कांग्रेसले आफ्नो जन्मकालमा उदार प्रजातन्त्र र जन–उत्तरदायी शासन पद्धतिलाई आफ्नो लक्ष तुल्याएको थियो । पार्टीका नेताहरुले भारतमा बसेर नेपालको क्रान्ति गर्नु परेकाले भारत सरकार, त्यहाँका पार्टी तथा जनताको नैतिक तथा भौतिक सहयोग लिनु परेको थियो । त्यही कारण क्रान्तिकालमा भारतको प्रभाव र दबाबलाई स्वीकार गर्न कांग्रेस वाध्य भएको थियो । स्वभाविक हो, त्यत्ति बेला राष्ट्रियताको पक्ष गौण बन्नपुगेको थियो । त्यही अप्रिय अनुभवबाट पाठ सिकेर राणा शासनको अन्त्यलगत्तै कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो आदर्श र लक्ष घोषित ग¥यो । त्यही मूलमन्त्र जपेर कांग्रेसले २०१५ सालको पहिलो निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेको थियो । त्यत्ति मात्र होइन, २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेर निर्दलीय पंचायतका नाममा स्वेच्छाचारी शासन लादेको विरोध र प्रजातन्त्र पुनस्र्थापनाको लामो र अथक संघर्षकालमा पनि उसलाई मार्गदर्शन गराउने सिद्धान्त त्यही थियो । 
त्यस्तो समृद्ध पृष्ठभूमि र उदात्त विचारका कारण कांग्रेसले सबैको समर्थन र सहयोग जुटाएर २००७ साल र २०४६ सालको परिवर्तनको नेतृत्व गर्न सफल भएको थियो । २०४७ को संविधानले त्यही भावना र मान्यतालाई संस्थागत गरेको थियो । तर भारतलाई त्यो संविधान स्वीकार्य भएन, किनभने त्यको निर्माणमा उसको कुनै भूमिका थिएन । माओवादीले २०५२ सालदेखि चलाएको कथित् जनयुद्ध, ऐतिहासिक आन्दोलनका उपलब्धी र त्यो संविधानका विरुद्ध थियो । भारतले उसलाई चक्रव्युहमा फँसाएर संविधानसभाको माग बोक्न लगाएको थियो,  जुन माओवादीको एजेण्डा कुनै हालतमा हुन सक्दैनथ्यो । भयो । त्यो वास्तवमा माओलाई माओवादीले दिएको धोका थियो । त्यसरी १२ बुँदे दिल्ली सम्झौताको पृष्ठभूमि तयार भएको थियो । त्यो कांग्रेस, प्रजातन्त्र र नेपालको सार्वभौमसत्तालाई संकुचित तुल्याउने कपट प्रयोग थियो । भनिरहन नपर्ला, ६२।६३ को आन्दोलन, त्यसैले कोरेको मार्गचित्र अनुसार भएकाले त्यो पनि  कांग्रेस तथा ०४६ को आन्दोलनको भावना र आधारभूत मान्यताविपरीत थियो । माओवादीको हत्या, हिंसा र आतंकबाट त्राण दिलाउन शान्तिका नाममा त्यो सम्झौता प्रक्षेपण गरिएको र त्यसका पक्षमा भारतले सबैलाई मिलाई दिएकाले त्यसको कतैबाट विरोध भएन । कांग्रेसका नेता र कार्यकर्ताले त्यसको सशक्त विरोध गर्नुपर्ने थियो, गरेनन् । त्यस बेला देउवा जेलमा थिए, कांग्रेसका अरु नेताहरु आफ्नै पार्टीका आदर्श र सिद्धान्तको मलामीमा सामेल हुन तँछाडमछाड गरिरहेका थिए । तिनै अहिले सभापति देउवाले कांग्रेसको प्रतिष्ठा गिराएको अत्तो थापेर आँसु वहाइरहेका छन् । कार्यकर्ताका नजरमा उनीहरु आफ्नो महत्वाकांक्षा र पदलोलुपतामाथि पर्दा डाल्न त्यसो गर्न उद्यत भएका हुन् । होइन भने मूर्दाको कात्रो समेत बेचेर खान पल्केका सत्ताका दलालहरुले अहिलेको अवस्थामा छाती पिट्नुपर्ने कुनै कारण देखिन्न । निर्वाचनमा भोग्नुपरेको पराजयको सम्पूर्ण दोष सभापतिमाथि खन्याएर आफूचाहिँ पानीमाथिको ओभानो बनेको कसले देखेको छैन ? त्यसका निम्ति उनीहरु पनि उत्तिकै जिम्मेदार छन् कि छैनन् ? उनीहरु सबै मिलेर त्यस बेला भागशान्ति जय नेपाल गरेका हुन् कि होइनन् ? नत्र जनता र कार्यकर्ताले उनीहरुमाथि आफ्नो लुटको स्वर्ग खोसिन पुगेको पीडाको छटपटीको अभिव्यक्तिको आरोप लगाएर किन खुच्चिङ बजाउँथे ?  
 यसमा कुनै शंका छैन, कांग्रेस, देशमा विधिको शासन स्थापना गर्न कटिवद्ध पार्टी हो । उसले सत्ता सम्हाल्ने मौका पाउँदा त्यसका निम्त चाहिने पूर्वाधार तयार पार्न कुनै कसर बाँकी राखेको पनि छैन । यथार्थमा त्यही जगमा वर्तमान राज्य प्रणाली चलिरहेको छ । तर राजनीतिक स्थिरताको अभावमा उसका त्यस्ता प्रयास संस्थागत भने हुन सकेका छैनन् । पार्टीको आन्तरिक जीवनमा पनि त्यसको छायाँ परेकै छ । त्यो अवस्था हिजो थियो, आज छ र भोलि पनि रहनेछ । राज्यव्यवस्थाका सबै अवयवमा प्रजातन्त्र संस्थागत हुन समय लाग्छ । बेलायत, फ्रान्स र अमेरिकामा पनि ती अभ्यास परिपक्व बन्न शताब्दीभन्दा बढी समय लागेको थियो । त्यसैले भन्न सकिन्छ, कांग्रेसभित्रको अहिलेको कचिंगल सिद्धान्त र चरित्रमा आधारित होइन, सत्ता गुमेको कुण्ठा मात्र हो ।
आफ्ना आदर्श, सिद्धान्त र राष्ट्रियताका सवालमा कांग्रेस किन चुक्यो ? त्यो विषयमा गम्भीर बहस र छलफल भएको छैन । १२ बुँदे दिल्ली सम्झौता गरेर लोकतन्त्र अपनाएपछि कांग्रेसको सान्दर्भिकता बहिष्करणमा पारिएको वा लोपोन्मुख हुन पुगेको हो । त्यस्तो स्थान र स्थिति उसले आफैं रोजेको हो । आफ्नो काबुभन्दा बाहिरको परिस्थितिको वाध्यताले कुनै समय त्यसलाई बोक्नु परे पनि अनुकूल अवस्था आउनेवित्तिकै त्यसलाई बलात् फालेर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पुरानै नीति र कार्यक्रम पुनस्र्थापित गर्ने दिशामा कांग्रेस यसअघि नै अग्रसर भइसक्नुपर्ने थियो । भएन । त्यसमा चुक किन भयो, कोही प्रश्न उठाउँदैनन् ! किनभने उनीहरुमा सिद्धान्त र चरित्रको भयानक अनिकाल छ । राष्ट्रियता र प्रजातान्त्रिक मूल्य र मान्यताप्रतिको आस्था र विश्वास फितलो छ । सत्ताको भोग मात्र प्रबल छ । त्यसैले विधान र प्रक्रियाको अनुसरण गर्ने प्रवृत्तिमा पनि स्खलन आएको छ । जुन दिन ती सबै पुनस्र्थापित हुनेछन्, त्यस दिन कांग्रेस फेरि आफ्नो गौरवमय विगतजस्तै आगतलाई पनि सुन्दर भविष्यको द्योतक तुल्याउन सफल हुनेछ भन्ने आशा गरौँ । 

Related News