​प्रकृति तथा वन्यजन्तु संरक्षणबारे जनचेतना जगाउन चित्रकला

दृष्टि न्यूज

काठमाडौं, ४ बैशाख ।
प्रकृति तथा वन्यजन्तु संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले चित्रकला प्रतियोगिता गरिएको छ । 
वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा माइतिघर मण्डलामा भएको प्रतियोगितामा १६ स्कुलका ४२ विद्यार्थी सहभागी थिए ।  
प्रतियोगितामा साउथ प्वाइन्ट बोर्डिङ स्कुल काठमाडौंका युरिका श्रेष्ठले पहिलो पुरस्कार प्राप्त गरेकी छन् भने ग्लोबल पाठशाला भक्तपुरका समृद्धि राई दोस्रो, त्रियोग स्कुल काठमाडौंका कञ्चन ढकाल तेस्रो तथा ज्ञानोदय बालबाटिका ललितपुर र एम्बिसन एकेडेमी काठमाडौंका सगुन सिंह ठकुरीले सान्त्वना पुरस्कार पाए ।  
‘समृद्धिका लागि वन्यजन्तु संरक्षण’ शीर्षकमा आयोजित प्रतियोगिताको उद्देश्य प्रकृति तथा वन्यजन्तु संरक्षण रहेको विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । उनले भने, ‘जनमानसमा प्रकृतिको महत्वलाई पु-याउनका लागि सप्ताहाव्यापी कार्यक्रमको आयोजना गरिएको हो ।’



२३औं वन्यजन्तु सप्ताहअन्तर्गत चित्रकला प्रतियोगिता गरिएको डब्लुडब्लुएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कपिल खनालले बताए । जनचेतामूलक कार्यक्रमको रुपमा कला, साहित्य, नाटक, गीत, वन्यजन्तुसम्बन्धी फोटोग्राफीलगायतका सिर्जनात्मक कार्यक्रम गरिरहेको खनालले बताए । 
संरक्षण अभियन्तातथा साहित्यकार देवी घिमिरेले जल, जमिन, जंगल, जनावर, जलाधार, जडिबुटी जोगाउने अभियान स्वरुप कार्यक्रम गरिएको बताए । २३ वर्षदेखि यस कार्यक्रमसँग जोडिएर काम गर्दै आएका घिमिरेले परिवर्तनका संवाहक बालबालिका रहेकाले उनीहरुलाई संरक्षण अभियानमा जोड्नका लागि सिर्जनात्मक कार्यक्रम फलदायी हुने धारणा राखे ।


Related News