​चित्रकलामा जरा कला

– प्रा.डा. सावित्री कक्षपती
नेपाली चित्रकलामा एउटा नौलो आयाम देखिएको छ । क्यानभासको सीमाभित्र रंग र रेखाको माध्यमबाट सिर्जना हुने कला, प्रस्तर वा ढुंगामा हथौडा र छिनोले कोरिएका सिर्जनाको आआफ्नै महत्व रहको देखिन्छ । काठको झ्यालढोका र फर्निचरमा कुँदिने कलाको स्थान पनि आफ्नै ठाउँमा रहेको छ । तर जरा कला अहिले नितान्त नयाँ प्रयोग भएर दर्शकका अगाडि उभिन आइपुगेको छ । 
एउटा व्यक्ति प्रायः रुखको जराको खोजीमा हुन्छ । उनी हुन् जरा कलाका सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, जसले रुखको जरालाई विभिन्न आकार दिएर अर्थपूर्ण बनाएका छन् । ४२ वर्षका अथक र निरन्तर साधनापछि आफ्नो घरको बन्द कोठामा बस्न बाध्य भएका ती ३५ वटा सिर्जना अब सबैका लागि सार्वजनिक भएको छ । काठमाडौँको बबरमहलस्थित आर्ट काउन्सिलमा असोज २ गतेदेखि ११ गतेसम्म दृष्टिकोण जरामा अर्थ खोज्दै भन्ने नाम दिएर जरा कलाको प्रदर्शन सुरु भइरहेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको विशेष आतिथ्यसहित उहाँहरूबाटै उद्घाटन भएको उक्त प्रदर्शनीमा वरिष्ट जेष्ठ कलाकार गोविन्दमान ज्यापुको सभापतित्व रहेको थियो । ९० वर्षका दशक पार गरेका यी जेष्ठ नागरिकहरूको सान्निद्य र साक्षीबाट यो जरा कलाको मौलिकताले   जराकला विधाको रुपमा स्थापित हुन पुगेको देखिन्छ । विश्व चित्रकलाकै इतिहासमा यसले नयाँ मानचित्र स्थापना गरेको हुनुपर्दछ । 
अहिले यो कुरा अतिशयोक्ति लाग्न सक्दछ, किनभने औपनिवेशिक प्रभावबाट थिल्थिलिएको हाम्रो सोचाइ र चिन्तनले अर्थ पाउनका लागि पश्चिमी वा गोरो छालाले सही छाप लगाउनै पर्दछ । यसैले चित्रकलाको क्षेत्रमा भएको यो पदचाप त्यत्तिकै हराएर जाने संभावना पनि छ । हाम्रो समाजमा हामी आफैले कोरिरहेका र जन्माइरहेको सिर्जनाले त्यत्ति व्यापकता पाउन सकेको देखिँदैन । विश्वको कुनै पनि भूभागबाट नयाँ चिन्तन किन जन्मन सक्दैन?बरु हामी किन फ्रान्स, जर्मनी वा अन्य कुनै युरोपका वा अमेरिकाको भूभागबाट मात्र जन्मेको चिन्तनलाई आकासपाताल गरेर व्याख्या र विवेचना गर्दछौँ? उनीहरूले यसो गर भनेको त पक्कै पनि होइन । हामी आफै हीनताबोधबाट ग्रस्त भएपछि यही परिणति भोग्नु पर्दछ । अब यसबाट हाम्रो चिन्तन उत्रिनु पर्दछ । सिर्जनाको क्षेत्रमा देखापरेका हाम्रा नवीन सोच र सिर्जनालाई विदेशीहरूले स्वागत गरेको धेरै उदाहरणहरू छन् । तर कुन्नी किन हो, समकालीन पीडा हो वा अरु केही कारण हामी बीचबाट नै यसको चर्चा परिचर्चा कमै हुने गरेको देखिन्छ, जो सबैका लागि घातक बन्न पुगेको छ ।
यो जरा कलाको अर्थ शब्दकोशमा भेटिएन अन्य कहीँ कतै यसका बारेमा चर्चा भएको पाइएन । कुराकानीको सन्दर्भमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ आफैले यसको बारेमा भन्दछन् 
यो मेरो निजी सामथ्र्यको उत्पादन होइन । यसमा मेरो र प्रकृतिको आधाआधा योगदान छ । त्यसैले मैले भन्ने गरेको छु, यो प्रकृतिसँगको सहकार्य हो । यसमा कुनै महंगो र अत्याधुनिक विदेशी प्रविधि र उपकरण प्रयोग गरेको छैन । आफ्नो घरेलु उपयोगका सामग्रीबाटै काम चलाउँछु । त्यसैले म भन्ने गर्छु, यो मौलिक काठे कला अर्थात जरा कला हो । झ्यालढोका र फर्निचरहरूमा प्रयोग गरिने काष्ठकला भन्दा यो जरा कला भिन्न छ । त्यस्तै यो कला बेत, बाँस र निगालाबाट बनाइने हस्तकालभन्दा पनि फरक छ । 
जरा कलामाथि भनिएको उनको यो विचार नै यसलाई चिनाउने परिभाषा हो । उनी आफ्नो सिर्जनाका लागि कस्ता काठको जरा छान्दछन्त त्यो पनि निकै रोमांचित हुने विषय बनेको छ । यसबारे उनी भन्दछन् ः 
हेपिएका, फ्याँकिएका, उपेक्षित भएका, वेवास्ता गरिएका, कुल्चिएका विषय र पात्रहरू उहिल्यै देखिएका मेरा रुचिका क्षेत्र हुन् । प्रकृतिसँग केवल भावनात्मक सम्बन्ध होइन, सार्थक नाता गाँस्न मन लाग्छ मलाई । यिनै मूल्य मान्यता मेरो जीवनका आदर्श हुन् । त्यसैले मैले मेरो कला र कलाकारको स्वार्थको मूल्यमा हरिया, जीउँदा रुखहरूमाथि हतियार चलाइन र चलाउँदिन पनि । बरु फ्याँकिएका, बगरका छेऊमा लम्पसार परेर बसेका काठका ठुटा, लेऊ लागेका काठहरू उठाएर तिनीहरूभित्र जीवन खोज्नु मेरो धर्म हो भन्ने म ठान्दछु । पर्यावरणीय चक्रभित्र रहेको हाम्रो मूलधारको जीवनपद्धतिमाआफ्नो अस्तित्व र हैसियत सहित रहन पाउनु तिनको अधिकार हो भन्ने लाग्दछ । 
नितान्त नयाँ प्रयोग भएर जन्मेको यो जरा कलालाई अब औपचारिक पाठनपाठनको पाठ्यक्रममा समावेश गरिनु पर्दछ । ललितकलाको स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई यसको बारेमा सोध्दा उनीहरू भन्दछन् ः खै यो त हाम्रो पाठ्यक्रममा नै छैन । यस्तो जवाफ आउँदा एउटा नागरिकलाई पीडा बोध हुने गर्दछ । कुनै विदेशीले न्वारान गरिदिएर मात्र यसको उपादेयता स्थापित गर्नतिर लाग्नुभन्दा यसलाई देशभित्रबाटै पूर्वाग्रह विना औपचारिकता दिलाएर सम्बन्धित निकायले स्थापित गरिनु पर्दछ । यस्ता कार्यले मात्र हाम्रो शीर ठाडो हने गर्दछ ।  

Related News