​आर्ट अफ लिभिङमा पूर्व प्रहरीको जमघट

शान्तिको खोजीमा मन

दृष्टि न्यूज

काठमाडौं । कर्मचारीहरु ‘रिटायर्ड’ भए पनि ‘टायर्ड’ हुँदैन भनिन्छ । त्यसैले प्रायः रिटायर्ड कर्मचारीहरु कुनै न कुनै काममा व्यस्त भएको भेटिन्छन् । लामो जागिरे जीवनबाट अवकाश पाएका कर्मचारीहरुमा विभिन्न कुराको अनुभव पनि हुन्छ । ती कर्मचारीहरु आफ्नो अनुभव बाँड्न र आफूलाई व्यस्त बनाउन विभिन्न ठाउँमा लागेका हुन्छन् ।
यस्तै रिटायर्ड कर्मचारीहरु गत शनिबार बिहान अम्रपाली बैंक्वेट भाटभटेनीमा भेटिए, रविशंकरद्वारा स्थापित आर्ट अफ लिभिङको कार्यक्रममा । तिनीहरु योग, ध्यान मुद्रामा थिए । बैंगलोरबाट आएका योगगुरु निरज कोहली मञ्चमा बसेर कहिले जीवन र जगतका बारेमा प्रवचन दिइरहेका हुन्थे त कहिले ध्यान, योगाभ्यास गराइरहेका हुन्थे । तिनै कोहलीको निर्देशनमा पूर्वसचिव शंकरप्रसाद पाण्डे, पूर्व सशस्त्र आईजी दुर्जकुमार राई, सिंहबहादुर श्रेष्ठ, पूर्व डिआईजी पंकज श्रेष्ठ, विजय कायस्थ, जयबहादुर चन्द, रमेशशेखर बज्राचार्य, अशोक श्रेष्ठलगायत २०÷२५ जना अन्य कर्मचारीहरु पनि थिए । उनीहरुले गुरु कोहलीले भनेका कुरा ध्यानपूर्वक सुन्थे र गुरुले सिकाएजस्तै ध्यानमुद्रामा योगाभ्यासमा रमाउँथे । योगका सहभागीहरुले आफ्नो जीवनमा भोगेका घटनाहरु पनि त्यहाँ खुला मनले सबैसामु बताउँथे । वास्तवमा प्रहरीको जागिर निकै तनावपूर्ण हुन्छ । देश र जनताको सेवामा ३०/३० वर्ष बिताउनु भनेको ख्यालठट्टाको कुरा होइन । त्यस्तो व्यस्त जीवनबाट ‘रिटायर्ड’ भइसकेपछि फुर्सदिला बनेका पूर्वप्रहरी हाकिमहरुलाई आर्ट अफ लिभिङमा ल्याउने काम रमेशशेखर बज्राचार्यले गरेका थिए । 



प्रायः सहभागीहरु परिवारसहित आएका थिए । सहभागीहरुलाई गुरु निरज कोहलीले मानिस भएर जन्मिएपछि खुशी हुनुपर्छ । खुशी हुन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित भएर चार दिने ‘आर्ट अफ  लिभिङ’ कार्यक्रम सञ्चालन गरेका थिए । कोहली आफैँ पनि आईटीका विज्ञ हुन् । विश्व प्रसिद्ध ब्राण्ड आईबिएम, भोडाफोन, टी मोबाइल, पानासोनिक कम्पनी, आइसर कम्पनी, साप,  सिंगापुर बैंकमा कहीँ आईटी सल्लाहकार, कहीँ प्रमुख सूचना अफिसर भएर दुई दशक बिताए । उनको जागिरे जीवनमा पैसाले मात्र सन्तोष दिएन । लाखौं डलरको आम्दानीले पनि सुख, शान्ति आएन । बिहानदेखि बेलुकीसम्म अत्यन्तै व्यस्त, थकित, तनावपूर्ण  जागिरे जीवन उनले बीस वर्ष बिताए । त्यसपछि उनी मनको शान्ति, जीवनको सुख र सधैँ खुशी हुने बाटोको खोजीमा लागे । एक श्रीमती, एक छोरीको ५२ वर्षीय पिता कोहली त्यसपछि रविशंकरको सम्पर्कमा पुगे । उनलाई स्वर्गीय आनन्दको अनुभूति भयो । सन् २००० देखि उनी कालोकोट, सुट, टाईको जागिर छाडेर सेतो बस्त्रधारी बने । उनीमात्र होइन, उनीले आफ्नो पत्नी प्रिया र ५ वर्षीया छोरी सोम्यालाई पनि आफ्नै बाटोमा डोहो¥याए । उनकी पत्नी प्रिया कर्पोरेट लयर हुन् भने छोरी स्कुल पढ्दैछिन् । केही वर्ष अगाडि जन्तर  मन्तरमा अन्ना हजारेको अनशनमा जुश पिलाउने सानी बालिका सोम्या कोहलीकी छोरी हुन् ।
सन् १९९४ मा कोहलीले ‘आर्ट अफ लिभिङ’का बारेमा सुनेका थिए । तर, कामको व्यस्तताले उनी सन् २००० मा मात्र रविशंकरको सम्पर्कमा पुगे । कोहली भन्छन्, ‘आँखा ‘दृष्टि’ दान गर्न सकिन्छ तर दृष्टिकोण दान गर्न सकिन्न ।’ हरेक मान्छेमा राम्रो गुण हुन्छ । तर त्यो राम्रो गुणलाई नराम्रो बनाउने दृष्टिकोण पनि मान्छेमै हुन्छ । त्यसैले हरेकले आफ्नो मनलाई सफा, शुद्ध राख्न सक्यो भने सकारात्मक सोच आउँछ, भनेको काम सजिलोसँग गर्न सकिन्छ । तर त्यही मनलाई ‘दुश्मन’ बनायौं भने त्यसले नकारात्मक कुरा सोच्छ र आफ्नो जीवन बर्बाद बनाउँछ । त्यसैले हरेक मानिसले आफूलाई सकारात्मक बनाउन सक्नुपर्छ । त्यसको लागि ध्यान, योग, आध्यात्मको महत्वपूर्ण भूमिका हुन्छ, कोहली भन्छन् ।
सेतो वस्त्रमा उभिदा उनी जोगीजस्तो देखिए पनि उनले प्रवाह गर्ने हरेक वाणीले मानिसलाई गहिरो छाप छाडेको हुन्छ । कहिले धार्मिक, कहिले सामाजिक, कहिले वैज्ञानिक कुराहरु समिश्रण गरेर  मानिसलाई आकर्षित गर्ने र मानिसको मन मस्तिष्कभित्र पस्न सक्ने उनको क्षमता अद्भूत छ । कहिलेकाहीँ लाग्छ कोहली एउटा आईटीविज्ञ मात्र नभएर राम्रा दार्शनिक पनि हुन् । सन् १९९४ तिरको कुरा हो । त्यतिबेला उनी आईएसओ ९०० गुणस्तरको टिममा काम गर्थे । त्यही टिममा सुनिल देव नन्दा थिए । हरेक बिहान उठेर नन्दाले ‘भास्त्रिका’ ‘अपडाउन’ हात मुठ्ठी पारेर लामो श्वास लिन्थे र जोडले माथि उठाउँथे । श्वास छाड्दै मुठ्ठी खोल्थे । त्यतिबेला कोहलीले यो के गरेको होला भनेर सोच्थे । एक दिन कोहलीले नन्दालाई यस विषयमा सोधे– नन्दाले आर्ट अफ लिभिङका विषयमा सविस्तार बताएपछि कोहलीको जीवन नै परिवर्तन भयो, विगत सम्झँदै कोहलीले दृष्टिलाई बताए ।
भूकम्पपीडितलाई सहयोग गर्न कोहली नेपाल आएका थिए । उनले भूकम्पपीडितलाई राहत सामग्री वितरण गर्नुका साथै घर गुमाएका, आफन्त गुमाएका र भूकम्पबाट पीडित बनेका परिवारलाई मानसिक शान्ति र आत्मबलको लागि योगा ट्रेनिङ दिएका थिए । त्यतिबेलाको अनुभव सुनाउँदै कोहली भन्छन्– हेर्दाहेर्दै घर ढल्यो, हेर्दाहेर्दै त्यो घरले पुरेर परिवारको मृत्यु भयो । त्यो कहालीलाग्दो घटनाले मानिसको मन मस्तिष्क कति छियाँछियाँ भयो होला ? कल्पना पनि गर्न सक्दैनौं । त्यस्तो विक्षिप्त अवस्थामा रहेका पीडित परिवारलाई हामीले ‘आर्ट अफ लिभिङ’ को माध्यमबाट पुनर्जन्म  दिन सफल भयौं । सुख, दुःख, मिलन, बिछोड जीवनचक्र हो । यो आउँछ, जान्छ, तर त्यसलाई सामना गर्न सक्ने शक्ति हामीलाई चाहिन्छ । त्यो शक्ति प्राप्ति नै ध्यान हो कोहली भन्छन् ।

Related News