​कलाकार ज्योतिप्रकाशको आमा थिमको चित्रकला प्रदर्शनी


काठमाडौं १९ भदौ । ज्योतिप्रकाश विश्वकर्मा पेशाले कलाकार हुन् । ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका ज्योतिप्रकाश यतिखेर कलाले भरिपूर्ण हुँदै अगाडि बढेका छन् । ७ औं चित्रकला प्रदर्शनीमार्फत ज्योति नेपाल आर्ट काउन्सिलमा ‘आमा’ शीर्षकमा देखिए । 
‘मेरो देश नै मेरी आमा हुन्’, ज्योति प्रकाश भन्छन्, ‘आमा आफँैमा एउटा फराकिलो शब्द हो । यो शब्दले देशको अवस्थालाई प्रतिनिधित्व गर्छ । देशमा भएका हजारौँ आमाका कथा, व्यथा र यथार्थलाई ‘पेन्टिङ’मा झल्काउन सकिन्छ भन्ने लाग्यो । त्यसो त मेरो देशका धेरै आमाहरूमाँझ मेरी आमा पनि छिन् । आमाहरूकै सम्मानखातिर मैले एकल प्रदर्शनीको शीर्षक नै ‘आमा’ राखेको हुँ ।’
आमा शीर्षकमा गरिएको एकल प्रदर्शनीमा उनले १५ वटा पेन्टिङ बर्नाका छन् । मातृभूमिको कथा ‘आमा’ नाम दिएर प्रदर्शनीमा राखिएका चित्रकला सबै चित्र सेतोमाथि सेतै रंगले पोतिएका छन् । सेतोबाहेक अन्य रंग प्रयोग नगरिएको अनौठो चित्र प्रदर्शनी हेर्न दर्शकको घुइँचो नै लागेको थियो । 
प्रदर्शनीमा परावर्तन, दुःखमा बुद्ध, मेरो राहदनी पत्र, ऐश्वर्या, अंकमा मोतिजस्ता चित्र राखिएका छन् । प्रदर्शनी शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले कलाले देश तथा समाजको पहिचान हुने भएकाले यसको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
मूर्तिकार सुदर्शन राणाले आधुनिक कलाकार ज्योतिले नयाँ सोच र नौलो प्रयोग गर्नुभएको बताउँदै सेतो रंगभित्र शान्तिको खोजी गर्न सकिने चर्चा गरे । कला समीक्षक मुकेश मल्लले यस चित्रकलामा सेतोभित्र गहिरिएर जाँदा बुद्ध उत्पत्ति भएको महशुस गराउने बताउँदै कलाकारले बुद्ध मेरो हो र यसभित्र शान्ति पाइन्छ भन्ने सन्देश दिन खोजेको बताए ।
कला समीक्षक रमेश खनालले कलाकारले समाज परिवर्तनको रुप देखाउन खोजेको भन्दै देशलाई सुन्दर र शान्त बनाउन प्रयत्न हुनुपर्छ भने । वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले कलाबाट नै मुलुक चिनिने भएकाले हाम्रो समाजमा कलाको ठूलो महत्व छ भने ।

Related News