​अरुणा लामाको गीत र ओली

शम्भु श्रेष्ठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने सपना देखेकै कारण ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अगाडि सारेका हुन् । विगत सत्तरी वर्ष नेपाली जनताले जुन दुःख कष्टका साथ जीवनयापन गरेर बिताए, अब भोलिका पुस्ताले त्यस्तो दुःख कष्ट भोग्न नपरोस् भन्ने उद्देश्यले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा तय गरिएको हो । यो नाराको गन्तव्यमा देशलाई पु¥याउन ओलीले माओवादीलाई पार्टी एकीकरणमा ल्याए  । मधेसी जनअधिकार फोरमलाई सरकारमा सहभागी गराए । हुन त नेपाली जनताले वाम गठबन्धनलाई बहुमत दिइसकेपछि फोरमलाई किन सरकारमा ल्याउनु प¥यो भन्ने प्रश्न पनि उठाएका छन् । तर, बहुमतले मात्रै शान्ति, स्थिरता र सुशासन प्रदान गर्दैन, सबैलाई मिलाएर लैजान सकियो भने मात्र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने ओलीको बुझाई हुनसक्छ । किनभने, दुई नम्बर प्रदेशमा राजपा र फोरमको सरकार छ । संविधान संशोधनको मुद्दा फोरम र राजपाले छाडेका छैनन् । ‘स्वतन्त्र मधेस स्वायत्त प्रदेश’ उनीहरुको माग हो । यस मागको पछाडि डरलाग्दो षड्यन्त्र छ । यो कुराको झल्को मोदीलाई स्वागत गर्दा त्यहाँका मुख्यमन्त्रीले सार्वजनिक पनि गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई नम्बर प्रदेशको भ्रमणले संविधान संशोधनको मुद्दा उठाउनेलाई प्रोत्साहित गरेको छ । यस्तो अवस्थामा मधेस केन्द्रित दललाई साथ लिएर जान सकिएन भने संविधान संशोधनकै बहानामा दुई नम्बर प्रदेश आन्दोलित हुनसक्छ । जसको असर फेरि सिंगो देशलाई पर्छ । त्यसमाथि मधेसी जनतालाई उचालेर नेपाललाई अस्थिरतातर्फ धकेल्ने विदेशी शक्तिहरु सल्बलाए भने त्यसले गृहयुद्धकै रुप लिन सक्छ । यही विश्लेषणकै आधारमा फोरमलाई सरकारमा सहभागी गराइएको हो भने, राजपालाई पनि सरकारमा ल्याउने वातावरण बन्दैछ ।
प्रधानमन्त्री ओलीले विराटनगरस्थित भारतीय क्याम्प हटाउने सहमति भारतीय समकक्षी मोदीसँग गरिसकेका छन् । २०६५ भदौ २ मा कोशीको बाढीले बाँधको केही ठाउँ भत्काएपछि त्यसको सुरक्षाको नाममा स्थापना गरिए पनि त्यस क्याम्पको काम दूतावासकै जस्तै थियो । त्यसैगरी ओली सरकारले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभाग पनि हटाउने निर्णय गरेको छ । अनमिन हटेपछि राजनीतिक मामिला विभागले ‘गोप्य’ रुपमा अनमिनकै काम गरिरहेको थियो । जानकारहरु भन्छन्– भारतीय दूतावासको वीरगन्जमा महावाणिज्य दूतावास स्थापना भएपछि त्यसकै आडमा मधेस आन्दोलन चर्काइयो । विगतमा नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै विदेशी नियोगहरुले नेपालको राजनीतिमा आफ्नो हस्तक्षेप बढाउँदै लगेका थिए । संघीयता त्यसैको फल हो । संघीयता अहिले नेपालमा परीक्षणकै रुपमा रहेको छ । नेकपाको बहुमतको सरकार यो परीक्षणबाट पास भयो भने मात्रै नेपालमा राजनीतिक स्थिरता, सुशासन र समृद्धि हासिल हुनेछ । यस मामिलामा सरकारले मधेसवादी दल मात्र होइन, प्रतिपक्षलाई पनि सँगै लैजान सक्नु पर्छ । किनभने संघीय, लोकतन्त्र, गणतन्त्र असफल हुनु भनेको सिंगो देश अस्थिरता र विखण्डनमा जानु हो । संघीयतामा गएका धेरै देशहरु संघीयताकै कारण विखन्डन भएका धेरै उदाहरण छन् । त्यसैले बहुमतको बलमा समृद्धिको सपना देख्नुभन्दा सहमतिको आधारमा समृद्धि खोज्नु बुद्धिमानी हुनेछ ।
नेपालको राजनीतिक स्थिरता, समृद्धिका लागि दुईवटा छिमेकी हाम्रा लागि अवसर हो । दुवै छिमेकीलाई विश्वासमा लिएर अगाडि बढ्न सक्यौं भने मात्र शान्ति, स्थिरता र समृद्धि हासिल गर्न सक्छौं । विगतमा पनि छिमेकी मुलुकलाई सन्तुलनमा राख्न नसक्दा राजतन्त्र समाप्त भयो । कार्यकारी प्रमुख  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन बाध्य हुनुप¥यो भने स्वयं ओलीले संसदमा अरुणा लामाको गीत गाएर राजीनामा दिनुप¥यो ।

Related News