​असफल हुँदै गृहमन्त्रीको छापामार शैली

दृष्टि न्यूज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गत बुधबार पत्रकार सम्मेलन गरेका थिए । आफ्नो सय दिने कामको विषयमा सार्वजनिक गर्न उनले पत्रकार सम्मेलन आयोजना गरेका थिए । 
तर, पत्रकार सम्मेलन सुन तस्करीको अनुसन्धान तथा ठेकदारहरुमाथि कारबाहीमा मात्र केन्द्रीत भयो ।  किनकि यो बाहेक उनीसँग सय दिनमा हात पारेका महत्वपूर्ण अरु उपलब्धिहरु थिएनन् । आफूले गरेका राम्रा काम र उपलब्धिबारे उनले सिन्डिकेटको अन्त्य लगायत १÷२ वटा बाहेक केही बताउन सकेनन् । 
अहिलेका सबैभन्दा धेरै चर्चामा रहेका मन्त्रीमध्ये हुन् गृहमन्त्री बादल । जसले हरेक दिन मिडियामा स्थान पाइरहेका छन् । सर्वसाधरणमा पनि उनको अरु मन्त्रीको भन्दा धेरै नै चर्चा हुने गरेको छ । तर, उनको मन्त्रालयमा उनी आएपछि गरेका महत्वपूर्ण उपलब्धि भने केही छैनन् । यस घटनाले मन्त्री बादल उपलब्धिको पछाडी होइन चर्चाको पछाडी दौडिरहेका छन् । जसकारण उनी पनि असफलताको बाटोतर्फ अघि बढेका छन् । ‘बादल’जस्ता वरिष्ठ र केही गर्छु भन्ने सोचका नेता भएकाले उनी अझ बढी सक्रिय हुन जरुरी छ ।
केही राम्रा काम 
गृहमन्त्री बादलले सुधारको प्रयास नगरेका होइनन् । सुन तस्करीको अनुसन्धानमा उनले लिएको अग्रसरताले एउटा परिणाम दियो। विमानस्थलबाट सेटिङमा हुँदै आएको सुन तस्करीको पर्दाफास उनकै कारणले भयो । प्रहरी अधिकारीहरुसँग करिब तीन दर्जन व्यक्तिहरु पक्राउ परे । जुन उनको सबैभन्दा ठूलो सफलता थियो । यद्यपि, छानबिन समितिको निष्पक्षतामाथि प्रश्न उठेको छ । यसले देशको सबैभन्दा ठूलो तस्करीको जालो तोडिएको भनिएको छ । गृहमन्त्रीको अडानबिना यो सम्भव थिएन र विगतमा गृहमन्त्रीहरुकै सेटिङमा सुन तस्करी भइरहेको रहस्य पनि यस घटनाले स्पष्ट पारेको छ । 
उनलाई लोकप्रिय बनाएको दोस्रो काम भनेको यातायात व्यवसायीविरुद्धको कडा कदम हो । प्रधानमन्त्री कार्यालय तथा यातायात मन्त्रालयले थालेको सिन्डिकेटविरुद्धको अभियानमा उनी कडा रुपमा प्रस्तुत भएर एक्सनमै उत्रिए । कसैको कुरा पनि उनले सुनेनन् । व्यवसायीहरुलाई पक्राउ गरे । आन्दोलन नगरे मुद्दा चलाउने भन्दै धम्काएर उनीहरुको आन्दोलन असफल बनाए । यो घटनाले राज्यलाई आफ्नो पकडमा राखेर एकलौटी रुपमा व्यवसाय गर्दै आएका यातायात व्यवसायीहरु त्रसित भएर सिन्डिकेट तोडियो । 
उनको अर्काे काम भनेको ठेकदारमाथिको कारबाही हो । समयमा काम नगर्ने ठेकदारहरुलाई उनले पक्राउ गरेर कारबाही गर्न थालेका छन् । यद्यपि, उनको यस कामको आलोचना पनि भइरहेको छ । किनकी गृहले ठूला ठेकदारहरुलाई पक्राउ गर्न सकेको छैन । साना ठेकदारहरुलाई पक्राउ गर्दै १÷२ दिन थुनेर छाड्ने गरिएको छ । उनको यस अभियानलाई सर्वसाधारणले रुचाए पनि यसको उपलब्धि हासिल भएको छैन । उनको यो कदमपछि समयमा निर्माण नभएका बाटो निर्माणमा ठेकेदारले सक्रिय देखाएको भए यो कामको जस पनि उनले पाउने थिए । त्यसो त यो कामको जिम्मेवारी भौतिक निर्माण तथा यातायात मन्त्रालयको हो । तर, भौतिक निर्माणकै सेटिङमा ठेकेदारले समयमा काम नगरेको हुँदा गृह मन्त्रालयले हात हाल्न बाध्य भएको हो ।
सरुवा बढुवामा बदनाम 
हरेक गृहमन्त्रीको वास्तविक परिक्षा सिडिओको तथा प्रहरीमा सरुवा÷बढुवामा हुने गर्दछ । सुरुमा आक्रामक सुरुवात गरेका थापाले सरुवा बढुवामा पनि पूर्ण रुपमा निष्पक्षता अपाउने आँकलन गरिएको थियो । 
तर, यही मामिलमा उनी चुके । सिडिओ सरुवामा यसपछि पनि विगतमा जस्तै गिरोह हावी भयो । जसले सबै जिल्लामा चलखेलका आधारमा सिडिओ सरुवाको सूची बनायो । राम्रा कर्मचारीहरुले महत्वपूर्ण जिम्मेवारी पाएनन् ।  सहसचिव सिडिओ हुने एक दर्जन जिल्लाहरुमा उपसचिवलाई कामु सिडिओको जिम्मेवारी दिएर पठाइएको छ । राम्रा व्यक्ति होइन हाम्रा व्यक्तिलाई सिडिओ बनाउन यस्तो निर्णय गरिएको गृह स्रोत बताउँछ । गृहमन्त्री बादललाई बद्नाम गराउने को–को हुन उनले चिन्न सके, पछिका लागि सजिलो हुने थियो ।
डिआईजीको सरुवा पूर्ण रुपमा चलखेलका आधारमा भयो । सोझा र इमान्दारहरुलाई थन्काउने र चलखेल गर्नेहरुलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको आरोप गृहमन्त्री बादलमाथि छ । 
एसपीको सरुवा पनि बादल चुके । कास्की, चितवन, नवलपरासी, मकवापनुर जस्ता संवेदनशील जिल्लाहरुमा बदनाम एसपीहरुलाई पठाए । विगतमा कारबाहीमा परेका ती एसपीहरु आर्थिक चलखेलका आधारमा त्यहाँ पुगेका थिए । जसले गर्दा संगठनका इमान्दार अधिकृतहरुलाई निराश बनायो । जो चलखेल गर्छ उनी मात्र सफल हुन्छ भन्ने सन्देश संगठनमा गयो । बदनामहरुलाई जिल्लामा पठाएर सुशासनको चर्का कुरा गर्न थालेपछि उनको लोकप्रियता खस्कदै गयो । 
एसपी र डिएसपीको बढुवामा पनि त्यस्तै भयो । नेताहरुको निकट प्रहरीलाई अगाडि राखेर बढुवा गरियो । एसपी बढुवामा त केही राम्रा अधिकृतहरु छुटेका छन् । सरुवा र बढुवाका कारण प्रहरीमा गृहमन्त्रीप्रतिको आशा समाप्त भइसकेको छ । यस कुरामा पनि उनले सजगता अपनाउन सके भने भविष्यमा यस्ता गल्ती दोहोरिने थिएन ।

माफियाबाट घेरिदै ? 
गृहमन्त्री भएपछिका हरेक जसो भाषणमा बादलले तस्कर र माफियाहरुले देश सिध्याएको बताउँदै आएका छन् । तर ती तस्कर तथा माफियाहरुले कसरी उनको सचिवालयमा कब्जा जमाइसके भन्ने कुरा उनले पत्ता लगाउन सकेका छैनन् । 
स्रोतका अनुसार उनका सचिवालयका सबै जसो व्यक्तिहरु पैसा उठाउन केन्द्रीत छन् । उनीहरुकै चलखेलका कारण प्रहरीको सरुवा बढुवामा मन्त्री थापा बदनाम भएका हुन् । सरकारमा जो आएपनि उनीहरुलाई हातमा लिएर आफ्नो स्वार्थ पुरा गर्ने एउटा समूह छ, जसले गृह मन्त्रालयमा पनि सेटिङअनुसार काम गराउन सफल भइरहेको छ । 
उनको काम भनेको सिष्टममा सुधार गर्ने हो । राम्रा कर्मचारीलाई प्रोत्साहित गर्ने हो, गलत कर्मचारीलाई कारबाही गर्ने हो । सिष्टमको सुधारमा बादलले चासो दिन सकेका छैनन् । उनी छापामार शैलीमा अर्थात् हुचवाका भरमा चलेका छन् । जसले गर्दा उनको छवी बिस्तारै खस्किदै गएको छ । 

आइजिपी खनाललाई इन्सपेक्टरले दिए चुनौती 
नेपाल प्रहरीको बढुवा थप विवादमा तानिएको छ । नायब उपरीक्षक(डिएसपी) पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी परेपछि बढुवा थप विवादमा परेको हो । सिनियर इन्सपेक्टर खड्ग नारायण साहले बढुवा सिफारिस उपर उजुरी दिएका हुन् । 
आफु सिनियर भएपनि बढुवामा छुटाइएर अन्याय गरेको भन्दै उनले उजुरी दिएका हुन् । साह २०६२ सालका इन्सपेक्टर हुन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको बढुवा समितिले ९ दिनअघि २०६३ सालमा भर्ना भएका ५५ जना इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको थियो। अघिल्लो ब्याचका केही सिनियर इन्सपेक्टरहरु बढुवामा छुटेका थिए । 
५५ जनामध्ये पनि सिनियरलाई पछि पारिएको र नेताहरु निकटलाई बढुवामा अघि राखिएको भन्दै सिफारिसमा विवाद भएको थियो । 
एसपी र डिएसपी बढुवामा राम्रा प्रहरी अधिकारीलाई पछि पारिएको तथा नेता निकटलाई पुरस्कृत गरिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आलोचना भइरहेको छ । जसले संगठनका राम्रा अधिकृतहरु निराश भएका छन् भने भ्रष्टहरु खुशी भएका छन् ।  उजुरी गरेपछि उजुरी सुन्ने समितिले सिफारिस उल्टाउन भने सक्दैन । तर, पनि बढुवा २ साता लम्बिएको छ भने प्रहरी नेतृत्व थप बदनाम भएको छ । 

Related News