​एसियन गेम्समा लूट, जकार्तामा मस्ती

दृष्टि न्यूज

काठमाडौं । १८ औँ एसियन गेम्समा नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गरिरहेका छन् । इन्डोनेसियामा जारी प्रतियोगितामा कुनै पनि नेपाली खेलाडीले पदक जित्ने सम्भावना देखिएको छैन । तर, नेपाली खेलकुद अधिकारीहरुलाई त्यसको कुनै चिन्ता छैन, उनीहरु इन्डोनेसियाका विभिन्न शहरहरुमा मस्त रमाइरहेका छन् । 
एकातर्फ एसियन गेम्स्मा नेपालको खेल त राम्रो हुन सकेको छैन नै साथै राज्यकोषको पनि व्यापक दुरुपयोग भइरहेको छ । ठूलो संख्यामा असम्बन्धित व्यक्तिहरु राज्यको खर्चमा इन्डोनेसिया गएका छन् । 
खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको नेतृत्वमा ३१ सदस्यीय टोली यतिबेला इन्डोनेसियामा छ । १ सय ८५ खेलाडी, ४८ जना कोच र २३ जना व्यवस्थापकबाहेक नै अन्य पदाधिकारीहरु घुम्नकै लागि इन्डोनेसिया गएका हुन् । 
सदस्य सचिव केशव बिष्ट, ओलम्पिक कमिटीका उपाध्यक्ष धिरेन्द्र प्रधान खेलकुद परिषद्का कर्मचारीहरु रिमबहादुर रानाभाट, विमल पोखरेल, नवीन उप्रेती, अर्जुनबहादुर विक, कपिलमणि पोखरेल, सनदबम मल्ल, तिलक नेपाली ज्योती राई, सुजनलाल श्रेष्ठ, लोकेन्द्र बस्नेतलगायत सरकारी खर्चमा इन्डोनेसिया गएका छन् । स्रोतका अनुसार उनीहरुलाई दैनिक करिब १० हजार रुपैयाँ भत्तासमेत पाउनेछन् । खेलाडीहरुको सुविधामा भने खासै चासो दिइएको छैन । 
एसियन गेम्स्का लागि सरकारले करिब ५ करोड रुपैयाँ बजेट दिएको थियो । जसमध्ये करिब ३० प्रतिशत बजेट दुरुपयोग भएको खेलकुद परिषद् स्रोत बताउँछ । गलत समाचार नआओस् भनेर सबै जसो सञ्चारमाध्यमबाट प्रतिनिधिहरुसमेत लगिएको छ ।
खेलकुदको क्षेत्रमा सरकारले ठूलो बजेट खर्च गर्दछ । तर, त्योमध्ये थोरै मात्र खेलाडीसम्म पुग्छ । धेरै पैसा भ्रष्टाचारमै सकिने गरेको छ । यसपटकको एसियन गेम्स्मा पनि त्यस्तै भएको छ ।  

Related News