​अष्ट्रेलियामा नेपाली युवाको शान

सेम्टेम्बर २ तारेख अर्थात् भदौ १७ गते शुक्रबार । अष्ट्रेलियाको सिड्नीस्थित टाउनहल होटल व्यवसायीहरुले खचाखच भरिएको थियो । उक्त दिन एचएम म्यागजिनले आयोजना गरेको उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गरिने कार्यक्रम थियो । 
अष्ट्रेलिया, न्यूजिलैन्ड र फिजीका करिब सात सय सहभागीभएको उक्त कार्यक्रममा होटल व्यवस्थापनमा उच्च अंक ल्याउने विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त समारोहमा प्रमुख आकर्षण वरिष्ठ अष्ट्रेलियन पत्रकार जेम्स विलउसन थिए । एचएम म्यागेजिनले १४ वर्षदेखि उत्कृष्ट व्यक्तित्वलाई हरेक वर्ष पुरस्कार वितरण गर्दै आएको छ । अष्ट्रेलियामा यो अवार्डलाई निकै सम्मानपूर्वक हेरिन्छ ।
जब निर्णायक मण्डलले विभिन्न विधामा उत्कृष्ट हुने व्यक्तिहरुको नाममा ‘राइजिङ स्टार’ उपाधि पाउने व्यक्तिमा पाल्पा तानसेन भगवतीटोल निवासी अमूल कसजुको नाम उच्चारण गर्‍यो, तब हल तालीले गुन्जियो । उक्त पुरस्कारका लागि १० हजारभन्दा बढी आवेदकलाई पछि पार्दै कसजुले उक्त पुरस्कार हात पार्नुका पछाडि उनको लगनशीलता र मेहेनत नै थियो । त्यसो त उनीभन्दा १०/१५ वर्ष पुराना अनुभवी व्यक्तिहरु पनि उक्त प्रतियोगितामा समावेश नभएका होइनन् । तर, निर्णायक मण्डलले २७ वर्षीया नेपाली ठिटोलाई ‘राइजिङ स्टार’को उपाधिले सम्मान गर्‍यो । यो सिंगो नेपाली युवाको सम्मान हो, कसजु भन्छन् ।
कसजु क्वेष्ट क्यारोलाइन स्प्रिङ अपार्टमेन्ट होटलमा प्रपर्टी मेनेजरका रुपमा काम गर्छन् । शुभतारा स्कुलबाट एसएलसी पास गरेर एसीयु युनिभर्सिटी सिड्नीमा उच्च शिक्षाका लागि गएका कसजुले अध्ययनकै क्रममा उक्त होटलसँग आवद्ध भएका थिए । कामको सिलसिलामा होटलमा काम गर्दा उनले क्लिनर, रिसेप्सनदेखि फ्रन्ट अफिसको समेत काम गरे । होटल व्यवसायको सफलता भनेको ग्राहकको सेवा र सन्तुष्टि नै हो । सफा, स्वास्थ्य वातावरण र ग्राहकहरुसँग घुलमिल गर्ने क्षमताकै कारण उक्त होटल मालिकको नजरमा कसजु उत्कृष्ट परिसकेका थिए । त्यसैले उनले सन् २०१५ मा वेष्ट हस्पालिटी अवार्ड पाएका थिए ।
क्वेष्टले अष्ट्रेलिया, न्यूजिलैन्ड र फिजीमा गरेर करिब १३० वटा अपार्टमेन्ट होटल सञ्चालन गर्दै आइरहेको छ । सुरुमा मेनेजमेन्ट विषय पढ्ने र नेपालमै आएर व्यवसाय गर्ने सोचमा रहेका कसजुको जीवनको लक्ष्य गाइज नाट्ली बुँइसँग भेट भएपछि फेरियो । होटल व्यवसायमा कुनै अनुभव नै नभएका कसजुले होटल व्यवसायमा एकपछि अर्को सफलता हासिल गरेपछि अब उनी यही पेशालाई अगाल्ने सोचमा छन् । त्यसो त काठमाडौं मलमा रहेको डिपार्टमेन्टल स्टोरमा उनका बुबा हिमाल कसजुले उनलाई आफ्नै व्यापारमा डोहोर्‍याउन खोजेका थिए । तर, पढाईलाई निरन्तरता दिने उद्देश्यले उनी अष्ट्रेलिया हान्निए ।
शुभतारा स्कुलका प्रिन्सिपल रानी गुरुङ कक्षपतिका अनुसार अमूल पढ्नमा तेज थिए । स्कुलका विभिन्न प्रतियोगितामा भाग लिने उत्कृष्ट हुने उनको सानैदेखिको चाहना हो । आज अमूल जुन स्थानमा पुगेको छ, त्यसको जग भनेको शुभतारा स्कुल हो । जहाँ उनले आफ्नो बाल्यकाल बिताए । अनुशासन, परिश्रम र मेहेनत गर्नुपर्छ भन्ने ज्ञान सिके ।
कसजु केही महिना अगाडि भितनामी नागरिक गाइज नेट्ली बुँइलाई घुमाउन नेपाल आएका थिए । पाल्पा, पोखरा, लुम्बिनी र चितवन केही दिन घुमेर उनी अष्ट्रेलिया फर्किए । प्रेरणाका स्रोत बुँइलाई नेपाल घुमाउनुको कारण अष्ट्रेलियाको पर्यटन क्षेत्रलाई नेपालसँग जोड्नु उनको प्रमुख उद्देश्य थियो । त्यसमा बुँइ सन्तुष्टि पनि छन् । नेपालको प्राकृतिक दृश्य र पुरातात्विक मठ मन्दिरले बुँइको मन छोएको छ । त्यसको लागि कसजुले निरन्तर बुँइलाई नेपालसँग जोड्ने प्रयास गरिरहेका छन् ।
कसजुको सम्पर्कमा रहेका अधिकांश अष्ट्रेलियनहरु नेपाली भन्नासाथ माया भाव दर्शाउने गर्छन् । नेपालीहरुको सबैभन्दा ठूलो पुँजी इमान्दारिता र मेहेनत भएकोले अष्ट्रेलियामा धेरै नेपालीले सम्मानित जीवन बिताएको कसजु बताउँछन् । उक्त प्रतियोगितामा क्वेष्ट अपार्टमेन्टबाट कर्पोरेट रिलेशन मेनेजर चारिस मेल पनि सेल्स मार्केटिङ अवार्डबाट विभूषित भएका छन् ।

Related News