​दृष्टिका अभिभावक

शम्भु श्रेष्ठ

साँचो अर्थमा भन्ने हो भने सादा जीवन उच्च विचारका नेता थिए– मदन भण्डारी । नक्सालमा शैलेन्द्रजंग  थापाको घरमा उनको साधारण डेरा थियो । नक्साल डेराबाट बिहान १०–११ बजे प्रायः उनी साइकल चढेर दैनिक बागबजारस्थित नेकपा मालेको कार्यालयमा आइपुग्थे । कहिलेकाहीँ मात्र उनी घरबेटी थापाको रातो कारमा देखिन्थे । जनताको नेता भएरै होला उनीलाई जिउज्यानको मतलब थिएन । उनी हिंड्ने बाटोको अगाडि पछाडि न त सुरक्षाकर्मीको ताँती लाग्थ्यो । न त साइरनवाला गाडी नै । राजालाई श्रीपेच फुकाएर चुनावी मैदानमा आउन चुनौती दिने, प्रधानसेनापतिलाई बढी चुरीफुरी नगर्न चेतावनी दिने तिनै मदन भण्डारी थिए । जे बोल्थे निर्भिकताका साथ बोल्थे, जे गर्थे जिम्मेवारीका साथ गर्थे । साइकल चढेर उनी पार्टी कार्यालयको प्राङ्गणमा पाइला टेक्दा माघको जाडोमा घाम तापेर बसेका कार्यकर्ता ज्याराक जुरुक उठ्थे र अभिवादन टक्र्याउँथे । जति पनि कार्यकर्ता पार्टी कार्यालयको प्राङ्गणमा उभिएका हुन्थे, तिनीहरु सबैसँग भलाकुसारी गरेर मात्रै उनी आफ्नो कार्यकक्ष प्रवेश गर्थे । उनको कार्यकक्ष पनि सामान्य नै थियो । एउटा टेबुल, ४÷५ वटा कुर्ची । अत्यन्त जरुरी बैठकहरुमा बाहेक हरेक कार्यकर्ताका लागि उनको कार्यकक्ष खुला थियो । जो पनि सजिलैसँग उनको कार्यकक्षमा पस्थे र आफ्ना दुःख सुख र पार्टीका गतिविधि रिर्पोर्टिङ गर्थे । उनले लगाउने पोशाक पनि साधारण नै हुन्थ्यो । जाडोमा प्रायः घरमै बुनेको स्वेटर लगाउँथे भने गर्मीमा सेतो सर्टमा प्रायः उनी देखिन्थे । तर, कालोटोपी उनले कहिले पनि फुकालेको देखिएन । बनारस बस्दादेखि नै आफू नेपाली हुँ भन्ने पहिचान दिन उनले कालोटोपी लगाउने गरेका थिए ।
दृष्टि साप्ताहिकको कार्यालय पनि पार्टी कार्यालयसँगै बागबजारमा थियो । दृष्टिको हालचाल बुझ्न उनी कहिलेकाहीँ अचानक दृष्टिको पहिलो तला उक्लन्थे । सोझै सम्पादकको कोठामा छिर्थे । एक गिलास पानी, केही टुक्रा कागज मगाउँथे र ढोका लगाएर लेख्न बस्थे । दिउँसो भोक लाग्यो भने एकप्लेट मःम मगाउँथे र मःमसँगै रमाउँदै फेरि लेखनमै व्यस्त हुन्थे । उता पार्टी कार्यालयमा एकक्षणपछि आउँछु भनेर निस्केका महासचिव एक, दुई घण्टा बित्दा पनि नआएपछि कार्यकर्तामा छटपटी हुन्थ्यो र कतिपय कार्यकर्ता मदन कमरेड यहाँ आउनु भएको छ कि, भनेर दृष्टिमा उक्लन्थे । पार्टी कार्यालय साँघुरो थियो । त्यहाँ आराम गर्ने, लेख्ने वातावरण थिएन । त्यसैले खुलामञ्चमा भाषण गर्न जानुअघि होस् वा भाषण गरेर फर्किसकेपछि आरामको लागि उनीले दृष्टि कार्यालय नै रोज्थे । उनको यस्तो बानी र व्यवहारले दृष्टिमा काम गर्ने सम्पादक, रिपोर्टर, कर्मचारीहरुको हौसला पनि बढ्थ्यो । कतिपय बेला आगामी अंकको तयारी कस्तो छ ? कसको अन्तर्वार्ता, लेख छापिँदैछ भन्ने जिज्ञासा पनि उनले राख्ने गर्थे । कतिपय बेला भने झोलाबाट निकालेर आगामी अंकमा मेरो यो लेख राख्नुस् भन्थे । यो उनको अभिभावकीय भूमिका थियो । 
भाषा, सम्पादनप्रति पूर्ण सचेत मदन भण्डारी दृष्टिका पाठक मात्र होइनन्, एक सक्षम पत्रकार पनि हुन् । हरेक बुधबार बिहान निस्कने दृष्टि साप्ताहिकमा के–के सामग्री छापिन्छन् भन्ने कुरा रिर्पोटिङ उनलाई पत्रिका प्रेसमा जानु अगाडि फोनमा पढेर सुनाउनु पथ्र्यो । खासगरी सम्पादकीय, लेख र अन्तर्वार्तामा कसले के लेखेका छन्, के भनेका छन् भन्ने कुरा दृष्टि छापिनु अगाडि उनले जानकारी राख्न चाहन्थे । कतिबेला सम्पादकीय, अन्तर्वार्तामा कुरा मिलेन भने आफैँले फोनबाट यसरी सम्पादन गर्नु भनेर सुझाव दिन्थे । पाँचौ महाधिवेशनताकाको कुरा हो, दृष्टिले मदन भण्डारीको अन्तर्वार्ता लियो । मंगलबार राति मदनको फोन आयो । पत्रिका पूरा तयार भयो ? मेरो अन्तर्वार्ताको शीर्षक के छ ? शीर्षक अर्कै के थियो । जुन शीर्षक मदनलाई मन परेन । त्यसपछि मदनले भने– त्यस्तो शीर्षक राखेर पत्रिका कसरी बिक्छ ? के शीर्षक राख्ने त कमरेड यताबाट सोधियो । मदनले भने–  ‘कालिदासको ‘क’ पढेर माक्र्सवाद बुझिँदैन ।’ भोलिको अंकमा यही शीर्षकमा उनको अन्तर्वार्ता छापियो । शीर्षककै कारण पत्रिका हंगामा भयो । यो उनको पत्रकारिताप्रतिको ‘सेन्स’ थियो । अहिलेका नेताहरु जस्तो पत्रिकाले जे लेख्छ, लेखोस् भन्ने सोच उनमा थिएन । उनका र पार्टीका बारेमा जुनसुकै पत्रिकाले जे जस्तो कुरा लेखेको भए पनि त्यसलाई उनले गम्भीरताका साथ लिन्थे । विभिन्न पत्रिकामा छापिएका समाचार गलत भए उनले आमसभाबाटै त्यसको खण्डन गर्थे । यो एक जिम्मेवार नेताको भूमिका थियो । जसका कारण उनी विरुद्ध लेख्ने पत्रकारले पनि लेख्नु अगाडि दश पटक सोच्नु पथ्र्यो । नभए खुलामञ्चमा लज्जित  हुनुपथ्र्यो । किनभने मदन भण्डारी पत्रिका बोकेरै खुलामञ्च पुग्थे र ती पत्रिकामा लेखिएका शीर्षकदेखि सामग्रीसम्म पढेर जनतालाई यो भ्रम हो भनेर ठाडो खण्डन गर्थे । यो पत्रकारिताप्रतिको जवाफदेहिता भन्दा पनि जनताप्रतिको उत्तरदायित्व थियो । सूचनाप्रति सचेत नेता सायदै आज भेटिएला । हिजोआज सञ्चार माध्यममा नेताहरुका बारेमा धेरै कुरा छापिन्छन् । त्यही कुरा जनताले पत्याउँछन् र त्यसैको माध्यमबाट जनताले नेताप्रतिको धारणा बनाउँछन् । तर, जनताले नेताप्रति कस्तो धारणा बनाएका छन् भन्ने कुरा  हाम्रा नेताले विचारै गर्न छाडेका छन् । बरु उल्टै सञ्चार माध्यमलाई गाली गरेर आफ्नो कमी कमजोरी ढाकछोप गर्छन् । यो राम्रो प्रवृत्ति र संस्कृति होइन । मदन त्यस्ता कुरामा सचेत भएकैले उनी महान् भएका हुन् ।
अन्त्यमा, जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनले देखाएको बाटोमा दृष्टि अनवरत हिंडिरहने प्रतिवद्धता व्यक्त गर्दछौं ।

Related News