आयाराम गयाराम बनेनन् कम्रेड ओली !

डा. प्रदीप भट्टराई । कम्रेड केपी शर्मा ओलीको २ सय ८८ दिनको प्रधानमन्त्रित्व मुलुकका लागि अब इतिहास भएको छ । २०७२ साल असोज २५ गतेदेखि २०७३ साल साउन ९ गतेसम्म मुलुकमा को प्रधानमन्त्री थिए ? भनेर सामान्य ज्ञानमा प्रश्न सोधियो भने त्यस प्रश्नको सही जवाफमा उनकै नाम हुनेछ । यसो मात्र भन्दा अलि बढी अन्याय पनि होला । तर, यथार्थमा उनी आयाराम गयाराम प्रधानमन्त्री मात्र भएनन्, यसमा भने दुईमत छैन । उनको प्रधानमन्त्रित्वकाल र क्रियाकलापलाई कसरी हेर्ने त्यसमा भने आआफ्नो पक्षधरता हुन्छ नै । उनी आफैं पनि एउटा चरम कित्तामा रहने चरित्रका भएकाले उनको पक्षमा धुँवाधार समर्थन मात्र हुँदैन, त्यत्तिकै विरोध पनि हुन्छ । गतिको तेस्रो नियमजस्तै, क्रिया र प्रतिक्रिया उत्तिकै तर विपरीत दिशामा भैरहेका हुन्छन् । कम्रेड, ओलीको चरित्रगत विशेषता नै हो यो ।
महान दार्शनिक अरिस्टोटलले भनेका छन्, सत्य छेउमा हुँदैन, बीचमा हुन्छ । तर, कम्रेड ओली यो सिद्धान्तमा विश्वास गर्दैनन् । उनको इतिहास हेर्‍यो भने उनी सधैं छेउमै रहँदै आएका छन् । यसोभन्दा कतिपय कम्रेड ओलीका अनुयायीहरूलाई बढी पनि लाग्ला तर सत्य हो नेकपा एमालेको विभाजनको बेला उनी जति भारतीय कित्तामा रहेर महाकाली सन्धीको पक्षमा थिए, आज त्यतिकै भारतविरोधी कित्तामा छन् । कुनै समय उनी जति राजतन्त्रविरोधी कोही थिएन तर २०६२/६३ को आन्दोलनताका उनी त्यत्तिकै गणतन्त्रविरोधी पनि भए । कुनै समय कम्रेड ओली संसदीय व्यवस्थाका अत्यन्त विरोधी थिए । तर, पछिल्लो समय उनले नै प्रत्यक्ष प्रधानमन्त्रीका लागि चुनावमा गएको एमालेलाई बीचैमा कांग्रेसको एजेण्डामा लगेर मुलुकलाई नै संसदीय व्यवस्थाको दलदलमा फसाइदिए ।
यति मात्र हैन, कुनै समय यस्तो पनि थियो, कम्रेड ओली र कम्रेड प्रचण्ड ठीक दुई ध्रुवमा थिए । उनीहरूबीच सहकार्यको त कल्पना पनि गर्न सकिँदैन थियो । फेरि कुनै समय यस्तो पनि आयो दुबै मिलेर सत्ता चलाए । फेरि अहिले परिस्थिति यस्तो छ, सबैका सामु जगजाहेर नै छ । कम्रेड ओलीले बञ्चरको बिँडको विम्वमा कम्रेड प्रचण्डलाई तुलना गरेका छन्, त्यसैले थाहा हुन्छ, यो कति तिक्ततापूर्ण छ ।
कम्रेड ओलीको बीचमा नबस्ने चरित्रका कारण पटक–पटक उनको पार्टी मात्र हैन,  मुलुक नै ठाडो ध्रुवीकरणमा परेको इतिहास छ । पछिल्लोपटक उनका कारण मुलुक फेरि एकपटक ठाडो कित्ताबन्दीमा परेको छ । उनी महेन्द्रीय राष्ट्रवादी कित्तामा पुगेका छन् । यो दर्शनमा उग्र भारतविरोधमा राष्ट्रवादको परिभाषा गरिन्छ । एउटै भेष, भाषा, जात, धर्म र संस्कृतिको कुरा हुन्छ । हुन त कम्रेड ओली यी सबैको खारेजी गरिदिन्छन् तर यथार्थमा उनको व्यवहार योभन्दा पृथक ढंगले निर्देशित छैन ।
यी सबैका बाबजुद पनि ओली समय र स्थानले बनाउने सन्दर्भ अध्ययन गर्न सक्ने नेता हुन् । बाहिरबाट हेर्दा उनी जति सिद्धान्तनिष्ठ देखिन्छन्, भित्रभित्रै आफ्नो लागि जस्तोसुकै सम्भौता गर्न पनि तयार हुन्छन् । मौका पर्दा उनी सिधै ढाँट्छन् पनि । यसका लागि धेरै टाढा जानै पर्दैन । भारत जानका लागि उनले अन्तिम अवस्थामा कमल थापालाई चारबुँदे दिएर भारत पठाए र मधेसी नेताहरूलाई सम्झाउन लगाए । यता, एक सदस्यीय वार्ता समिति बनाएपछि मात्र भारतले निम्ता दिने भनेपछि त्यो पनि गरे । ढाँट्ने कुरा त, प्रधानन्यायाधीशको सिफारिसमा सभामुखले सही गरेको भने र त्यसैको आधारमा निर्णय पनि गराए । तर, प्रकारान्तरमा सही नगरेको ठहर भएपछि दोस्रोपटक संवैधानिक समितिको बैठक बसाएर फेरि निर्णय गराए । यी ते केही उदाहरण मात्रै हुन्, यस्ता कयौ दृष्टान्त दिन सकिन्छ ।  
कम्रेड ओलीसँग सम्मोहन कला छ । यही कलाका कारण उनले लाखौ मानिसहरूलाइ आफ्नो पक्षधर बनाएका छन् । जो तथ्यसँग पौठेजोरी खेलेर तर्क गर्न पनि तयार हुन्छन् । यो स्तम्भकारले माथि राखेका तथ्यहरूसँग पनि कोही पौठेजोरी खेल्ने मुडमा हुन सक्लान् । तर, सत्य के हो भने हजार तर्कभन्दा एउटा तथ्य बलियो हुन्छ । सम्मोहित भएर जतिसुकै तर्क गरे पनि तथ्यमा आधारित यी सत्य तर्कले हार्न सक्दैनन् । तर, दुर्भाग्य नेपाली जनतामा नौ दिनमा नौलो र बीस दिनमा बिर्सियो हुन्छ । नेपालीको यही चरित्रका कारण कम्रेड ओलीजस्ता नेताहरूले बारम्बार छुट पाउँदै आएका छन् ।
कम्रेड ओलीका सन्दर्भमा वस्तुगत मूल्यांकन जरूरी छ । हो, उनले जुन परिस्थितिमा मुलुक थियो, त्यसलाई सहज बनाउन प्रयत्न गरेका हुन् । उनले तत्कालका लागि सहज बनाउन धेरै जोखिमहरू पनि उठाएकै हुन् । त्यही जोखिममा इमोसनल ब्ल्याकमेलिङ गरेर सारा नेपाली भारतविरोधी राष्ट्रवादमा सम्मोहित बनाइएकै हुन् । यसो गर्दा उनले न आफ्नै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न सके, न सत्ता गठबन्धनका सहयात्रीहरूलाई नै विश्वासमा लिन सके । पार्टी अध्यक्षमा उनीसँगै हाराहारीको प्रतिस्पर्धा गरेका उनकै दलका वरिष्ठ नेता माधव नेपालले संसदमै सरकार गुटले चलाएको बताए, यो आरोपका लागि आरोप देख्नेहरू पनि होलान् । तर, कम्रेड ओलीका नियुक्तिहरू अनि उनले निर्णय गर्दाका प्रक्रियाहरूलाइ वस्तुनिष्ठ भएर हेर्‍यो भने ती आरोप मात्र हुन् भन्न सकिँदैन ।
होला, प्रचण्ड स्वार्थी होलान् खराब होलान् । तर, ती सबै भएर पनि ओलीलाई प्रधानमन्त्री बनाउन काँध थाप्ने मान्छे त हुन् नि । यदि उनले काँध नथापेको भए ओली प्रधानमन्त्री हुने नै थिएनन् यो सत्य हो । यसको अर्थ ओलीलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले केही पाएनन् भन्ने पनि हैन । सौदाबाजीमा उनले पनि उपराष्ट्रपति पाए होलान्, सभामुख पाए होलान् । तर, यो सँगै एमालेले मुलुकको राष्ट्रपति र प्रधानमन्त्री पनि त पायो नि । यो सौदाबाजीको कुरा हो । मुलुकमा त्रिशंकू सरकार भएपछि हुने यस्तै सौदाबाजी हो । वर्तमान सरकारको नेता भएकाले त्रिशंकु सरकारमा प्रचण्डको के महत्व हुन्छ भन्ने कुरा बुझ्नुपर्ने त त्यसको नेता भएकाले कम्रेड ओलीको हो नि । आफू विश्वासमा लिन नसक्ने अनि अरूलाई मात्र दोष दिने परिपाटी राम्रो हैन ।
हाम्रो चलन नै के छ भने आफू सत्तामा पुग्दा आफ्नै बलबुताले पुग्यो भन्ने अनि सत्ता गुमाएपछि अरूलाई त्यसमा पनि भारतलाई दोष दिने चलन छ । यो नयाँ हैन, पुरानै चलन हो । कम्रेड ओलीले पनि यही चलनको निर्वाह गरे । यसो गर्दा उनले आफूलाई राष्ट्रवादी र अरू नेताहरूलाई भारतीय बुख्याँचा भन्न पनि पछि परेनन् । यथार्थमा भन्ने हो भने यो मुलुकमा हरेक राष्ट्रवादी छन् र मुलुकको भौगोलिक अवस्थितिका कारण सबैलाई भारतको फेबर चाहिएकै छ । कसैलाई देखाएर चाहिएको छ, कसैलाई नदेखाई । तर, फरक यति छ आफूले पाउँदा सद्भाव हुन्छ यहाँ, अरूले पाउँदा हस्तक्षेप । यो दोहोरो चरित्र र मानसिकता नै हाम्रो जडी समस्या हो ।
हो, प्रधानमन्त्रीका रूपमा ओलीले केही सपना देखाएकै हुन् । तर, ती सपना हिजो कति व्यवहारिक थिए भन्ने प्रश्न थियो ? अब ती सबै उधारा भएका छन् । र, नयाँ सरकारका लागि नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छो बाबुको अनुहार हुनेछन् ।
संसदीय व्यवस्था स्वीकार गरेपछि संसदको अंकगणित नै सबैभन्दा ठूलो कुरा हो । कम्रेड ओलीले सपना त देखाए  तर त्यसलाई व्यवस्थापन गर्ने मामलामा  अंकगणित मिलाउन असफल भए । यो असफलता उनको नेतृत्वको असफलता हो । कारण, तपसिलमा अरू पनि धेरै छन् । तर, ती सबै तपसिलका मात्र हुन् ।
कम्रेड ओली आयाराम गयारामा प्रधानमन्त्री हैनन्, यो सत्य हो । तर, जे जति विशेषण र पगरीको भारी बोकाइँदैछ, ती सबै पनि उनी हैनन् । एउटा भनाइ छ, मान्छे अति प्रशंसाले भगवान हँुदैन, न अति गालीले राक्षस । मान्छे जति गाली र प्रशंसा गरे पनि मान्छे मात्र हुने हो । कम्रेड ओली पनि त्यति मात्र हुने हुन् । हामी सबैले हेक्का राख्नुपर्छ । बाँकी त, समयको कुरा हो, बाँचे देखिन्छ, हेर्दै जाउँ ।

Related News