विद्युत चोरी रोक्न मन्त्रीद्वय बादल–अनन्तले संयुक्त अप्रेसशन चलाउने

दृष्टि न्यूज

काठमाडौं ।
लोडसेडिङ हटाउनको लागि महत्वपूर्ण भूमिका खेलेको सरकारले अब विद्युत चुहावट नियन्त्रण गर्न प्रभावकारी कार्य गर्ने भएका छन् । बुधवार गृहमन्त्री राम बहादुर थापा बादल र उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तबीच भएको छलफलमा दुवै मन्त्रालय मिलेर विद्युत चोरी गर्नेका विरुद्धमा अप्रेशन सञ्चालन गर्ने सहमति भएको छ । 
विद्युत चोरी नियन्त्रणका उपाय पहिल्याउने विषयमा बुधवार गृहमन्त्रालयमा दुई घण्टा लामो छलफल भएको थियो । प्रहरीका बरिष्ठ अधिकारी समेत सहभागी भएको बैठकमा विद्युत चोरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने उपायहरुको खोजी गरिएको उर्जा मन्त्रालयको सचिवालयले जनाएको छ ।
विद्युत चोरी नियन्त्रणका लागि प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ र जिल्लामा रहेको विद्युत् प्राधिकरण शाखा कार्यालय प्रमुखको संयुक्त कार्यदलले विद्युत चोरी नियन्त्रणको लागि समन्वय गरी संयुक्त कार्ययोजना तयार गरी अप्रेशन चलाउने निर्णय भएको बैठकपछि जारी बक्तव्यमा जनाइएको छ । साथै केही दिनदेखि विद्युत आयोजनाहरुमा भइरहेको अशान्त रोक्न पनि मिलेर काम गर्ने सहमति भएको छ ।

Related News