बाँदरमुढे घटनाको ११ वर्ष, पीडित भन्छन् : न्यायको आशा मर्दै गयो

दृष्टि न्यूज

शान्ता अधिकारी/ माडी, चितवन ।
४३ जना निर्दोष सर्वसाधारणको ज्यान लिने गरी भएको बाँदरमुढे घटनाको ११ वर्ष बितेको छ । चितवनको माडीस्थित बाँदरमुढे खोलामा ०६२ साल जेठ २३ गते ना. १ख ३२४५ नम्बरको सार्वजनिक बसमा माओवादीले बम बिस्फोट गराउँदा धेरै निहत्थाले ज्यान गुमाएका थिए । ७२ जना घाइते भए । यो घटनाका पीडित पछिल्लो ११ वर्षदेखि न्यायको प्रतीक्षामा छन् । तर, वर्षाैं कुर्दा पनि न्याय मिलेको छैन । माओवादी सशस्त्र द्वन्द्वकालमा सबैभन्दा बढी आलोचना भएको घटना थियो, बाँदरमुढे । त्यहि बाँदरमुढे घटना अझै आलो घाउ बनेको छ, पीडितहरूका लागि ।
यतिबेला सत्य निरुपण तथा मेलमिलाप आयोगले जिल्ला जिल्लामा द्वन्द्वकालीन घटनाका उजुरी लिइरहेको छ । माडी घटनाका पीडितले आफ्ना पीडा सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयमै सामूहिक रूपमा दर्ज गराएका छन् । जिल्लामा उजुरी दिँदा असुरक्षा हुने भन्दै ५७ जना पीडितले गएको ६ जेठमा आयोगको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।
गोविन्दबस्ती बगई (माडी) बाट भरतपुरका लागि छुटेको यात्रुबाहक बसमा माओवादीले बम विस्फोट गराउँदा ३९ जनाको घटनास्थलमै र पछि थप चारजनाको मृत्यु भयो । त्यसमा पनि दु:खलाग्दो कुरा घटनामा घाइते भएका एकजनाको उपचारको अभावमा मृत्यु भयो भने अर्का एकजनाले पीडा सहन नसकी नदीमा हाम फालेर आत्महत्या गरे ।
सामुहिक उजुरी दिएका उपाध्यक्ष अधिकारीले न्यायको झिनो आशाले मात्र उजुरी दिएको बताए । ‘उजुरी नदिए त्यही न्या पनि नपाइने हो कि भन्ने लाग्यो र हामीले सामूहिक उजुरी दियौँ,’ उनले भने । उजुरी दिए पनि न्याय पाउनेमा भने उनीहरूलाई अझै आशंका छ । किन पनि भने हिजोको द्वन्द्वरत पक्ष अहिले सरकारमा छ, महत्वपूर्ण हिस्साका साथ । त्यति मात्र होइन, हिजो बम विस्फोट गराउने कार्यमा संलग्नरहेकाहरू पनि कतिपय जिल्लाका स्थानीय शान्ति समितिमा छन् ।
चितवनमा त्यस्तै भएको छ । बाँदरमुढेमा संलग्न अनक मगर स्थानीय शान्ति समितिमा एमाओवादीको तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । त्यसैले बाँदरमुढेका पीडितलाई न्यायको आशा निकै न्युन छ । यही कारण उनीहरूले आफ्नो उजुरी चितवनमा दर्ता नगरेर केन्द्रमा दर्ता गराएका हुन् । अधिकारी भन्छन्, ‘घटनामा संलग्न रहेको मान्छे नै शान्ति समितिमा रहेकाले न्याय पाउनेमा शंका छ ।’
यसअघि शान्ति समितिमा रहेका घनश्याम दाहाल सो घटनाको समयमा जिल्ला इन्चार्ज रहेको भनेर आलोचना भएपछि उनले राजीनामा दिएर उनको ठाउँमा मगर आएका हुन् । आयोगले उजुरीका लागि ५ वैशाखदेखि २ असारसम्मको अवधि तोकेको छ । जसअनुसार अहिलेसम्म चितवनमा करिब चार सय आठ र केन्द्रमा ७ हजार ७९८ उजुरी परेका छन् ।
एघार वर्षे पीडादायी वर्षहरू चाहेर पनि बिर्सन सक्दिनन् सीता सुवेदी । घटनामा परेर छोरी अञ्जली र श्रीमान् आत्मराम सुवेदीको मृत्यु भयो ।सीता त्यो कालो दिन सम्झँदै भन्छिन्, ‘छोरी काखमा थिई । श्रीमान्सँगै छेउमा । गाडी रोकिँदै मान्छे थप्दै आइरहेको थियो । एक्कासी माथी उड्यो । केही सोच्नै भ्याइनँ ।’
करिब दुई महिनाको अस्पताल बसाईपछि घर गएकी सीता अहिले पनि वैशाखीको सहारामा हिड्डुल गर्ने गर्छिन् । सासु ससुराको सहारामा बाँचेकी उनी उपचार खर्चले नेटो काटिसकेको बताउँछिन् । एक छोरा साथमा भए पनि ती छोराले बाबुको अभावमा उचित शिक्षादीक्षा र लालनपोषण पाउन सकेका छैनन् । घटनाले दिएको पीडा सम्झेर माओवादीलाई सराप्नुबाहेक अहिले उनीसंग विकल्प पनि छैन् ।
साना बालबच्चाको मुखको दूध बेचेर घाइतेले उपचार गर्नुपर्ने बाध्यता अहिले बाँदरमुढे घटनामा घाइते भएकाहरूको छ । न्याय र राहतको पर्खाइमा बसेकालाई पीडामाथि पीडा थपिँदै गएको पीडित सुवेदी बताउँछिन् । पीडाको घाउ जति फाल्न खोजे पनि उप्किएन । यसको खाटा रही रह्यो । राम्रोसँग उपचार गर्न पाए पीडाको घाउ पक्कै सुक्थ्यो । आत्मरामको आत्माले पनि शान्ति पाउथ्यो होला र छोरी अञ्जलीलाई एक अञ्जुली पानी चढाउन सक्थे ।
‘घटना भएको वर्षौं भइसक्दा पनि घटनाको प्रकृति र पछिको परिवेशले सामान्य मान्छेको त अझै पनि आङ नै सिरिङ्ग हुन्छ । मरिसकेका लासहरू चिन्नै नसकिने थिए । लिंग हेरेपछि मात्रै पुरुष महिला छुट्याउन सकिन्थ्यो ।’ माडी घटना घटेको १० मिनेटमै घटनास्थल पुगेका श्रीप्रसाद दवाडी त्यो ‘कालो दिन’ लाई यसरी सम्झन्छन् ।
हुन पनि मान्छे मार्न माओवादीलाई उतिबेला केहि जस्तो लागेन । बाँदरमुढेमा यात्रुवाहक बसलाई धरापमा पारी मान्छे मार्दा प्रयोग गरिएको ‘विद्युतीय धराप’ अन्जान र अज्ञानतावश भएको थिएन । घटनास्थलबाट ३०० मिटर परसम्म तार लगी ‘स्वीच अन’ गरेर बस र बसभित्रका मान्छेलाई उनीहरूले छियाछिया पारेका थिए । भूलवश धराप बिछ्याए पनि ३०० मिटर परको रुखबाट ‘स्वीच अन’ नगरेको भए यो घटना घट्ने थिएन । किनभने उनीहरूले बसमाथि छतभरि आफ्नै छिमेकी र आम सर्वसाधारणलाई देखेका थिए ।
‘यस्तो जघन्य अपराधको जति नै निन्दा गरे पनि कम हुन्छ । तर, घटनाका दोषीलाई सार्वजनिक गर्ने र उनीहरूलाई कानूनी कठघरामा उभ्याइ पीडितलाई ‘न्याय’ दिन अहिलेको उजुरीले सक्ला त ? बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्तिनाथ न्यौपाने घटनामा संलग्न भएकाहरू माडी क्षेत्रमै छाती फुलाएर हिँडेको र माओवादीकै बल र सिफारिसमा जिल्लाकै सार्वजनिक चासो र सरोकार राख्ने ठाउँको ‘उच्च ओहदा’मा कुर्सी जमाएर बसेको देख्दा मुटु पोल्ने बताउँछन् ।
माडी घटनाको १७ महिनापछि पहिलोपटक ०६३ कात्तिक ३ गते चितवनको फूलवारीमा प्रचण्ड, बाबुराम भट्टराई र रामबहादुर थापा बादलले पीडितसँग प्रत्यक्ष कुराकानी गरेका थिए । प्रचण्डले घटनाका पीडितलाई मात्र नभई, सिंगो माडीलाई लाभ हुने गरी ‘राहत प्याकेज’ दिने प्रतिबद्धता जनाएको पीडित समितिका उपाध्यक्ष कृष्ण अधिकारी अझै सम्झन्छन् । माडीमा जान असुरक्षाको कारण देखाउँदै प्रचण्डले उतिबेला माडी जाने कष्ट उठाएनन्, बरु पचास किलोमिटर टाढा माडीवासीहरूलाई बोलाएका थिए । भेटमा चमत्कारी राहतको प्याकेज ल्याउने उनीहरूले बताए ११ वर्षसम्म उनीहरूले त्यो राहतको पोको देख्न पाएका छैनन् ।
फूलवारीको ‘राहत प्याकेज’ घोषणापछि प्रचण्ड एकैपटक माडी महोत्सव उद्घाटन गर्न झुल्किए । माडी महोत्सवमा आएका बेला प्रचण्डले सरकारलाई भनेर पीडितका नाममा ६० लाख रुपैयाँ विनियोजन गर्न लगाएको बताए । त्यो रकम पीडितले आफूखुसी खर्च गर्न पाउने भनिएको थियो । प्रचण्डको यो कुरा हावादारी रहेको पीडितहरूले तब थाहा पाए, जतिबेला ‘द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रम’का नाममा शान्ति मन्त्रालयले आफू मातहत रहने गरी ‘वरीपरी तारबार लगाएर पैसा लिन बोलायो ।
माडीमा माओवादीले तेत्रो नृशंशता देखाउँदा पनि माडीवासीले पहिलो संविधानसभामा माओवादीलाई नै रोजे । माओवादीले समर्थन गरेका जनमोर्चाका उम्मेदवार अमिक शेरचन निर्वाचित भए । घटना हुँदा माओवादीको चर्को विरोध गरेका शेरचन उसैको पार्टीमा पुगेपछि पीडितका पक्षमा कतै बोलेनन् । उतिबेला माडी घटनाको चर्को विरोध गरेको जनमोर्चाले पनि एमाओवादीमा विलय भएपछि पीडितका पक्षका बोल्न चाहेन । पीडितका कुरा भन्दा पार्टीकै कुरा ठीक लाग्यो । पार्टीकेन्द्रको ह्वीपमा कार्यकर्ता लागे । घटना घट्दा अधिकांश जनमोर्चाका कार्यकर्ता पनि थिए । पार्टी एकिकरण भएपछि पीडितहरू पनि एमाओवादीमै लागे ।
कतै राजनीतिक आस्था नभएकाहरू पनि ‘कुनैबेला पोलेको आगोले भविष्यमा सेक्छ’ भन्दै माओवादी बने । तर पोलेको मात्रै भए त माओवादीको आगोले सेक्थ्यो होला । ढडाइसकेको आगोले सेक्न सकेन । आगो होइन, उनीहरूलाई मलम चाहियो । यद्दपि त्यो मलम अहिलेसम्म माओवादीले पीडितलाई चित्त बुझ्ने गरी लगाइदिन सकेको छैन । जसका कारण बाँदरमुढे घटनाका पीडितहरूले न्याय पाउनेमा अझै शंका नै छ ।

Related News